काठमाडौं। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउन लागेको हो।
कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी (२६ करोड रुपैयाँ) को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणले आगामी ४ फागुनदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।
सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी १८ फागुनसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरीदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी ५० करोड र हालको जारी पुँजी २६ करोड तथा चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ छ।
विवरणपत्रमार्फत सर्वसाधारणलाई खरीदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ। धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ।
Facebook Comment
Comment