एमसीसी छल्नकै लागि जसपा अध्यक्ष यादव र मुख्य सचेतक साह काठमाडौंबाहिर

नेपालभ्युज

एमसीसी छल्नकै लागि जसपा अध्यक्ष यादव र मुख्य सचेतक साह काठमाडौंबाहिर

काठमाडौं । एमसीसीलाई लिएर सत्ता गठबन्धनभित्रकै दल जनता समाजवादी पार्टीमा पनि गम्भीर विवाद देखिन थालेको छ। जसको असरस्वरूप आज सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा जसपा अनुपस्थित भयो।

यो बैठकमा प्रमुख दलहरूका प्रमुख सचेतक सहभागी हुने भए पनि सत्ता साझेदार नै सहभागी नहुनु पार्टीभित्रको असन्तुष्टिका रूपमा बुझ्न सकिन्छ।

जसपाका मुख्य सचेतक प्रमोद साह अध्यक्ष उपेन्द्र यादवनिकट हुन्। अध्यक्ष यादव पनि हिजै (मंगलबार) जनकपुर पुगेका छन्। यादव र प्रमुख सचेतक साह दुवै जनकपुर रहेका जसपा स्रोतले जानकारी दिएको छ।

सभामुख अग्नि सापकोटाले गत सोमबार बोलाएको सर्वदलीय बैठकमा जसपाको तर्फबाट अध्यक्ष यादव सहभागी भएका थिए। तर उनी बैठक अवधिभर बसेनन्। सहभागी भएर एकैछिनमै बाहिरिएका यादवले एमसीसीको सन्दर्भमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका थिए। जबकि जसपाकै संघीय अध्यक्ष बाबुराम भटराई भने एमसीसी निःशर्त र सक्दो चाँडो पारित गर्नुपर्ने अडानमा छन्।

भटराईले एमसीसीमा खुलेर समर्थन गरिरहेका छन्। भटराई र यादवबीच पछिल्लो समय यसै एमसीसीलाई लिएर मतभेद देखिन थालेको छ।

अध्यक्ष यादव एमसीसीमा औपचारिक रूपमा भने खुलेका छैनन्। प्रमुख सचेतक साहले भने आफू पार्टीको कामले काठमाडौंबाहिर रहेको जानकारी गराए। एमसीसी छल्नकै लागि यादव र साह  काठमाडौंबाहिर गएका जसपा स्रोत बताउँछ।

आइतबार यादव, भटराईसहित वरिष्ठ नेता अशोक राई, सरकारमा सहभागी पार्टीका दुई मन्त्री राजेन्द्र श्रेष्ठ र महेन्द्र यादवसहित पाँच नेताको बैठक बसेको थियो। तर पार्टीभित्रको विवाद सल्टिन सकेको छैन।

बैठकमा भटराईले वरिष्ठ नेता राईलाई कार्यकारी अधिकारसहित दोस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए। जसप्रति यादवले असहमति जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved