अर्को पाटो

“चित्रकलामा फर्किने मन छ”

“चित्रकलामा फर्किने मन छ”

२०४८-०४९ सालसम्म प्रदर्शनीमार्गस्थित टुकुचाको पुल छेउ कवि विमल निभाको पुस्तक पसल थियो– ‘साहित्य घर’। तत्कालीन समय अर्का कवि श्यामल नियमितजसो नै जान्थे, त्यहाँ। एक दिन अचानक आख्यानकार रमेश विकल र समालोचक आनन्ददेव भट्ट पनि त्यहीँ आइपुगे।

श्यामललाई देख्ने बित्तिकै विकलले भने, ‘श्यामल, तिम्ले स्केच गर्छौ भन्ने सुनेको थिएँ, राजा वीरेन्द्रको स्केच पाँच वटा लाइनमा बनाएर देखाऊ त।’

कुनै चुनौती थिएन, श्यामलका निम्ति। उनले पाँच वटा लाइनमा राजा वीरेन्द्रको स्केच बनाएर देखाइदिए। विकल स्वयं पनि राम्रा चित्रकार थिए। थुप्रैका स्केच कोरेका थिए, उनले पनि।

करिब तीन दशकअघिको यो प्रसंगको याद आउँदा श्यामल आफ्नै जन्मथलो दैलेखतिर फर्किन्छन्। भन्छन्, ‘मलाई अधिकांशले कविका रूपमा चिन्छन्। तर दैलेखमा छँदा कविता र चित्रकला मैलै एकै पटक थालनी गरेको हुँ।’

कलाको कुरा उप्किने बित्तिकै उनी आमालाई सम्झिन्छन्। किनभने, उनको आमाको नाम नै कलावती थियो। भन्छन्, ‘त्यस्तो विकट ग्रामीण भेगमा मेरी आमाको नाम कलावती राखिनु पक्कै पनि त्यो समुदायको कुनै उच्च चेतनाको कुरा हुनुपर्छ।’

विद्यालय तहमा अध्ययन गर्दादेखि नै उनी कलाप्रति आकर्षित भए। माटो मुछेर त्यसलाई मानव आकृतिमा ढाल्न खुबै रुचाउँथे। अझ, पाठ्यपुस्तकहरूमा राखिएका चित्रले त उनलाई कलाप्रति मोह नै जगाइदियो। भन्छन्, ‘हामीले पढ्ने पुस्तकका चित्रहरू प्रायः काठमाडौंकै कलाकारले बनाएका हुँदा काठमाडौं वरपरका जनजीवन झल्किन्थे।’ त्यो समय पाठ्यपुस्तकहरूमा कलाकार केशव दुवाडीका पाठमा आधारित स्केचहरू हुने गर्थे। काठमाडौं आएपछि केके कर्माचार्य, उज्ज्वलकुन्दन ज्यापु र टेकवीर मुखियाजस्ता नामी कलाकारहरूसँग कामविशेषले बरोबर भेटघाट हुने गथ्र्यो। कलाकर्मीहरूसँगको उठबसले पनि उनी कलाप्रति एकोहोरिँदै गए।

दैलेखमा हुँदा आरम्भमा उनी जङ्गलका सल्लाको बोक्रा वा आलु देख्दा त्यसलाई कलारूपमा लैजाने प्रयत्न गर्थे। त्यतिबेला प्रस्तरकला र काष्ठकलाको प्रारम्भिक अभ्यास पनि गरे। तर तिनले कहिल्यै पूर्णता पाएनन्, अधुरै रहे। कलाकारिता फस्टाउन उत्प्रेरक वातावरण नपाएपछि हुने यही नै हो।

हुन पनि तीसको दशकतिर ‘म कलाकार बन्छु’ भन्ने आँट दैलेखजस्तो पिछडिएको ठाउँमा कसले भन्न सक्थे होला र ? उनी भन्छन्, ‘म सुब्बा वा खरिदार बन्छु भन्दा सबैले सह्राहना गर्थे। किनभने त्यतिबेला जिल्लाको मालपोतको हाकिम नै खरिदार हुन्थे। हुलाकको हाकिम मुखिया हुन्थे। म त्यस्तो समय र परिवेशका बीच कलाप्रति आकर्षित भएको थिएँ।’

गाउँमा छँदा कलासम्बन्धी अध्ययन गर्ने वातावरण थिएन। भन्छन्, ‘फोटोग्राफी पनि एउटा कला रहेछ भन्ने मैले धेरै पछिमात्र बुझेँ। पहिला त फोटोग्राफी लेन्सको काम होला भन्ने लाग्थ्यो। दृष्टिकोणमा अचम्मैको भिन्नता थियो त्यतिबेला।’

काठमाडौं आएपछि भने उनको संगत कवि–लेखकहरूसँग भयो। मूलतः प्रगतिशील वृत्तका। उनमा कविता लेख्ने सीप मात्र होइन, कलासम्बन्धी सीप र ज्ञान छ भन्ने समकालीन साथीहरूले थाहा पाए। त्यही क्रममा रमेश विकल र खगेन्द्र संग्रौलाले आफ्नो एउटा किताबको आवरणमा उनको कला राख्न चाहे। श्यामलले केही साहित्यिक पुस्तकका आवरणसमेत बनाएका छन्।

उनको कलाशिल्प र चेत बुझेका साहित्यकार रमेश विकलले आफ्नो एउटा न एउटा पुस्तकको आवरण–कला उनकै सजाउन चाहे। एक दिन भने पनि, ‘श्यामल, तिम्ले मेरो एउटा किताबको आवरण चित्र बनाइदिनै पर्छ।’

उनले विनम्रतापूर्वक टार्दै भने, ‘दाइ, मसँग कुनै उपकरण छैनन्। कसरी बनाउन सक्छु र ?’

