नेपाल भर्सेस मौरिसस : प्रशिक्षकको नयाँ रणनीति, युवा खेलाडीलाई मौका

नेपाल भर्सेस मौरिसस : प्रशिक्षकको नयाँ रणनीति, युवा खेलाडीलाई मौका

काठमाडौं। नेपालको राष्ट्रिय फुटबल टिमले यसै महिना मौरिसससँग दुई ओटा मैत्रीपूर्ण म्याच खेल्दैछ। खेल नेपालकै घरेलु मैदान दशरथ रंगशालामा १५ र १८ माघमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय गरेको छ।

विश्व फुटबल महासंघ (फिफा) को वार्षिक क्यालेण्डरअनुसार ‘इन्टरनेशनल म्याच डे’ मा यी खेल सञ्चालन हुन लागेका हुन्। जसका लागि जारी घरेलु प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग पनि रोकेर हाल राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्प शुरु गराइएको छ।

नेपाली टिमका प्रमुख प्रशिक्षक अबदुल्ला अलमुताइरीले पहिलो चरणको प्रशिक्षणको लागि छानेका ३४ सदस्यीय टिम हाल प्रशिक्षणमा छ। मंगरबारदेखि शुरु बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबोटो मैदानमा जारी छ।

मौरिसससँगको उक्त खेल हार वा जितका लागिभन्दा पनि आसन्न ठूला प्रतियोगिताहरूको अभ्यासका लागि भएको प्रशिक्षक अलमुताइरीले बताए, “यो खेलमा म नयाँ रणनीतिको प्रयोग गर्दैछु। मेरो प्रमुख लक्ष्य भनेको एशिया कप छनोट र अर्को वर्षको विश्व कप छनोट हो। विश्व कपको दोस्रो चरणसम्म पुग्ने हाम्रो लक्ष्य छ।”

शुरुमा पहिलो चरणको बन्द प्रशिक्षणको लागि अलमुताइरीले ३४ खेलाडी छनोट गरेका थिए। तर ‘ए’ डिभिजन लिगमा केही खेलाडीहरूलाई कोभिड संक्रमण देखिएको र केही चोटग्रस्त बनेपछि उनले थप नयाँ खेलाडीलाई टिममा बोलाए।

पहिला टिममा रहेका मध्ये आयुष घलान र दिनेस हेम्जन स्वास्थ्यका कारण र कमल थापा पारिवारिक कारणले बन्द प्रशिक्षणमा सहभागी हुन नसकेका एन्फाले जनाएको छ। त्यसैले तीन मिडफिल्डर, नवप्रवेशी क्लब सातदोबाटोका प्रशान्त अवस्थी, नेपाल आर्मी क्लबका जगजित श्रेष्ठ र च्यासल युथ क्लबका आशीष राईलाई टिममा बोलाइयो।

खेलाडी छनोटको विषयमा प्रशिक्षक भन्छन्,“जब म लिग (शहीद स्मारक ‘ए’ डिभिजन) अवलोकल गरिरहेको हुन्थें म कुनै पनि खेलको उत्कृष्ट खेलाडी वा गोलकर्तालाई हरिरहेको थिइनँ, म त्यस्तो खेलाडीलाई नजरमा राखिरहेको थिएँ जो मेरो सिस्टममा र फर्मेसनमा आफूलाई ढाल्न सकूँ।”

आफूले जारी लिगको हरेक म्याच चार पटकभन्दा बढी हेरेको र आफूलाई चाहिने खेलाडी लिगको चौथो राउण्डपछि नै छनोट गरिसकेको पनि उनले बताए।

अलमुताइरी नेपालको प्रशिक्षक भएर आएदेखि नै युवा खेलाडीलाई मौका दिइरहेका छन्। जसकारण धेरै खेलाडीहरूले राष्ट्रिय टिमबाट डेब्यू गर्ने मौका पाएका थिए। यो पटकको मैत्रीपूर्ण खेलमा पनि युवा खेलाडीहरूले क्षमता देखाउने मौका पाउने उनको भनाइ छ, “मलाई मैत्रीपूर्ण खेलको जित वा हारको नतिजाले केही फरक पर्दैन, यो खेल विशेषगरी नयाँ खेलाडीलाई सिक्नका लागि हो, त्यसैले यसमा नयाँ खेलाडीहरूलाई धेरै मौका दिन्छु।”

