पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

करीब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ। तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ। ताल वरिपरि घेराबार, प्रवेशद्धार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ।

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

रामपुर। कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ। दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या यहाँ बढ्दो छ।

पाल्पाको सदरमुकाम तानसेनबाट करीब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। अहिले दैनिक ४०० हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउँछन्।

देवकोटा भन्छन्, “माघे सङ्क्रान्तिपश्चात् मानिसहरु दिनहुँ बढेका छन्। हामीलाई पनि डुङ्गा चलाउने काम पुगेकै छ। जाडोको समय भएकाले दिउँसो घाम ताप्दै ताल वरपर घुम्नेहरु धेरै आउने गर्नुहुन्छ।”

ताल वरपर डुङ्गामा घुम्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्छ। यहाँ हाल काठका दुई सहित तीन ओटा डुङ्गा प्रयोगमा ल्याइएको छ। विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउने, भिडिओ तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ।

१०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचिकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ।

कोरोना कहरमा केही समय बन्द गरिए पनि अहिले भने नियमित रुपमा डुङ्गा चलिरहेको छ। डुङ्गा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरु तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारी बताउँछन्।

मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुङ्गा एउटा र २३ फिटको छानासहित काठको एउटा डुङ्गा तयारी रहेको भण्डारीले बताए।

अहिले मिनी फेवातालका रुपमा परिचित बनेको छ, ‘तालपोखरा’। पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदिप पाण्डेयले बताए।

प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको बताउँछन् तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा। उनका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा तीन करोड ५० लाखभन्दा बढी रकम खर्च भइसकेको छ।

“एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरु गरिरहेको छ,’ अध्यक्ष देवकोटाले भने, ‘काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ,”

श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवद्र्धनको काम शुरु गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको हो। फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर पनि निर्माण गरिएको छ।

यहाँ २४ माघ २०७४ देखि डुङ्गा सञ्चालन शुरु गरियो। नियमित दुई ओटा डुङ्गा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएकोमा गत असोजदेखि भने नियमित छ।

करीब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ। तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ। ताल वरिपरि घेराबार, प्रवेशद्धार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ।

यसको नाममा पोखरी र पार्क समेत छ। पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ। ताल र पार्कसहित करीब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ। वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved