जनकपुरधाम। जनकपुरधाममा अर्काको सातमहिने एक बच्चा चारेर भागेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। बच्चा चोरी गरेर भागेका दुई महिला र एक पुरुष गरी तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर-१० बस्ने सञ्जित मुखियाकी ३५ वर्षीया पत्नी मनिषा देवी मुखिया, औरही गाउँपालिका वडा नम्बर-१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ बस्ने बिगुल मुखियाकी २० वर्षीया पत्नी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर-४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव छन्।
बुधबार साँझ करिब ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका-६ स्थित महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन्।
प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको बेला रातो साडी लगाएर आएकी मनीषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई शिशुलाई लिएर फरार भएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा सोधपुछ तथा अनुसन्धानबाट बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम-१९ बेंगा शिवपुर पिपराढी स्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले जानकारी दिए।
घटनाको समयमा मनिषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको एसपी रजौरेले बताए।
पक्राउ परेका कृष्ण कुमारले मनिषासँग १३ हजार रुपैयाँ लिई बच्चा उपलब्ध गराउने शर्त राखेको कुरा अनुसन्धानमा खुलेको उनले जानकारी दिए। पक्राउ परेकाहरूमाथि अपहरणसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरु गरिएको धनुषा प्रहरीले जनाएको छ।
Facebook Comment
Comment