स्मृतिशेष

असङ्ख्य मालीलाई रुवाएरै गए कुमार…

बितेर गए पनि नेपालीभाषीहरूमाझ उनका हरेक गीतका स्वरलहरी वर्षौंवर्षसम्म गुन्जिरहनेमा कुनै सन्देह छैन। संख्यात्मक रूपमा उनले थोरै गाए तर प्रत्येकका हृदय र मस्तिष्कलाई गहिरो स्पर्श गर्ने गरी गाए।

नेपालभ्युज

असङ्ख्य मालीलाई रुवाएरै गए कुमार…

‘हे फूल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि…’

नेपाली सङ्गीताकाशमा सदाबहार गुन्जिँदै आएका केही गीतमध्ये पर्दछन्, यो गीत पनि। तीसको दशकदेखि नै। लेखेका थिए, दार्जीलिङका मनबहादुर मुखियाले। ‘अनि देउराली रुन्छ’ नाट्यकृतिका लागि। यद्यपि, यो गीतलाई सदाबहार बनाउने श्रेय पाए, कुमार सुब्बाले।

केही दिनअघिबाट (२०७१ माघ १) भने ‘फूल चुँडिदा’ आँसु बगाउने सुमधुर र कालजयी गीतहरूका स्वरसाधक सुब्बा हामीबीच रहेनन्। केही वर्षयता अस्वस्थ उनी ७५ वर्षसम्म बाँचेर बिदा भए, सदाका निम्ति।

बितेर गए पनि नेपालीभाषीहरूमाझ उनका हरेक गीतका स्वरलहरी वर्षौंवर्षसम्म गुन्जिरहनेमा कुनै सन्देह छैन। संख्यात्मक रुपमा उनले थोरै गाए तर प्रत्येकका हृदय र मस्तिष्कलाई गहिरो स्पर्श गर्ने गरी गाए।

लाग्छ, उनको दुःखद अवसानले फूल सजाउने माली मात्र रोएनन्। फूलको सौन्दर्यप्रति मोहित पारखीहरू पनि रोए। बहुसङ्ख्यक थिए-छन्, उनका स्वर–पारखी। सामान्यदेखि बौद्धिक तप्कासम्मै। नभए, दशकअघि लेखक खगेन्द्र संग्रौलाले आफ्ना सुपुत्रको अमेरिका–प्रवासको समय लेखेको एउटा निबन्धमा यही गीतलाई उद्घृत गर्दैनथे होलान्, ‘यहाँ माली रोएको देख्यौ कि… ?’

गीत–सङ्गीतमा प्रेमभाव रेखाङ्कित हुन्छन्, मानवीय जीवनका पीडाहरू छचल्किन्छन् र आउँछन्– मानवीय संवेग र आवेगका तरङ्गहरू पनि। गोपाल योञ्जन, कर्म योञ्जनका समकालीन, गायनकर्ममा सदैव तल्लीन सुब्बाका गीतहरूमा पनि तिनै मानवीय जीवनका तरङ्गहरू भेट्न सकिन्छन्, छाम्न सकिन्छ।

त्यसो त, सामाजिक एवं पारिवारिक मर्यादाको घेराभित्र रहेर सङ्गीत साधना गर्ने गायकको लहरमा उनलाई उभ्याउन सकिन्छ। माया–प्रेमकै गीत गाए पनि उनले उच्च सौन्दर्यले भरिपूर्ण गीत गाए। सुन्दा हलुङ्गोजस्तो लाग्ला तर ‘देउरालीकी ठिटी हो नक्कल पार्नु पर्दैन…’ ले नेपाली संस्कृतिको उच्च प्रतिनिधित्व गरेको छ।

केही गीतमा निम्न वर्गका आवाजलाई पनि उनले स्वरबद्ध गरे। ‘सारङ्गीको तारले’ भनौं वा ‘मेरो सानो मुरलीले’। यस्ता अनेक गीतमा निम्न वर्गका संवेदना सहजै भेट्टाउन सकिन्छन् र देशप्रेम पनि उत्तिकै। नभए यी शब्दमा उनले यस्तो नादलाई अँगाल्ने थिएनन्, ‘गुराँसको मेरो जोवान, लालुपाते हाँसु भन्छ…।’

जनजीवनका कथा–व्यथालाई स्वराङ्कन गर्न पनि अग्रसर देखिए, उनी। यी दुई हरफले त्यही सङ्केत दिन्छ, ‘टुङ्नाको भाका गोठालासँगै दुःखले मरेछ-बारुली कम्मर मर्काउनेलाई भारीले थिचेछ।’

पक्कै पनि, उनको स्वरको माधुर्य स्पर्श पाएपछि शब्द पनि जीवन्त रुपले सल्बलाउँथे। यस्तो हुनुमा उनको गायनप्रतिको निष्ठा, जीवन्तता र एकाग्रता नै मुख्य कारण थियो। एउटा गीतको दृष्टान्त हेरौं,
‘हिमालको चोखो हावामा हुर्केको मेरो गीत
छहराको चिसो पानीले भिजेको मेरो प्रित
छाती फुकाई गाउँछु म अग्लो पहाडझैं
सुनाखरीझैं पखेरुमा फुलेको मेरो प्रित…।’

सन् १९६८ मा आकाशवाणी खर्साङमा वरिष्ठ गायकका रुपमा प्रवेश गरेका उनले पछि रेडियो नेपालमा आएर कालजयी गीत गाए। दशकअघि नेपालयको ‘पलेँटी शृङ्खला’ मा समेत प्रत्यक्ष प्रस्तुति दिएका थिए उनले। सङ्गीतसाधक आभास उनलाई सम्झिँदै भन्छन्, ‘उहाँ नेपाली आधुनिक गायनमा छुट्टै पहिचान भएको गायक हुनुहुन्थ्यो। गायनशैली र स्वरमा उच्च गुण भएको गायक हुनुहुन्थ्यो।’

सुब्बालाई भेट्न दार्जीलिङ पुगेको बेला दिनभरि नै हारमोनियममा स्वराभ्यास गरेको देखेर आफू चकित परेको बताउँदै आभास भन्छन्, ‘उहाँको सादगीपूर्ण व्यवहारले हामीलाई निकै प्रभावित तुल्याएको थियो। उहाँलाई गोपाल योञ्जनका गीतहरू कण्ठस्थै आउँथ्यो। सङ्गीतप्रति उहाँको आजीवन साधनालाई हामीले सदैव सम्मान गर्नुपर्छ।’

दार्जीलिङमा जन्मिएर नेपाली गीत–सङ्गीतप्रति गहिरो समर्पणभाव राख्ने सुब्बा ‘सुगम सङ्गीत’ का अब्बल प्रतिनिधि नै थिए। तीसको दशकदेखि नै सङ्गीत क्षेत्रमा भिजेका उनी नेपाली आधुनिक सङ्गीतलाई नौलो उचाइ दिने पूर्ववर्ती पुस्ताका गायक थिए। साथै, उनको सुरम्य स्वर वर्षौंयता हरेक नेपालीभाषीका घर–आँगनमा गुन्जिँदैसमेत आएको छ।

जीवनको उत्तराद्र्धतिर, कला–साहित्य राजनीति निरपेक्ष हुँदैन भन्ने दृष्टान्त उनी स्वयं बनेका थिए। सन् २०१३ मा उनले पश्चिम बंगाल राज्य सरकारबाट प्रतिष्ठित ‘सङ्गीत सम्मान’ पाएका थिए। तर केही वर्षको अन्तरालमै प्रान्तीय सरकारको कदमप्रति असहमति जनाउँदै उनले सन् २०१७ मा सो सम्मान फिर्ता गरे। दार्जीलिङ, कालिम्पोङलगायत पश्चिम बङ्गालको पहाडी इलाकामा बसोवास गर्ने लाखौं नेपालीभाषीप्रति पश्चिम बङ्गाल सरकार अनुदार रहेको ठहर गर्दै उनले सो सम्मान फिर्ता गरेका थिए। यद्यपि, केही वर्षदेखि भारत सरकारले अपनाएको असहिष्णुता, कट्टरता र जनतान्त्रिक मूल्यहरूमाथि निषेधको विरुद्धमा पनि केही स्रष्टा-सर्जकले साहित्य अकादेमीजस्ता पुरस्कार फिर्ता गर्ने लहर नै चलेको थियो। सम्भवतः सुब्बाको उक्त कदम पनि शक्ति र सत्तामा रहनेहरूमा बढ्दै गएको असहिष्णुताप्रतिको तिखो अस्वीकृति थियो।

निःसन्देह, मानसिक स्तरमा दीर्घकालसम्म छाप छोड्ने स्वरसाधकको पंक्तिमा उनलाई उभ्याउन कन्जुस्याइँ गर्नु हुँदैन। किनभने, उनको स्वर र गायनशैली नैसर्गिक थियो।

अतः सङ्गीत पारखीहरूका हृदयलाई गहिराइसम्मै पुगेर छुने गायन–प्रतिभा सुब्बाको दुःखद अवसानबाट नेपाली सङ्गीत जगत्ले कालान्तरसम्मै एक होनहार प्रतिभाको अभाव महसुस गरिरहने छ। उनले गाएको एउटा गीत छ, ‘पहाड अझै सुकेको छैन है, पानी छ कतै पानी छ-बगेको खोला रुकेको छैन, जानु छ कतै जानु छ।’

उनले गाएजस्तो ‘बगेको खोला रोकिएको छैन’ नभई उनको देहावसानले नेपाली सङ्गीत धरामा बगिरहेको एउटा खोला भने अवश्य नै, एकाएक रोकिन पुगेको छ।

नेपाली सुगम सङ्गीतको वृहत् परिदृश्यमा उनको प्रतिभा सदैव अङ्कित रहने छ, विना दुईमत। दिवङ्गत सुब्बाप्रति हार्दिक आदराञ्जलि।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved