पर्दामा साइलक र सगरमाथा
राजकुमार केसी
ढोकाहरू बन्द थिए
झ्यालहरू पनि बन्द थिए
बन्द झ्यालहरूबाट
बन्द ढोकाहरूबाट
न हामीले आफूलाई देख्यौं
न कहाँ छ भनेर आफूलाई भेट्टायौं
अनवरत हामी छेउ कतैबाट,
इन्द्रावती, र मस्र्याङ्दी बगिरहेका हुन्थे
सुसाउँदै टाढा–टाढासम्म बगिरहेका हुन्थे
थाहा थिएन हामी कहाँ थियौं
घोडा हिनहिनाउँथ्यो
अनि, भयभित हुन्थ्यौं
गर्याम, गर्याम बुट बजाउँदै
खै को आउँथ्यो ?
हामीलाई रिकावमा आफ्ना भद्दा खुट्टाहरू राख्न लगाउँथ्यो
र गड्गड् घोडा दौडाउँथ्यो
फेरि जंगी पोशाकमा बन्दुक भिरेर आउँथ्यो
र बन्दुकका पर्राहरू छोड्दै
बेपत्ता हुन्थ्यो
बिस्तारै पर्दा फेरियो
दृश्यमा हामी आफ्ना
सहयोद्धाका लासलाई सोलामा चढाउँदै
मौन उभिइरहेका हुन्थ्यौं
जंगी पोशाकको नायक
बर्दी फेरेर हामी अगाडि देखापथ्र्यो
बिस्तारै ढोकाहरू खुल्दै जान्थे
बिस्तारै झ्यालहरू पनि खुल्दै जान्थे
त्यतिबेला जंगी पोशाकको नायक चुपचाप
बार्दलीमा कुल्फी तानिरहेको हुन्थ्यो।
आश्चर्य
पुनः दृश्यमा अर्कै खाले मान्छेहरू देखा परे
हातमा छुरी लिएर
मानौं, उनीहरू साइलक भएर उभिए
सँगै हिँड्यौं भनेर पनि भएन
सँगै जाउँ भनेर पनि भएन
हामीहरू झन् भयभित भयौं
अदालतमा एन्टोनियोहरू आए
र साइलकहरू प्नि छुरा धारिलो बनाउँदै आए
स्तब्ध, एन्टोनियोहरू मौन उभिए
मात्र मौन एक अर्कामा टोलाइरहे
दृश्यमा, एउटा पृष्ठभूमि सगरमाथाको
अनि अदालतमा, उभिएका एन्टोनियोहरूको
र छुरा उज्याइरहेका क्रुर साइलकहरूको।
सगरमाथा नाङ्गै फोटो खिचाउँदै छ
आर. एम्. डङ्गोल

धेरै आरोहीहरूले
सगरमाथाको नाङ्गो फोटो खिचे
र, बहादुरी देखाए
सगरको माथमा जमेको मृत्युजस्तै
गहु्रँगा हिउँहरूलाई पनि
आखिर आड चाहिँदो रहेछ
बुई चाहिँदो रहेछ
भरियाजस्तो बनेर
अझै उँभो चढिरहेको सगरमाथा
अब चाहेर पनि ओर्लिन सक्दैन
तल मान्छेहरूको बस्तीमा
धेरैले हिउँको भित्तामा
जीवनको लाल्टिनी नभेटेर
आदिम बन्चराहरूले सगरमाथालाई चिथोरे, कोपरे
आफू अग्लिनुपर्दाको पीडाले
चुपचाप ठड्याइएको सगरको माथ
गहिरो निराशाको भीरबाट
झनै तल हिउँको भार थाम्न नसकेर पग्लिन खोज्थ्यो
आँधीबेहरीजस्तै आवाज निकालेर
निर्जन उचाइमा डाँको छाडेर रोइदिन खोज्थ्यो
तर, मुटुको आँसु हिमनदी बनेर जमेपछि
सगरमाथा मर्नुभन्दा बहुलाउन निको ठानेर
अचल, अटल नाङ्गै फोटो खिचाउँदै छ
पर्वतारोही बहादुरहरूलाई।
आङरिताले शेर्पाले कैयौं पटक सगरमाथा चढ्यो
उदय निरौला

हो, आङ्रिता शेर्पाले शिखर टेक्यो
देख्नका लागि
सुन्नका लागि
आङ्रिता देशको सम्पत्ति हो
आङ्रिता राष्ट्रको सम्पत्ति हो
हीरा हो
मोती हो।
आङ्रिता यथार्थमा अहिले
जुनसुकै गल्लीमा जीवन चलाओस्
आङ्रिता नानीहरूको पेट पुर्न
जसरीसुकै छट्पटिँदै बाँचोस्
ऊ राष्ट्रको सम्पत्ति हो
ऊ देशको धुक्धुकी हो।
आङ्रिता राष्ट्रको मूल्यवान् सम्पदा हो
उसलाई आङ्छिरिङहरू फाट्का खेल्छन्
नाफा–मुनाफामा जोड–घटाउ गर्छन्
आङ्रिता प्रथम पटक सगरमाथा टेक्छ
नेपालको झण्डाभन्दा पहिला
अमेरिकाको, स्वीसको वा अरू कसैको झण्डा गाड्छ
र साथमा विचरा नेपालको झण्डा पनि गाड्छ
आफ्नी प्रिय पत्नीको आँखा सम्झेर
ईश्वरलाई सम्झन्छ
छातीमा हात राखेर गुम्बा भाक्छ
बुद्ध भाक्छ।
आङ्रिता सगरमाथा टेक्छ
आङ्छिरिङ हेलिकोप्टर चढ्छ
आङ्रिता फर्केर शिविरबाट
ठमेलभित्र डेरामा टाउको लुकाउँछ
आङ्छिरिङ अस्टे«लियातिर बास बसाउँछ
आङ्रिता, आङ्रिता, आङ्रिता बोलेर
पुनः अर्को पटक उसको बुई चढेर
आङ्छिरिङ अर्को एउटा होटल खोल्छ
पर्यटक महोदयसँग बसेर स्याम्पेन तोड्छ
आङ्रिता सगरमाथा जितेकोमा भन्दा पनि बढी
नानीहरूको भुँडी जितेकोमा
एउटा भट्टी पसलमा मातिदिन्छ
एउटा झुपडीमा खुसीसाथ पल्टिदिन्छ।
मानौं, आङ्रिताको डँडाल्नो फलामको छ
उसमाथि आङ्छिरिङहरू बुई चढ्छन्
पिटरहवलरहरू बुई चढ्छन्
आङ्रिताले थाक्नु हुँदै–हुँदैन
थाके देशले शिर उठाउन सक्दैन
थाके उसका छोराले पेट उकास्न सक्दैन
आङ्रितालाई लेकमा जुकाले टोक्छ
बुई चढेका आङ्छिरिङ र पिटरलाई टोक्दैन
जुकाले जुकालाई टोकेको थाहा छैन
जुकाले जुकालाई किमार्थ टोक्दैन।
सगरमाथा चढ्दा
आङ्छिरिङलाई अक्सिजन चाहिन्छ
पिटरहवलरलाई अक्सिजन चाहिन्छ
आङ्रितालाई अक्सिजन चाहिँदैन
किनकि उसको फोक्सोमा नानीको भविष्य हुन्छ
आङ्रिता शेर्पा पटकपटक
यसरी शिखर चढ्छ
र, आङ्छिरिङहरू शासक महोदयको प्यार पाउँछन्
शासक महोदयहरूको उपहार पाउँछन्
आङ्रिता शेर्पाको नाम जपेर
पटकपटक विदेश सवार गर्छन्
आङ्रिता ठमेलतिर दगुरिरहन्छ
आङ्रिता गल्लीतिर छटपटिइरहन्छ
पटकपटक बिनेर
पटकपटक कनेर
पटकपटक गरेर
दसौं अंक जपेर शिखरमा
आङ्रिताले एक पटक माला लगायो
सरकारले उसको नाममा पार्टी खायो
भनौं, एक अर्थमा सरकारले उसको स्वागत गर्यो
सम्मान गरेको भोलिपल्ट आङ्छिरिङले
अर्को भर्याङ हाल्यो
आङ्रिताले पनि ठमेलमा
एक छाक बासमती टन्न खायो
गौरवताको वीर नेपाली भन्न पायो
बस्,
ऊ यो देशको देवकोटाजस्तै हो
ऊ यो देशको भूपीजस्तै हो
सम्झनोस् आङ्रिता शेर्पा अब
मृत्युपश्चात् यो देशको ठुलै सम्पत्ति हो।
सबै रचनाहरु उत्कृष्ट लाग्यो।यसरी नेपाल भिउजले हामीलाई पनि समेट्न सकोस्।शुभकामना ।साथै सम्पुर्ण कविहरुमा बधाई ।