बन्द प्रशिक्षणको ३४ सदस्यीय शुरुआती टिममा यसै पनि नौ जना नयाँ खेलाडीहरूले पहिलो पटक ठाउँ पाइसकेका छन्। यीमध्ये कतिले अन्तिम स्कावडमा ठाउँ पाउँछन् र कति जनाले डेब्यू गर्छन्, त्यो हेर्न बाँकी नै छ।

जारी ‘ए’ डिभिजन लिगको पुछारमा रहेका दुई क्लब ब्रिगेड ब्वाइज र फ्रेण्डस् क्लबबाहेक बाँकी १२ ओटा क्लबका कम्तीमा एक खेलाडी पहिलो चरणको यो बन्द प्रशिक्षणमा समावेश छन्। लिग चलिरहँदा च्यासल युथ क्लबका १९ जना खेलाडीहरूमा कोभिड संक्रमण पुष्टि भएको थियो। जसकारण च्यासल र नेपाल पुलिस क्लबबीचको खेल नै रद्द भएको थियो। जारी लिगमा एकै टिमका यति धेरै खेलाडीमा कोभिड भएपछि यसले राष्ट्रिय टिमको तयारीमै असर पर्ने हो कि भन्ने शंका पनि थियो।

तर हाल बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीको कोभिड परीक्षण नेगेटिभ आएको एन्फाले जनाएको छ।

प्रशिक्षक अलमुताइरी विशेषगरी नेपाली फुटबल समर्थकमाझ निकै लोकप्रिय छन्। उनी राष्ट्रियताका पनि पक्षधर हुन्। नेपाली टिमको प्रशिक्षक भएयता नेपाली खेलाडीको खेल कौशलसँगै खेलाडी र समर्थकमा पनि राष्ट्रियताको भावना बढाउने विभिन्न काम उनले गरिरहेका छन्।

अन्तर्राष्ट्रिय म्याच दौरान उनी आफै पनि नेपालको राष्ट्रिय गान गाइरहेका हुन्थे। खेलमा मात्र होइन उनले प्रशिक्षण दौरान पनि हरेक दिन प्रशिक्षण शुरु हुनु अघि राष्ट्रिय गान गाउनुपर्ने नियम बनाएका छन्। नेपालको प्रतिद्वन्द्वी मौरिसस एक अफ्रिकी राष्ट्र हो। नेपालले अफ्रिकी देशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको यो पहिलो अवसर हो।

नेपाल फिफा वरीयता क्रममा मौरीससभन्दा तीन स्थान माथि छ। नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रङ्गशालामा पछिल्लो पटक गत सेप्टेम्बर २ र ५ तारिखमा भारतसँग खेलेको थियो। जसमा पहिलो खेलमा भारतलाई बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा भने पराजित भएको थियो।

राष्ट्रिय टिमको अन्तिम खेल भने गत अक्टोबर १६ मा मालदिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल थियो। जसमा पनि नेपाल भारतसँग ३–० ले पराजित भएको थियो।

बन्द प्रशिक्षणमा रहेका ३४ खेलाडी

गोलकिप्परः किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दिप कार्की, शत्रुघन चौधरी, टिकेन्द्र थापा
डिफेण्डरः सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, नविन गुरुङ, गौतम श्रेष्ठ
मिडफिल्डरः सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, विशाल राई, आकास बुढा मगर, सुबास गुरुङ, सुदिप गुरुङ, नितिन थापा, पुजन उपरकोटी, क्रितिस रत्न छुन्जु, सुरज जिउ ठकुरी, दर्शन गुरुङ, जगजित श्रेष्ठ, आशिष राई, प्रशान्त अवस्थी
फरवार्डः अन्जन विष्ट, बिमल घर्ति मगर, आशिस लामा, सुमन लामा, सुनिल बल, मनिष डांगी, सन्तोष तामाङ, शुसिल राई

तस्वीहरू : एन्फा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved