रसुवाको कालिका गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

नेपालभ्युज

रसुवाको कालिका गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

काठमाडौं । रसुवाको कालिका गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटामाथि एक स्थानीयले हातपात गरेका छन्। स्थानीय विश्वप्रसाद ढकालले सापकोटामाथि हातपात गरेका हुन्।

९ पुस २०७७ देखि गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत सापकोटाको चार दिनअघिमात्रै सरुवा भएको थियो, आजै गाउँपालिकाबाट बिदा भएर उनी काठमाडौं आउँदै थिए।

“उक्त गाडीमा वडा नं. ३ का अध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य हुनुहुन्थ्यो। उहाँहरूले मलाई भन्नुभए अनुसार ढकालले गाडी रोकेर सिसा खोल्न लगाई कालोमोसो दलेछन्” गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेलले फोनमा भनिन्, “सापकोटा इमानदारी कर्मचारी हुनुहुन्छ। उहाँमाथी हातपात गर्नेलाई कडा कारवाही हुनुपर्छ।”

ढकाललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका निमित्त प्रमुख प्रहरी उपरीक्षक गणेश सापकोटाले बताए।

किन हातपातमा उत्रिए त ढकाल? अध्यक्ष पौडेलले यसलाई कानून हातमा लिने प्रयत्नको रूपमा टिप्पणी गरिन्।

उनका अनुसार ढकाल परिवार सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएको थियो। गाउँपालिका कार्यालयले त्यो जग्गा उपयोग गर्नका लागि उनीहरूलाई हटाउने निर्णय गरेको थियो। जसमा उनीहरूको पनि सहमति थियो।

“ढकाल परिवार सार्वजनिक जग्गामा बसिरहेको थियो। अन्यत्र बस्ने ठाउँ नभएकाले नयाँ घर बनाउन १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेर हामीले घर भत्काउन लगाएका थियौं। केही समयका लागि अन्यत्र सर्नुभयो तर घर भत्काउनुभएन। गाउँपालिकासँग आफैले गरेको सहमति विपरीत फेरी फर्किएर आउनुभयो। त्यही भएर सहयोग दिन मिलेन। गाउँपालिकाले सहयोग नदिएको विषयलाई उहाँले व्यक्तिमाथि आरोप लगाउन खोज्नुभयो। तर सापकोटा इमान्दार कर्मचारी हो”, अध्यक्ष पौडेलले भनिन्।

यसैबीच ढकालमाथि कडा कारबाही हुनुपर्ने माग गर्दैै गाउँपालिकाका कर्मचारीहरूले विज्ञप्ति जारी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved