५५ प्रतिशत बालबालिकाले लगाए पूर्ण डोज खोप

‘‘माघ ८ गते एकै पटक १६ जना संक्रमितको मृत्यु भयो । ती मध्ये १३ जनाले खोप नै लगाएका थिएनन्,’’ वीर अस्पतालका सहनिर्देशक डा.प्रज्वल श्रेष्ठले भने।

५५ प्रतिशत बालबालिकाले लगाए पूर्ण डोज खोप

काठमाडौं । ५५ प्रतिशत बालबालिकाले कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। सरकारले देशभर १२ देखि १७ वर्षसम्मका करिब ३४ लाख बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य लिएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले बताए।

९ माघसम्म १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुमध्ये ७९ प्रतिशतले पहिलो मात्रा र ५५ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

कुन प्रदेशमा कति बालबालिकाले लगाए कोभिडविरुद्धको खोप ?

प्रदेश १ मा ७० प्रतिशत बालबालिकाले पहिलो डोज खोप लगाएका छन् भने ५० प्रतिशले पूर्ण डोज खोप लगाएको मन्त्रालयले जनाएको छ।

मधेश प्रदेशमा ६१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ४४ प्रतिशतले डोज लगाएका छन्।

त्यसैगरी, बागमतीमा ७७ प्रतिशत बालबालिकाले पहिलो डोज र ६७ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन्।

गण्डकीमा ८७ प्रतिशतले पहिलो र ७५ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन्।

लुम्बिनीमा ७२ प्रतिशतले पहिलो र ५४ प्रतिशतले दोस्रो (पूर्ण) डोज खोेप लगाएका छन् भने, कर्णाली प्रदेशमा ६० प्रतिशत बालबालिकाले पहिलो र ४७ प्रतिशतले पूर्ण खोप खोप लगाएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, सुदुरपश्चिममा भने ६४ प्रतिशतले पहिलो र ५२ प्रतिशतले पूर्ण खोप लगाएका छन्।

गम्भीर समस्याबाट बचाउन खोप 

१८ वर्ष माथिका लक्षित समुहको ८४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने ६५ प्रतिशतले पूर्ण डोज खोप लगाएको सहप्रवक्ता डा. अधिकारीले बताए। उनी भन्छन्, “१८ वर्षमाथिका व्यक्तिहरुले पछिल्लो समय खोपमा सहभागिता बढाएका छन्, अघिल्लो हप्ताभन्दा यो हप्तामा पहिलो मात्रा खोप लगाउनेको संख्या ३ प्रतिशतले र पूर्ण मात्रा खोप लगाउनेको संख्या ४ प्रतिशतले वृद्धि भएको छ।”

सरकारले आउँदो चैतसम्म १८ वर्षमाथिको शतप्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको उनले बताए। ‘‘तर, प्रदेश अनुसार खोप लगाउनेको कभरेज हेर्दा खोपको लक्ष्य प्राप्तिका लागि खोप कार्यलाई अझै दु्रत बनाउन आवश्यक रहेको छ,” उनले भने, “यसका लागि स्थलगत रणनिति बनाएर सरकारवालाहरुसँग सम्वन्य गर्दै खोप कार्यलाई तिव्रता दिनुपर्छ।’’

संक्रमणले ल्याउन सक्ने जटिल समस्याहरुबाट जोगिनका लागि पूर्ण डोज खोप लगाउनुपर्ने आग्रह स्वास्थ्य विज्ञहरुले बारम्बार गर्दै आइरहेका छन्। डा. अधिकारीकाअनुसार कोभिड १९ बाट गम्भीर समस्या भएर अस्पताल भर्ना हुनेमा खोप नलगाएका व्यक्ति धेरै छन्। ‘अहिले त झन् ओमिक्रोन भाइरस फैलिरहेको अवस्था छ। त्यहीकारण पनि खोप लगाउनु अनिवार्य छ,’’ उनले भने,”‘‘माघ ८ गते एकै पटक १६ जना संक्रमितको मृत्यु भयो । ती मध्ये १३ जनाले खोप नै लगाएका थिएनन्।”

वीर अस्पतालका सहनिर्देशक डा.प्रज्वल श्रेष्ठले पनि संक्रमण पुष्टि भएर अस्पताल भर्ना हुन आउने अधिकांश व्यक्तिहरूले पूर्ण खोप नलगाएको पाइएको बताए। खोप नलगाउनेको तुलनामा लगाएकाहरुमा स्वास्थ्य समस्या निकै कम देखिएको उनले बताए।

नेपालमा हालसम्म खरिद र अनुदानमार्फत ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप आइसकेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved