गैंडाको मृत्यु प्राकृतिक हो, निर्माण व्यवसायीलाई नियोजित आरोप लगाइयो : महासंघ

नेपालभ्युज

गैंडाको मृत्यु प्राकृतिक हो, निर्माण व्यवसायीलाई नियोजित आरोप लगाइयो : महासंघ

काठमाडौं। सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिंगे गैंडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ।

एकसिंगे गैंडा मरेपछि निर्माण व्यवसायीलाईसमेत आरोपित गरी गैरकानूनी रूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निर्माण कम्पनी इन्डो सगुन जेभीबाट सडक निर्माण गर्ने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुशरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ।

सडक डिभिजन कार्यालय भरतपुरअन्तर्गतको आयोजनाको निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतका क्रममा भएको दुःखद् मृत्युको तथ्यलाई तोडमोड गरिएको महासंघका महासचिव रोशन दाहालले बताए। “तथ्य तोडमोड गरी निर्माण व्यवसायीउपर प्रचलित कानुनविपरीत हुनेगरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख, हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माणमा अहोरात्र खटिएका व्यवसायीको मनोबल गिराउने र निर्माण क्षेत्रलाई अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासंघको ठहर छ”, उनले भने।

निर्माणस्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्णरूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकाले नाली नपुरिएको र सम्झौताबमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपाय अनुशरण गरी आयोजनाको नियमित सुपरीवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेका अवस्थामा प्राकृतिक रूपमा घटना भएको तथ्य जग जाहेर हुँदाहुँदै निर्माण व्यवसायीलाई नियोजित रुपमा आरोपित गरी झुठा लाञ्छना लगाई व्यवसायीलाई मुछेर मानमर्दन गरिएकोप्रति महासंघले आपत्ति जनाएको हो।

घटनालाई लिएर निर्माण कम्पनी इन्डो–सगुन जेभीका प्रतिनिधि सहदेव खड्कालाई अनुसन्धानका नाममा झूठा लाञ्छना लगाई पक्राउ गर्नेलगायत काम कारबाही रोक्न महासंघले माग गरेको छ। भविष्यमा समेत पूर्वाधार विकास निर्माण हुने क्षेत्रमा प्राकृतिक रूपमा हुने यस्ता घटनामा निर्माण व्यवसायीलाई आरोपित गर्ने कार्य नगर्नसमेत महासंघले नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।

विश्वमै दुलर्भ एकसिंगे गैंडाको मृत्युबाट महासंघसमेत दुःखी भएको विज्ञप्तिमा उल्लेख छ। घटनाको छानबिन गर्न वन मन्त्रालयले गठन गरेको छानबिन समितिमा महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकोसमेत संलग्नता हुनेगरी एक निष्पक्ष एवं स्वतन्त्र छानबिन समिति गठन गरी घटनाको बिनाकुनै पूर्वाग्रह सत्यतथ्य सार्वजनिक गर्न महासंघले माग गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved