काठमाडौं। सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तय गरेपछि यसबारे केही समयदेखि देखापरेको अन्योल अन्त्य भएको छ। साथसाथै सत्ता गठबन्धनको निरन्तरता भने शंकाको घेरामा परेको छ।
हप्तादिन अघिसम्म नेताहरूले आगामी निर्वाचनसम्मै गठबन्धन कायम रहने दाबी गर्ने गरे तापनि यसको निरन्तरताबारे शंका उब्जिएको हो।
गठबन्धन दलमा ४ जेठमा निर्वाचन गर्ने सहमति भएको थियो। तर मन्त्रीपरिषद् बैठकले ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकेकाले पनि आशंका उब्जिएको हो। यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन निरन्तर हुने आश्वासन सहित प्रमुख प्रतिपक्ष नेकपा (एमाले)लाई साथमा लिन स्थानीय तहको निर्वाचनको मिति तोकेको स्रोतले बतायो।
गठबन्धनको पेचिलो विषय भने अहिले निर्वाचन नभएर अमेरिकी सहयोग परियोजना एमसीसी बनेको छ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पारित गर्ने मनस्थितिमा पुगेका छन्। तर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने संशोधनसहित पारित नगर्ने अडानमा छ।
यही विवादका बीच २३ माघमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट मुख्यालयलाई संयुक्त रूपमा पठाएको पत्र सार्वजनिक भयो। उक्त पत्रमा संसद्बाट पाँच महिनाभित्र पारित हुने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त पत्र सार्वजनिक भएसँगै गठबन्धनको भविष्य थप अन्योलमा परेको हो।
२३ माघमा नै उनको सचिवालयले एक विज्ञप्ति प्रकाशित गर्दै ‘प्रधानमन्त्रीलाई एमसीसी पारित गराउनुपर्ने बाध्यता र गठबन्धन सरकार टिकाउनु पर्ने परिस्थितिमा संयुक्त पत्र लेखेको’ जिकिर गरेको थियो। साथै यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान दोहोर्याइएको थियो।
सत्ता गठबन्धनकै अर्को दल नेकपा (एस) ले समेत यथास्थितिमा एमसीसी पारित हुननसक्ने आफ्नो अडान कायम नै राखेको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पारित हुनै नसक्ने पुनः दोहोर्याएका छन्।
“एमसीसीका विषयमा आफ्नो अडान यथावत छ, त्यसमा कुनै परिवर्तन भएको छैन,” खनालले भने। यद्यपि गठबन्धनको भविष्यका विषयमा भने नेता खनालले कुनै प्रतिक्रिया जनाउन चाहेनन्।
सोही पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने गठबन्धन टुट्ने अवस्था आएको खण्डमा प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा अगाडी नबढाउने विश्वास व्यक्त गरे।
त्यस्तै गठबन्धनले पनि निरन्तरता प्राप्त गर्ने प्रवक्ता खतिवडाको विश्वास छ।
१३ माघमा नेपाल भ्यूजसँगको एक अन्तर्वार्तामा नेकपा (एस)का महासचिव बेदुराम भुसालले कांग्रेसमा ८० प्रतिशत पकड भएका प्रधानमन्त्री देउवा पक्षमा हुँदासम्म गठबन्धनमा कुनै आँच नआउने प्रतिक्रिया दिएका थिए।
कांग्रेसको दाउ
गठबन्धनलाई कायम राख्ने कांग्रेसको आफ्नै दाउ छ। अघिल्लो संसदीय निर्वाचनमा दुई कम्युनिष्ट पार्टीबीच एकता हुँदा पराजय भोग्नुपरेको कांग्रेस त्यो विगत दोहोर्याउन चाहँदैन।
गठबन्धन भंग हुँदा दुई कम्युनिष्ट पार्टीबिच पुनः तालमेल हुने सम्भावना रहेकाले पनि प्रधानमन्त्री देउवा गठबन्धन निरन्तरताको पक्षमा रहेको कांग्रेसका केही नेता बताउँछन्।
हालै पार्टी प्रवक्तामा नियुक्त भएका डा. प्रकाशशरण महत भने गठबन्धनसहित निर्वाचनमा प्रतिस्पर्धा गर्ने वा एकल हिसाबमा भन्नेबारे निर्णय भइनसकेको जिकिर गर्छन्। “यस विषयमा पार्टीले निर्णय गरिसकेको छैन,” प्रवक्ता डा.महतले भने।
शेखर कोइराला पक्षका नेताहरू भने कांग्रेस एकल हिसाबमा निर्वाचनमा जानुपर्ने पक्षमा छन्। यद्यपि कांग्रेसभित्र गठबन्धनको पक्षमा वकालत गर्ने नेताको कमी छैन जसमा रामचन्द्र पौडेलदेखि कृष्णप्रसाद सिटौला र उपसभापति पूर्णबहादुर खड्कासमेत पर्छन्।
कांग्रेस नेता पौडेलले त निर्वाचन जित्न प्रतिस्पर्धा गर्ने हो भने पार्टीले गठबन्धनमै रहेर निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने बताउँछन्।
२४ माघमा पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भनेका थिए, “कांग्रेस जस्तो पार्टी विजयी हुन निर्वाचनमा जाने हो वा प्रतिस्पर्धाका लागि मात्रै? वर्तमान गठबन्धनलाई नै कायम राख्दै निर्वाचनमा जानुपर्छ।”
कांग्रेसकै सहमहामन्त्री बद्री पाण्डे स्थानीय तहमा गठबन्धनको पक्षमा कार्यकर्ता नरहेको दाबी गर्छन्। मंसीरमा सम्पन्न महाधिवेशनपछि आफूले ७–८ जिल्लाको भ्रमण गरेको बताएका उनले स्थानीय तहमा कार्यकर्ता गठबन्धनको पक्षमा नरहेको बताए। भने, “केन्द्रका केही शीर्ष नेता गठबन्धनको पक्षमा रहे पनि स्थानीय तहमा कार्यकर्ता पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा छन् भन्ने मेरा बुझाई हो।”
माओवादी केन्द्रका नेता पेशल खतिवडाको बुझाई पनि कांग्रेस सहमहामन्त्री पाण्डेको जस्तै छ। खतिवडा पनि स्थानीय तहको निर्वाचनमा सबै तहमा गठबन्धन हुने सम्भावना कम रहेको बताउँछन्। भन्छन्, “सबै तहमा गठबन्धन हुने सम्भावना निकै कम छ, भएको अवस्थामा केही स्थानमा होला, सबैमा हुने देखिँदैन।”
प्रधानमन्त्री देउवाले एमसीसीलाई संसदमा अघि बढाएको अवस्थामा भने फरक दृश्य देखापर्ने उनको बुझाइ छ।
“सम्भवतः हामी सरकारबाट बाहिरिन्छौँ, तर गठबन्धनले भने निरन्तरता प्राप्त गर्छ,” माओवादी केन्द्रका नेता खतिवडा भन्छन्, “गठबन्धनले तय गरेको निधारित काम पूरा नभएका कारण पनि गठबन्धनले निरन्तरता प्राप्त गर्ने भन्ने विश्वास छ।”
Facebook Comment
Comment