वर्षमानको स्वास्थ्यबारे ओनसरीको ब्रिफिङ : गुर्जो सेवनले जण्डिस बढेछ

उहाँ स्वास्थ्य भए पनि वंशाणुगत जन्डिस भएका कारण केही औषधी भने नियमित सेवन गर्नुपर्ने हुन्छ। शरीर भरि फैलिएको विषलाई कम गर्न औषधीको प्रयोग गर्नुपर्ने हुन्छ, हाललाई दुईवटा औषधी सेवन गर्दै हुनुहुन्छ।

वर्षमानको स्वास्थ्यबारे ओनसरीको ब्रिफिङ : गुर्जो सेवनले जण्डिस बढेछ

लामो समयदेखि वंशाणुगत जण्डिसको उपचार गराइ राखेका नेकपा माओवादी (केन्द्र)का नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। १० माघमा चीनको सेन्जनबाट स्वदेश फर्किएका उनी सेन्जनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचारपछि स्वदेश फर्किएका हुन्। १० मंसीरमा थाइल्यान्डबाट चीन गएका उनी दुई महिना चीनमा उपचार गरी स्वदेश फर्किएका हुन्।

स्वास्थ्य उपचारका लागि चीनमा रहँदा पुनले १२ पुसमा राजनीतिक भेटवार्ता पनि गरे। चिनियाँ उपमन्त्री चेन झाओले पुनसँगको भेटका क्रममा नेपालमा चल्दै गरेको माओवादी केन्द्रको आठौँ महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरे। यस्तै नेपालको कम्युनिस्ट पार्टीबीचको एकताका विषयमा पनि सो भेटमा कुराकानी भएको थियो।

१३ असोजमा उपचारका लागि थाइल्याण्डको बुरमुङगार्ड अस्पताल गएका उनी यसअघि २०७२ सालमा पनि थाइल्याण्डको सोही अस्पतालमा जण्डिसको उपचार गर्न गएका थिए। नेपालबाट थाइल्याण्ड उपचारका लागि जाँदा स्वास्थ्य अवस्था ठीकै रहेको पूर्वसभामुख एवं पुनकी श्रीमति ओनसरी घर्ती मगर बताउँछिन्। पुनको पछिल्लो स्वास्थ्य अवस्थाका विषयमा नेपालभ्यूजका लागि पुरुषोत्तम पौडेलले पूर्वसभामुख समेत रहेकी घर्तीसँग गरेको कुराकानी :

नेपालमा उपचार गराउँदै गर्दा थाइल्याण्ड हुँदै चीनसम्म वर्षमान पुनको उपचारका लागि जानु भयो। थाइल्याण्डमा उपचार गर्दै गर्दा चीन जानुपर्ने अवस्था किन आयो?

उहाँमा देखिएको जन्डिसको समस्या नयाँ होइन, पुरानै हो। यहाँबाट हामी थप उपचारका लागि थाइल्यान्ड गएका थियौँ, तर यहाँ स्वास्थ्य अवस्थामा प्रगति नभएपछि हामी चीन गयौँ। नेपालबाट थाइल्यान्ड जाँदा उहाँको स्वास्थ्य अवस्थामा राम्रै थियो तर, त्यहाँ उपचारका क्रममा थप बिग्रियो। यहाँ जन्डिसका कारण समस्या बल्झेपछि थाइल्यान्ड गएका हौँ।

थाइल्यान्डमा उपचार नराम्रो थियो भन्न खोजेको होइन। त्यहाँ अस्पतालका चिकित्सकहरूले धेरै प्रयास गर्नु भएको हो। औषधीहरू पनि चलाइएको थियो। त्यहाँ कलेजोको डाइल्यासिस भएको थियो। डइल्यालिसपछि उहाँको स्वास्थ्यमा झनै समस्या आयो। यस्तै शरीरका अन्य अंगमा पनि समस्या देखियो। त्योपछि हो, हामीले चीन लिएर गएको।

चीन गएपछि भने उहाँको स्वास्थ्यमा धेरै सुधार भएको हो। उहाँ स्वास्थ्य भए पनि वंशाणुगत जन्डिस भएका कारण केही औषधी भने नियमित सेवन गर्नुपर्ने हुन्छ। शरीर भरि फैलिएको विषलाई कम गर्न औषधीको प्रयोग गर्नुपर्ने हुन्छ, हाललाई दुईवटा औषधी सेवन गर्दै हुनुहुन्छ।

चीनमा पनि डाइल्यासिसले निरन्तरता पायो?
चीनमा पुगेपछि केही पनि डाइल्यासिस गर्नुपर्ने अवस्था आएन। चीनमा उहाँका लागि प्रयोग भएको औषधी र उपचार विधिमा केही फरक होला, त्यो भन्दा अरू उपचारका लागि केही फरक भएन। रोग प्रतिरोधात्मक क्षमता बढाउने र शारीरिक रूपमा तन्दुरुस्त राख्नका लागि आवश्यक काम चीनमा भयो।
तर, त्यहाँ औषधी भने कम नै प्रयोग गर्दा रहेछन्। थाइल्याण्डमा शुरु गरेको धेरै औषधी चीन पुगेपछि प्रयोग भएनन्। औषधीको कम प्रयोग भयो भने खानामा भने धेरै नै जोड दिनुपर्ने सुझाव चिकित्सकको रह्यो।

जण्डिस हुँदा खास के गर्नुपर्ने रहेछ?
उहाँको स्वास्थ्यलाई विशेष रूपमा खराब गरेको गुर्जोले थियो। गुर्जोकै कारण उहाँको कलेजोमा खराबी भएको चिकित्सकको राय थियो। पहिलो लकडाउनको बेला उहाँले अन्य साथीको सुझावका कारण गुर्जोको प्रयोग गर्नुभएको थियो। करिब पन्ध्र दिन उहाँले नियमित गुर्जोको प्रयोग गर्नु भएको थियो। वंशाणुगत जन्डिस भएका मानिसले गुर्जोको प्रयोग गर्न नहुने रहेछ, तर, हामीलाई त्यो थाहा भएन।

गुर्जोको प्रयोग गर्नुअघि उहाँलाई जण्डिसको कुनै लक्षण थियो कि थिएन?
उहाँलाई जन्डिसको कुनै लक्षण थिएन। तर, योभन्दा अघि २०७२ सालमा उहाँ थाइल्यान्ड जानुभएको थियो। त्यो समयमा पनि जन्डिसकै उपचारका लागि त्यहाँ जाँदा उहाँलाई जडीबुटीको प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका थिए। पछिल्लो समय स्वास्थ्यमा कुनै समस्या नदेखिँदा हामीले चिकित्सकका सुझाव बिर्सिँदै गयौँ। यो बिचमा हामीले पनि केही हेलचेक्र्याइँ गर्दा अहिले यस्तो समस्या आयो।

उहाँलाई चिकित्सकहरुले केही विशेष सुझाव पनि दिनुभएको छ की?
चिकित्सकहरूले उहाँलाई ‘नरमल डाइट’ र ‘नरमल लाइफ’ भन्ने सुझाव दिएका छन्। स्वास्थ्यका हिसाबले उहाँको अवस्था राम्रो छ। अन्य सुझावमा समयका खाने र समयमा सुत्नुपर्ने भन्ने छ। खानाका लागि मुख बार्नुपर्ने केही छैन। समयमा सुत्ने र खाने नै उहाँको मुख्य औषधी हो। शरीर भरि जन्डिस फैलिएका कारण केही समय भने उहाँले नियमित औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।

उपचारकै क्रममा चीनमा रहँदा पार्टीको महाधिवेशनको बन्दसत्र शुरु भएकै दिन त्यहाँ पुन र तपाईले चिनियाँ उपमन्त्री चेन झाआसँग भेटघाट गर्नुभएको थियो। त्यो भेट व्यक्तिगत थियो कि राजनीतिक थियो?
त्यो राजनीतिक भेट थियो।

भेटमा नेपालका कम्युनिष्ट पार्टीबीचको एकीकरणका विषयमा चिनियाँ पक्षले चासो राखेको सूचना आएको थियो, सत्य हो?
भेटमा विशेषगरी पुनको स्वास्थ्य लाभको शुभकामना चिनियाँ उपमन्त्रीले दिनु भएको थियो। महाधिवेशनको शुभेच्छा व्यक्त गर्नु भएको थियो। उहाँहरू आफू कम्युनिस्ट भएका कारण बाम एकताका विषयमा भएको कुराकानीलाई स्वाभाविक मान्नुपर्छ।

लामो समयको उपचारपछि हालै मात्रै स्वदेश फर्किनु भएको छ उहाँ। स्वदेश आउना साथ उहाँले पार्टीको महासचिव पदका लागि आफू स्वभाविक दाबेदार भएको पनि बताउनु भयो। महासचिव पदको जिम्मा लिनसक्ने गरी उहाँ स्वास्थ्य भईसक्नु भएको हो?
उहाँ स्वास्थ्य हुनुहुन्छ। कोभिडका संक्रमण नहोस् भन्नका लागि केही समय आराम गर्नुहुन्छ। अन्य हिसाबले उहाँ स्वास्थ्य हुनुहुन्छ। चार महीना देश बाहिर रहेको अवस्थामा केही दिन यो अवधिका राजनीतिक घटनाक्रमका विषयमा जानकारी दिने काम हुँदैछ। २७ गते बोलाइएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा उहाँ उपस्थित हुनुहुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved