काठमाडौं। पूर्वमन्त्री जयप्रकाश गुप्ताले सीके राउतका गतिविधिले आगामी चुनावमा उपेन्द्र यादवसहित ‘मठाधीश मधेसी पार्टीहरू’को सीट खोसिने विश्लेषण गरेका छन्। पछिल्लो समय सक्रिय राजनीतिबाट अलग भएर सप्तरीमै खेतिपाति गरी बसिरहेका राजनीतिक विश्लेषक गुप्ताले मधेश बलिदान दिवशमा यस्तो विश्लेषण गरेका हुन्।
‘सीके राउतका गतिविधिलाई धेरैले नोटिसमा राखेका छन्। शायद मधेसी कित्ताबाट यिनको प्रहार विशेषत: उपेन्द्र यादवप्रति केन्द्रित देखिन्छ,’ उनको विश्लेषण छ, ‘मधेसमा लोकप्रिय मानिएको ‘लाठी जुलुस’मा जनमत पार्टीले हिस्सेदारी बढाउदै गएमा आउँदो निर्वाचनमा २/४०० भोटको अन्तरबाट जितेका मठाधीश मधेसी पार्टीहरूको उल्लेख्य सीट खोसिनेमा शंका नरहला।’
एक वर्षभित्र पाँच ओटा मधेसी पार्टी मिलेर ‘राजपा’ बनाएको उल्लेख गर्दै उनले आफ्नो फेसबुक वालमा लामो स्ट्याटस लेखेका छन्, ‘यो राजपा उपेन्द्र यादवसँग मिलेर ‘जसपा’ बनाए। जसपाबाट महन्थ र राजेन्द्र महतो अलग भएर ‘लोसपा’ बनाए। अब लोसपाबाट राजेन्द्र महतो लगभग अलग्गिएको अवस्था छ। यसको समानान्तर उपेन्द्र यादवको जसपाबाट डा. बाबुराम भट्टराई बाहिरिने निश्चित नै छ। अशोक राईसँगै उपेन्द्रको पार्टीमा गएका भोजपुरका हेमराज राई राष्ट्रियसभा उम्मेदवार बनाइएका छन्। यस चुनावको समाप्तिपछि सायद अशोक राईले डा. बाबुरामसँग आफ्नो पोजिशन स्पष्ट पार्ने होला। तर, मुहूर्त जुन दिनको बनोस्, यो सन्निकट छ कि जसपामा अर्को बिभाजन अवश्यम्भावी छ।’
गुप्ताको भनाइको पूर्ण पाठ :
आज मधेसमा बलिदान दिवस मनाईदैछ। प्रादेशिक सरकारले सप्ताह भित्र तेस्रो दिन सार्वजनिक बिदा उपभोग गरिरहेको छ।
जनकपुर चुरोट कारखानाको बिपूल अचल सम्पतिलाई प्रदेश सरकारको मुख्यालय घोषित गर्ना साथै तेस सरकारले “खेत खेतमा पानी र हात हातमा रोजगार” दिने स्वप्न सार्वजनिक गरेको थियो। पथलैया देखि कोशी व्यारेजसम्मको राजमार्ग खण्डमा उक्त नाराको हजारौ ‘होर्डिंग’ बोर्डहरू खडा गरियो, जुन अहिले देखिन्न्। बरू यस बीच मलको हहाकारमा हजारौं किसानहरू लाठी मुंग्रो लिएर संघीय र प्रादेशिक सरकारका बिरूद्ध सडकमा ओर्ले।
प्रादेशिक सरकारले आफ्नो सुरक्षाका लागि उनै द्वारा घोषित शत्रुको बूँई चढेर पनि सरकारमा रहेको छ। शुरूआती बर्षहरूमा दुबै मधेसी पार्टीले एमालेको सहयोग प्राप्त गरे, पछि काँग्रेस र माओवादीले टेको दिए। अर्को मधेसी दल, जो संगको गठबन्धनले यिनीहरू मधेसका ठूलो पार्टी बनेका थिए-तिनलाई मधेस भवनबाट बहिर्याए। लोसपा बनाएर महन्थ ठाकुर र राजेन्द्र महतोहरू प्रतिपक्षमा पुगेका छन्। समिकरण, सहकार्य र गठबन्धनमा मधेसी पार्टीहरू महारत हासिल गरेका छन्। यस अघि रिक्त रहेको संघीय संसदको राष्ट्रिय सभा सदस्यमा एमालेसंग मिलेर आफ्ना मानिसलाई सशुल्क बिजयी गराए। अबको केही दिन भित्रै हुने अर्को चुनावमा काँग्रेस र माओवादीसंग मिलेर उम्मेदवार खडा गरेका छन्। यो दुबै पटक मधेसी पार्टीले यो सहकार्य संघीय संसदको निर्वाचनसम्म अटल रहने भनेको थियो।
मधेसी दलहरूले जातीय जनाधारलाई बलियो बनाएका छन्।यसर्थ, मधेसका मुद्दाहरू यिनीहरूका लागि खासै महत्व राख्दैन। सदैव अविच्छिन्न रोषमा रहेको तथा अवचेतन अवस्थाका सर्व साधारण मधेसी जनताले मुद्दामा आधारित रहेर यिनीहरूको कार्य मूल्यांकन गर्न सकेको छैन। मधेसी नागरिक समाज त सत्ता लम्पट मधेसी पार्टीको अर्को भाग अर्थात सिक्काको अर्को पाटो मात्र भएको छ।
यिनीहरूमा फुट र बिग्रहको निरन्तरको स्वभाव जारी छ। यस एक बर्ष भित्र पाँच वटा मधेसी पार्टी मिलेर ‘राजपा’ बनाए। यो राजपा उपेन्द्र यादवसंग मिलेर ‘जसपा’ बनाए। जसपाबाट महन्थ र राजेन्द्र महतो अलग भएर ‘लोसपा’ बनाए। अब लोसपाबाट राजेन्द्र महतो लगभग अलग्गिएको अवस्था छ। यसको समानान्तर उपेन्द्र यादवको जसपाबाट डा. बाबुराम भट्टराई बहिरिने निश्चित नै छ। अशोक राईसंगै उपेन्द्रको पार्टीमा गएका भोजपुरका हेमराज राई राष्ट्रिय सभाका उम्मेदवार बनाईएका छन्। यस चुनावको समाप्ति पछि शायद अशोक राईले डा. बाबुरामसंग आफ्नो पोजिशन स्पष्ट पार्ने होला। तर, मुहूर्त जुन दिनको बनोस्, यो सन्निकट छ कि जसपमा अर्को बिभाजन अवश्यंभावी छ।
यस बीच सिके राउतका गतिबिधीलाई धेरैले नोटिसमा राखेका छन्। शायद मधेसी कित्ताबाट यिनको प्रहार बिशेषत: उपेन्द्र यादब प्रति केन्द्रीत देखिन्छ। मधेसमा लोकप्रिय मानिएको ‘लाठी जुलुस’मा जनमत पार्टीले हिस्सेदारी बढाउदै गएमा आउँदो निर्वाचनमा २/४०० भोटको अन्तरबाट जितेका मठाधीश मधेसी पार्टीहरूको उल्लेख्य सीट खोसिनेमा शंका न रहला।
कठिन छ अवस्था मधेसी पार्टीहरूको। यस्तोमा यिनलाई ‘भ्यागुतो उफ्र्याई’ को यौटा मुद्दा चाहिएला। भारतमा मोदीले पाकिस्तानको बालाकोटमा गरेको सर्जिकल स्ट्राईक जस्तो। यो सर्जिकल स्ट्राईकले देखाएको छ-बढी संख्याको र स्पष्ट मानवीय क्षति भारतको भएपनि बढी प्रचार भने ‘मोदीले पाकिस्तान भित्र छिरेर ठोक्यो।’ यसको बढी प्रचार भयो। यस्तै अब यि मधेसी पार्टीहरूले मधेसमा ‘आठ जिल्लाको प्रदेश २ को नामाकरण मधेस प्रदेश गराएकोलाई शायद उपयोग गर्ने होला। उपेन्द्र यादवले त यसको संकेत दिई सकेका छन्।
मधेसी समुदायको चिरन्तरको रोष, सामुहिक भावातिरेक र बालुवालाई सुनमा रूपान्तरित गरेर पार्टीहरूले ऋणी जनताको ऋण मोचन गरिदिने मधेसी जनतामा रहेको मीथ आदिले गर्दा मधेसको वर्तमानको बस्तुनिष्ठ मूल्यांकनको कुनै संभावना छैन। देखिन्न्।
बि.स. २०७०, माघ ७ गतेको मधेसवाणीमा प्रकाशित “मधेस आन्दोलनका उपलब्धिहरूको अवस्था” अहिले कहाँ पुग्यौ ?
सत्य हो हजुर मधेस मुदा 10 साल को अन्तराल मा हस्तान्तरन हुने गरेको छ