तर, धेरै पछि २०५३ सालतिर आख्यानकार नयनराज पाण्डेले आफ्नो उपन्यास ‘उलार’ को आवरण चित्रका लागि भने उनलाई नै सम्झिए। उनको र नयनको एउटै भूगोल थियो– मध्यपश्चिम। अर्थात् त्यसको केन्द्र नेपालगञ्ज। एक दिन पाण्डेले मुखै उघारेर भने, ‘यति त गरिदिनै पर्छ दाई।’

‘मसँग कुनै टुल्स नै छैन। न ब्रस, न रङ। कसरी बनाउन सक्छु र ?’ उनले भने। हुन पनि २०५० सालको वर्षाले श्यामलको कला–उपकरणहरूमाथि नराम्रो धावा बोलेको थियो। मनमती खोलाको बाढी उनी बस्ने बाफलको डेराभित्र पसेर ब्रस, रङ्ग, क्यानभास र बहुमूल्य पुस्तकहरूको संग्रह बगाइदिएको थियो।

श्यामलको कलाकारिता बुझेका पाण्डेले कर गर्दै भने, ‘टुल्स नभएर के भो र ? अहिल्यै किन्न जाऊँ।’ दुवै न्यूरोडस्थित कागजकोठीमा पुगे। १४ सय रूपियाँ तिरेर रोटेटिङ पेन, ट्रेसिङ पेपर र ड्रइङ्ग पेपर लगायतका आवश्यक उपकरण किने। त्यसपछि दुवै लागे, कोजी होटलतिर। त्यही नै श्यामलले ‘उलार’ को आवरण चित्र तयार पारे। पछिल्ला संस्करणमा भने दुर्गा बरालको कला सजिएको छ।

उनले थोरै मात्र बनाएका छन्, आवरण कला। तर उत्कृष्ट र स्मरणीय। आख्यानकार नारायण ढकालको ‘शोकमग्न यात्रीहरू’ को पहिलो संस्करणको आवरण सज्जामा पनि उनकै मिहिनेत पोखिएको छ।

‘पेन्टिङ भनेको टेक्निक मात्र होइन।’ यस्तो विचार राख्ने श्यामलले विश्व र नेपाली कलाबारे राम्रै अध्ययन गरेका छन्। भन्छन्, ‘मैले पाब्लो पिकासो, मोने, रेम्ब्राण्ट, साल्भाडोर डाली आदि कतिपय विश्वविख्यात कलाकारहरूको जीवनीको थुप्रै पुस्तक पढेकोे छु।’ कलामा फरक दृष्टिकोण तत्काल र स्पष्ट रूपमा आउने पनि उनको धारणा छ।

रङ, ब्रस र क्यानभाससँग उनले पारपाचुके गरेको करिब ८–१० वर्ष नै भइसक्यो। अल्झिए केके काममा, काममा। भन्छन्, ‘साँच्चै, यो अवधिमा मैले कलामा कुनै काम नै गर्न पाइनँ।’ खासमा, २०६२-०६३ को जनआन्दोलनको बेला सामाखुसी र गुरुकुलको प्राङ्गणमा उनले रङ र ब्रस खेलाएयता कुनै खास कलारचना गरेका छैनन्। त्यतिबेला सडकमा उत्रिएका कलाकर्मीहरूले तत्कालीन निरंकुशतन्त्र विरुद्ध साहित्य, सङ्गीतका साथै कलामार्फत् पनि प्रतिरोध उकेलेका थिए। त्यही क्रममा नै उनले ती दुई ठाउँमा आयोजित कला सिर्जना र प्रर्दशनीमा आफूले बाल्यकालदेखि नै अँगालेको विधालाई प्रस्फुटित हुने अवसर दिएका थिए।

पछिल्लो समय भने उनमा कलाप्रति आकर्षण बढेको छ। केही पेन्टिङ बनाउने इच्छाका भुल्काहरू पनि उठेका छन्। भन्छन्, ‘मैले कविता, कथा र कलाको यात्रा सँगसँगै थाले पनि पछिल्लो समय भने कलासँग पूरै टाढिएँ। अब भने वर्षमा दुइटा पेन्टिङ गर्ने विचारमा छु।’

यही विचारलाई मूर्त रूप दिन उनले वरिष्ठ कलाकर्मीहरू शंकरनाथ रिमाल र केके कर्माचार्यसँग पनि परामर्श लिए। ती परामर्श परामर्शमै सीमित छन्, अहिलेसम्म। भन्छन्, ‘अरू कलाकर्मीको घरमा छिर्ने बित्तिकै भर्‍याङका भित्ताहरूमा आफ्ना कला सजाउँछन्। मलाई पनि आफ्नो घरका कुमारी भित्तालाई आफ्नो कलाले सजाउने रहर छ। म यो रहर पूरा गर्नेछु।’

‘जीवन स्वयं एक कला हो’, श्यामल भन्छन्, ‘रोम, भेनिस, एथेन्स, वार्साजस्ता विश्वका नामी प्राचीन सहरहरू कलाले बनेका छन्, हाम्रै काठमाडौं उपत्यकाका पुराना सहरहरू कलाका उत्कृष्ट नमुना हुन्। तर पछिल्लो समय नेपाले सहरहरू कङ्क्रिटका थुप्रा बन्दैछन्। फोहोरले कुरूप सहरले मानिसलाई आकर्षित गर्दैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved