सर्लाहीका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन छैन, सेवा प्रवाहमा समस्या

सर्लाहीका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन छैन, सेवा प्रवाहमा समस्या

सर्लाही। यहाँका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। जिल्लाका मलङ्गवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन्।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव छ। जिल्लाका २० स्थानीय तहमध्ये केहीले आफ्नै भवन बनाउन थालेको भए पनि केहीको भौतिक संरचना बनाउन जग्गा अभाव, भवन निर्माणको विवादलगायत कारण भाडाका संरचनाबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिले गुनासो गरेका छन्।

जिल्लाका केही स्थानीय निकायले आफ्नै भवन निर्माण गरेर सेवा शुरु गरिसकेका छन् भने केही स्थानीय निकायका भवन निर्माणाधीन अवस्थामा छन्।

केही स्थानीय निकाय साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन्। जिल्लाका ईश्वरपुर, हरिपुर, हरिवन, बरहथवा र बागमती नगरपालिका तथा धनकौल, ब्रम्हपुरी, कौडेना र पर्सा गाउँपालिकाले नयाँ भवन निर्माण गरेर तथा साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन्।

स्थानीय निकायका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कुनै न कुनै रूपमा समस्या भइरहेको चक्तघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले बताए। सो स्थानीय निकायमा पनि जग्गा विवादका कारण निर्माणाधीन भवनको काम रोकिएको छ। भौतिक संरचनाको अभावका कारण गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहले बताए।

लालबन्दीका नगरप्रमुख मानबहादुर खड्काका अनुसार जिल्लाका केही स्थानीय निकायले पहिलाका गाविसका भवनमा कार्यालय राखेर सेवा प्रवाह गरिरहेका छन्। पहिला गाविस हुँदा निर्माण भएका भवन पनि पुराना तथा साना भएका छन्। सो कारण सेवा प्रवाहमा निकै समस्या भएको जिल्लाका जनप्रतिनिधिले बताएका छन्।

स्थानीय निकायका आफ्नै भवन नहुँदा भाडामा सञ्चालन गरिएका कार्यालयका लागि स्थानीय निकायले बर्सनि लाखौँ रकम भाडामै खर्च गर्नुपरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved