दुम्कीबास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री पोखरेल

नेपालभ्युज

दुम्कीबास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको अवरोध चिर्दै दुम्कीवास त्रिवेणी सडक खण्ड खुल्न लागेको भन्दै यसले नवलपुर मात्र होइन समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताएका छन्।

शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार स्थापनादेखि नै उक्त मार्ग खोल्न प्रयास भए पनि अहिले आएर प्रक्रिया अगाडि बढेको सुनाए। संघको वन तथा वातावरण मन्त्रालयमा माघ १७ गते मुख्यमन्त्री आफै पुगेर पहल गरेपछि फाइल अगाडि बढेको थियो।

डिपिआरको काम अब सुरु भइहाल्ने भन्दै निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले युनेस्कोले पनि छिटै यसको निकास दिने विश्वास व्यक्त गरे। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन। चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ।

मुख्यमन्त्री पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको लागि रकमका लागि कुनै अभाव नहुने पनि बताए। उनले भने, “प्रदेशले पनि यसका लागि बजेटको प्रबन्ध गर्छ, संघ सरकारले पनि यसका लागि पर्याप्त बजेट छ भनेको छ, तपाईंहरू अब ढुक्क हुनुहोस,’ उनले भने, “सुरुङ मार्ग वा फ्लाइ ओभर के बनाउने अध्ययनपछि टुंगो लाग्ने छ। यो खर्चिलो भए पनि बहुवर्षेमा लगेर काम हुन्छ।”

मुख्यमन्त्रीसहित अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, प्रमुख सचिव रवीलाल पन्थ, अर्थ सचिव वैकुण्ठ अर्यालसहितको टोलीले दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गरेका छन्। टोलीमा प्रदेश सभा सदस्य विष्णु लामिछाने, ओमकला गौतम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला सहभागी थिए।

अवलोकनपछि गाउँपालिकाका कार्यालयमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष डम्बरबहादुर जिसीले उत्तरमा पाल्पादेखि दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिका विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे।

सबैभन्दा ठूलो समस्या निकुन्ज क्षेत्रको बाटो नखुल्नु रहेकोमा अब त्यसको निकास निस्केकोमा उनले खुशी व्यक्त गरे। बाटो नखुल्दा त्रिवेणी क्षेत्रका पालिकाका २ वडाका बासिन्दा प्रदेश नम्बर ५ हुँदै पालिका केन्द्रमा आउनुपर्ने वाध्यता अब छिटै अन्त्य हुने विश्वास उनले व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved