इजरायल जानेहरूलाई श्रममन्त्रीको बिदाइ, तलब २ लाख प्रतिमहिना

नेपालभ्युज

इजरायल जानेहरूलाई श्रममन्त्रीको बिदाइ, तलब २ लाख प्रतिमहिना
तस्वीर : त्रिभुवन विमानस्थालमा इजरायल जानेहरूलाई बिदाइ गरिँदै

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गई बिदाइ गरेका छन्।

निजी क्षेत्र तथा बिचौलियारहित सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुगेका थिए।

पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरूलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्जत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे। उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक-पटक प्रयास भए पनि आफ्नो कार्यकालमा सफलता प्राप्‍त भएको बताए।

मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरे।

६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्।

यसपछि १५ र १६ माघका दिन दुई उडान हुनेछ। वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मंसीरमा ६ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो।

छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो।

इजरायल जाने नेपालीले मासिक करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्। मन्त्री श्रेष्ठले सुरक्षित, पारिश्रमिक तथा सेवा-सुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved