जनकपुरधाम। तीनदेखिको लगातारको वर्षाले धनुषासहित मधेश प्रदेशका दर्जनौं इँटा उद्योगमा क्षति पुगेको छ।
तयारी अवस्थामा रहेका लाखौं मूल्य बराबरको काँचो इँटा वर्षाले नष्ट भएका छन्। अहिले इँटा तयार पार्ने सिजन भएकोले सबै इँटा उद्योगहरूमा काँचो इँटा नै तयारी भइरहेको बेला बेमौसको वर्षात्ले अर्बौंको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन्।
उद्योग सञ्चालकहरूकाअनुसार एउटा इँटा उद्योगमा कम्तीमा २५ देखि ३० लाख काँचो इँटा वर्षाका कारण नष्ट भएका छन्।
इँटा उद्योग व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष विनय यादवले भने, “वर्षाको कारण इँटा उद्योगहरूमा अहिले भएको क्षतिका कारण अहिले तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको छ।”
प्रदेसका अध्यक्ष यादवले वर्षाले उद्योगीहरू उठ्नै नसक्ने गरी क्षति पुगेको बताए। भने, “तत्काल उद्योग सञ्चालन गर्ने अवस्था रहेन। अर्बौंको क्षति भएको छ।”
अध्यक्ष यादवको अनुसार मधेश प्रदेसका सबै जिल्ला गरी ६ सय इँटा उद्योग सञ्चालनमा छन्। एउटा उद्योगले कम्तीमा ३० देखि ५० लाख काँचो इँटा तयार पारेका थिए। तयारी भएको इँटा भट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासि भएको लगातारको वर्षाले कामै नलाग्ने सबै काँचो इँटा नष्ट भइसकेको छ।
एक-दुई महीना लगाएर तयार पारिको इँटा पुस-माघमा भठ्ठीमा पोल्ने गरिन्छ। काँचो इँटा तयार पार्न उद्योगले सयौंको संख्यामा मजदुर राख्ने गरेका हुन्छन् भने माटो र कोइलासमेत खरिद गरिएको हुन्छ।
वर्षाले गर्दा तयार पारिएका काँचो इँटाका साथै भारतबाट खरीद गरेर ल्याइएका कोइला पनि नष्ट भएको अध्यक्ष यादवले बताए। उद्योग सञ्चालनका लागि फेरि शुरुकै अवस्थामा फर्कनुपर्ने बताउँदै उनले सञ्चालकहरू ठूलो मारमा पर्नुका साथै अब दोहोरो खर्चमा पर्ने बताए।
महोत्तरीको औरही नगरपालिका सञ्चालित न्यू मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले इँटा तयार पार्न फेरि शुरुदेखि काम गर्नुपर्ने अवस्था आएको बताए। भने, “अब सबै शुरुदेखि गर्नुपर्ने भयो, माटो र कोइला खरिद गर्नुपर्यो। मजदुरलाई पारिश्रमिक दिनुपर्ने भयो, त्यसका लागि फेरि कम्तीमा एक दुई महीना समय लाग्ने भयो। दोहोरो खर्चको मारमा पर्नेभए।”
मधेश प्रदेशको धनुषामा मात्रै ८० इँटा उद्योगहरू रहेका छन्। यस वर्षाले सबै उद्योगहरूमा क्षति पुगेर बन्द हुने अवस्थामा पुगेको छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाबजार नयाँटोल सञ्चालित रामजानकी इँटा उद्योगका सञ्चालक अरुण साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको बताए। उनले तयारी गरेर पोल्नको लागि राखेको सबै काँचो इँटा नष्ट भई एउटा पनि काम नलाग्ने अवस्था रहेको बताए।
इँटा उद्योगका सञ्चालकहरूले कोइला भारतबाट आयात गर्ने गरेका छन्। अघिल्लो वर्षको तुलनामा कोइलामा भएको दोब्बर मूल्य वृद्धिका कारण उनीहरू थप मारमा परेका छन्। इँटा उद्योग व्यवसायी संघ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीले भने, “वर्षाका कारण स्टक गरेर राखिएको सबै कोइला पनि नष्ट भयो। फेरि दोहोरो खर्च गरेर भारतबाट मगाउनुपर्ने भयो।”
इँटा उद्योग व्यवसायी संघ महोत्तरीका अध्यक्ष चौधरीले महोत्तरीमा मात्रै २० करोड बराबरको इँटा उद्योगमा क्षति पुगेको बताए। उनले महोत्तरी जिल्लाभरि ५२ वटा इँटा उद्योग रहेकोमा औरही, रामगोपालपुर र गौशला नगरपालिकामै ३६ वटा रहेका र प्रत्येक इँटा उद्योगमा करिब २० देखि ३० लाख बराबरको क्षति भएको बताए।
बिमा छैन इँटा उद्योगमा
सरकारले अन्य उद्योगहरूका लागि बिमाको व्यवस्था गरे पनि इँटा उद्योगमा बिमाको व्यवस्था छैन। खुला आकाशमुनि निर्माण हुने इँटा उद्योगहरूलाई सरकारले बिमाको व्यवस्था नगरेको हो।
दैवी प्रकोप वा कुनै दुर्घटनाहुँदा बिमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित छन्। उद्योग सञ्चालकहरूले बिमाको व्यवस्था गर्न पटक-पटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन गरेको छैन।
इँटा उद्योग व्यवसायी संघ मधेश प्रदेश अध्यक्ष यादव सरकारले बिमाको व्यवस्था नगरेका कारण प्राकृतिक विपत्ति आउँदा सम्पूर्ण क्षति उद्योगले आफैं बेहोर्नुपरिरहेको बताए। उनले अन्य उद्योगजस्तै इँटा उद्योगलाई पनि बिमाको व्यवस्था गर्न सरकारसँग पुनः माग गरेका छन्। “बिमाको व्यवस्था गर्न पछिल्लो ५-६ वर्षदेखि सरकारलाई भनिरहेका छौं तर सरकारले सुनुवाइ गरेको छैन,” उनले भने।
यादवले बिमा नहुँदा पटक–पटक आइरहने प्रकृतिक विपत्तिले सम्पूर्ण क्षति आफैंले बेहोर्नुपरेको र सरकारले ध्यान नदिए कसरी उद्योग सञ्चालन गर्ने भन्ने प्रश्न गरे।
Facebook Comment
Comment