यहीँबाट शस्त्रअस्त्र सिकें, अफ्ठेरो परे शक्ति आर्जन गर्न मधेश झर्छु : प्रचण्ड
नेपालभ्युज
जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा आउन शस्त्रअस्त्र सबै विद्या मधेशबाटै सिकेको र अप्ठ्यारो परे पुनः शक्ति आर्जन गर्न मधेश झर्ने बताएका छन्।
आज (आइतबार) मधेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आयोजना गरेको ‘२७औँ जनयुद्ध दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू मधेशप्रति विश्वस्त रहेको बताउँदै परिवर्तनको रक्षामा मधेशमा तलमाथि नुहुने विश्वास व्यक्त गरे।
मधेश प्रदेशमा विभिन्न रेकर्डमुखी कामहरू भइरहेका पनि उनले बताए। प्रदेशसभाबाट प्रदेशको नामकरण ‘मधेश’ राखेर ऐतिहासिक रेकर्ड कायम भएको पनि उनले बताए। उनले क्रान्तिविरूद्ध प्रतिक्रान्ति अहिले पनि जारी रहेकाले खेल जितिसकिएको नसोच्न नेता कार्यक्रताहरूलाई आग्रह गरे। भने, “देशको राजनीतिमा अहिले फाइनल गोल हुन बाँकी छ।”
उनले प्रतिक्रान्तिविरुद्ध बनेको गठबन्धन तोडेर प्राप्त उपलब्धिलाई धरापमा पार्ने षडयन्त्र भइरहेकोले सबैलाई सचेत रहन आग्रह गरे। अध्यक्ष प्रचण्डले १२ बुँदे सम्झौता र शान्ति प्रक्रिया नरूचाएका गृह र बाहृय दुवै शक्तिले सत्ता गठबन्धन तोड्ने र चुनावलाई ‘डिरेल’ गर्ने षड्यन्त्र गरिरहेको बताए।
उनले त्यस्ता तत्वविरू जनताले आवश्यक्ताअनुसार फेरि पनि आन्दोलन गर्नुपर्ने परिस्थिति आउन सक्ने बताए। प्रचण्डले भने, “डे वनदेखि नै गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको थियो र अझै त्यो प्रयास जारी छ। तर, हामी गठबन्धनलाई अझ बलियो बनाएर लान्छौं। बलियो बनाउन लगातार प्रयत्नशील पनि छौं। केही तत्व गठबन्धन उल्टाउने, चुनावलाई डिरेल पार्ने र दूषित वातावरण बनाउने प्रयास गरिरहेको छ।”
कार्यक्रममा मधेश सरकारले माओवादी सशस्त्र द्वन्द्वका क्रममा सहादत प्राप्त गरेका ३८ शहीद परिवारलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग तथा सम्मान प्रदान गरेको छ। माओवादी अध्यक्ष प्रचण्डले तिनका परिवारलाई उक्त रकम हस्तान्तरण गरे।
मधेशी शहीद प्रतिष्ठानबाट उनीहरूलाई तीन चरणमा तीन लाख रुपैयाँ दिने योजनाअनुसार पहिलो चरण १ लाख र दोश्रो चरणमा २ लाख रकम प्रदान गरिने आयोजना रहेको बताइएको छ।
Facebook Comment
Comment