जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचदलीय गठबन्धनको सहमतिमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन्।
मधेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आयोजना गरेको ‘२७औँ जनयुद्ध दिवस’ कार्यक्रम मनाउन आइतबार दिउँसो जनकपुर आइपुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीमा भने, “सहमति भएकाले गठबन्धनमा कुनै असर गर्दैन। न्यायको क्षेत्रमा विगत केही दिनदेखिको अन्यौलता, अराजकता र बेथितिलाई हामीले किनारा लगाउने कोसिश गरेका हौँ।”
प्रचण्डले स्वतन्त्र न्यायालयमा देखिएको अन्यौलतालाई सहज ढंगले निकास दिनको लागि यस्तो कदम चालिएको बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, “हामीले न्यायालयको विवादमा मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्छ भनेका हौँ। अरू न्यायाधीशसहितलाई विश्वासमा लिएर पनि उहाँले काम गर्नुपर्छ भनेका हौं। तर आफूहरुले चाहेअनुसार न्यायालयमा सुधार हुने नदेखिएपछि महाअभियोग लगाउनुपरेको हो।”
उनले कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीसँग पनि आम सहमतिमै महाअभियोग लगाइएकोले गठबन्धनमा कुनै असर नपर्ने प्रस्ट्याए।
Facebook Comment
Comment