काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनवटै तहको निर्वाचन एकैपटक गर्ने प्रस्ताव ल्याएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रचण्डले यस्तो प्रस्ताव ल्याएको एक नेताले नेपाल भ्युजसँग बताए।
‘‘ एकै पटक तीन तहको निवार्चन गर्दा केही झन्झट हुने भएपनि राज्यको आर्थिक बचत हुन्छ,” दाहाललाई उधृत गर्दै ती नेताले भने, “उहाँले संघीय र प्रदेश निवार्चन स्थानीय तहको निवार्चनअघि गर्न मिल्दैन भने तीन तहको निवार्चन एक पटक गर्ने प्रस्ताव गर्नुभएको छ।” यसअघि प्रचण्डले वैशाखमा प्रतिनिधिसभा निर्वाचन र मंसीरमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव ल्याएका थिए।
विज्ञसँग छलफल गर्ने सहमति
स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर नयाँ निर्वाचन गराउने भन्ने विषयमा दुविधा देखिएकाले त्यसको निक्र्यौंल गर्न निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढने सहमति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्नेबारे छलफल भयो । संविधान र कानुनमा केही द्विविधा रहेको, त्यो द्विविधालाई कसरी हटाउने भन्नेबारे छलफल भयो। स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन निर्वाचनलाई सुरु मिति मानेर पाँच वर्ष पूरा भएको भन्ने अन्यौल रहेको छ। त्यस सम्बन्धमा सत्तारुढ गठबन्धनले संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने समझदारी बनेको छ। निर्वाचनलाई मितव्ययी बनाउन तीन तहको निर्वाचन एकैपटक गर्ने कि भन्नेबारे पनि छलफलमा विषय उठेको छ,’ मन्त्री कार्कीले भने।
Facebook Comment
Comment