काठमाडौं। प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि सोमबार मतदान हुन लागेको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुङ्गो लगाउन मतदान प्रक्रिया अपनाउन लागिएको हो।
दल तथा सांसदको आ–आफ्नै अडानका कारण समितिले नाम र राजधानी सम्बन्धी केही प्रस्ताव परिमार्जन गरेर घटाए पनि सहमति जुट्न सकेन। आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिको तर्फबाट प्रतिवेदन सार्वजनिक गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले गोप्य मतदानमा जानुपर्ने सहितका ६ वटा निष्कर्ष निकालेको जानकारी दिए।
सोमबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुङ्ग्याउन पहिले मतदान हुने बताइएको छ।
प्रतिवेदनमा उत्तरमा धनुषा ढल्केवरको पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र भित्रको सम्पूर्ण भूभाग ‘जनकपुरधाम’ राजधानी प्रस्ताव गरिएको छ।
दोस्रो, राजधानीको प्रस्तावमा ‘वीरगन्ज’ रहेको छ। पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सा गढी नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ हुँदै सिम्रोनगढभित्रको भूभाग यस प्रस्तावमा समेटिएको छ।
त्यसैगरि तेस्रो प्रस्तावमा वीरगञ्जमा वीरगन्ज महानगरपालिका भरिको भूभाग उल्लेख गरिएको छ। जसको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् भने कांग्रेसकै शंकर प्रसाद चौधरी, ओम प्रकाश शर्मा र असिया देवी थरुनी समर्थक छन्।
त्यसैगरि समितिले मतदानका लागि ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ नाम प्रस्ताव गरेको छ।
नेकपा (एकीकृत समाजवादी) ले ‘जानकी प्रदेश’ को प्रस्ताव गरेको छ। यस प्रस्तावमा प्रतिपक्षी दल नेकपा एमालेको समर्थन छ। नेकपा एसका प्रदेश मामिलामन्त्री प्रमोद कुमार यादवले गरेको यस प्रस्तावमा सांसदहरू बेची लुंगेली, दिल्ली प्रसाद उप्रेती र नागेन्द्र राय यादव समर्थक छन् ।
त्यस्तै ‘मध्य मधेस प्रदेश’ नामको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् भने समर्थकहरू कांग्रेसकै शंकर प्रसाद चौधरी, ओम प्रकाश शर्मा र असिया देवी थरुनी हुन्।
Facebook Comment
Comment