हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा उपभोक्तामार्फत हुनुपर्ने योजनाको करीब ५ प्रतिशत मात्रै योजना सम्पन्न भएको छ। चालु आर्थिक वर्षको ६ महीना बितिसक्दा पनि ५ प्रतिशत मात्रै योजना सम्पन्न भएर भुक्तानी भएको गाउँपालिकाका योजना सहायक रोजिना सापकोटाले जानकारी दिइन्।
मकवानपुर जिल्लाकै सबैभन्दा विकट मानिने राक्सिराङ गाउँपालिकाले समेत चालु आर्थिक वर्षमा करिब २८ प्रतिशत योजना सम्पन गरेर भुक्तानीसमेत गरिसकेको अवस्थामा बकैयामा भने ५ प्रतिशत मात्रै योजना सम्पन्न भएको हो।
राक्सिराङले चालु आर्थिक वर्षमा ७४ वटा योजना सम्पन्न गरिसकेर भुक्तानी गरिसकेको छ। त्यस्तै २१७ वटा योजनाको उपभोक्ता समूहसँग सम्झौता गरिसकेको छ भने ४५ वटा योजना मात्रै सम्झौता हुन बाँकी छ।
चालु आर्थिक वर्षमा बकैया गाउँपालिकाले ३९५ वटा योजनाहरू पारित गरेको थियो। जसमध्ये करिब ५ प्रतिशत अर्थात् २० वटा मात्रै योजना सम्पन्न भएर भुक्तानी भइसकेको सापकोटाले बताइन्।
उनका अनुसार गाउँपालिकाले ९३ वटा मात्रै योजना सम्झौता गरेको छ भने बाँकी योजनाहरू सम्झौता पनि भएका छैनन्। गाउँपालिका र उपभोक्ताको सहकार्य तथा सह लगानीमा हुनुपर्ने विभिन्न कामहरू रोकिएका छन्। त्यस्तै गाउँपालिकाले चालु आर्थिक वर्षमा ठेक्कामार्फत हुने कुनै पनि योजना सम्झौता नगरेको सापकोटा बताउँछिन्। “गत आर्थिक वर्षहरूमा थालिएको बहुवर्षीय योजनाहरूको मात्रै भुक्तानी भएको छ”, उनले भनिन्, “चालू अर्थिक वर्षमा ठेक्का मार्फत हुने कुनै पनि योजना सम्झौता तथा शुरु भएका छैनन्।”
कोरोना भाइरस (कोभिड–१९) का कारण काममा केही ढिलाइ भएको गाउँपालिका अध्यक्ष दामोदर खनाल बताउँछन्। “कोरोना र विभिन्न चाडपर्वका कारण काम गर्न बाधा भएको हो,” उनले भने “अब भने गाउँपालिकाको योजना निर्माणले रफ्तार लिएको छ।”
करीब ३ महीनापछि स्थानीय तहको निर्वाचन तोकिएको छ। जनप्रतिनिधिहरू र अन्य उपभोक्ता समितिका प्रतिनिधिहरू समेत निर्वाचनको चटारोमा लाग्न थालेका छन्। यस्तोमा बाँकी योजना कामहरू झनै धकेलिने देखिन्छ।
गाउँपालिकामा विभिन्न जातका जनजातिहरूको बसोबास भएकाले चाडपर्वका सार्वजनिक बिदाका कारण विभिन्न योजना सम्झौता तथा निर्माणमा ढिलाइ भएको अध्यक्ष खनालले बताए। बकैया गाउँपालिकामा योजना निर्माण कार्यमा सुस्त भएको देखिएको छ।
जनप्रतिनिधिहरू आएपछि विकास निर्माणका कामहरू तीव्र गतिमा हुने अपेक्षा गरेका स्थानीहरू गाउँपालिकाले चालू आर्थिक वर्षमा योजना निर्माणमा ढिलाइ गर्दा खिन्न छन्। सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तोकिसकेको छ।
करीब ३ महीनापछि स्थानीय तहको निर्वाचन तोकिएको छ। जनप्रतिनिधिहरू र अन्य उपभोक्ता समितिका प्रतिनिधिहरू समेत निर्वाचनको चटारोमा लाग्न थालेका छन्। यस्तोमा बाँकी योजना कामहरू झनै धकेलिने देखिन्छ।
गाउँपालिकाले गत आर्थिक वर्षमा वडा नम्बर ४ जुरेलीमा कभर्ड हल निर्माणको लागि विवेक विनिता निर्माण सेवासँग २ करोड ९९ लाख ७ हजार २७० को लागत अनुमानमा सम्झौता गरेको थियो। त्यस्तै शिव भक्त पार्वती निर्माण सेवासँग बकैया ८ मा स्वास्थ्य केन्द्रको भवनको लागि सम्झौता गरेको थियो।
३ करोड २९ लाख ६ हजार ५४४ रुपैयाँ लागत अनुमान गरिएको छ भने वडा नम्बर १० मा पनि स्वास्थ्य केन्द्रको लागि विवेक विनिता निर्माण सेवासँग ३ करोड २९ लाख ६ हजार १७८ रुपैयाँको लागत अनुमानमा योजना सम्झौता गरेको छ।
गाउँपालिकाले १० करोड ९९ लाख ८ हजार ४८ रुपैयाँ लागत अनुमान गरिएको बकैया ४ मा महेन्द्र उच्च माविको भवन निर्माणसमेत सञ्चालन गरेको छ। तर चालू आर्थिक वर्षमा भने ६ महीना बितिसक्दा पनि एउटा पनि ठेक्कामार्फत हुने कुनै पनि योजनाहरू शुरु हुन सकेका छैनन्।
गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ प्रतिशत चालु पुँजी खर्च गरिसकेको छ भने करिब ११ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। गाउँपालिकाले चालु खर्चतर्फ ४३ करोड ५० लाख ५७ हजार रुपैयाँ बजेट रहेकोमा १४ करोड ६१ लाख २२ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका लेखा अधिकृत हरि मिजार रम्तेलले बताए।
त्यस्तै पुँजीगततर्फ ३२ करोड ७९ लाख ५९ हजार रुपैयाँ कूल बजेट रहेकोमा ३ करोड ६२ लाख ९४ हजार रुपैयाँ मात्रै खर्च गरिएको छ।
Facebook Comment
Comment