माघी पर्वको चहलपहल सुरु

माघी पर्वको चहलपहल सुरु
फाइल तश्वीर

काठमाडौं।  पश्चिमी तराईका कैलालीलगायत जिल्लाहरुमा बसोबास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ।

विशेषगरी पुस अन्तिम दिनबाट सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने यो पर्वमा माघ १ गतेलाई नयाँ वर्षको रुपमा स्वागत गर्दै हर्सोल्लास वातावरणमा मनाइने गरेको थारु अगुवा एवं थारु कल्याणकारीका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले जानकारी दिए।

वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा भलमन्सा, अघरिया, चौकीदरवा लगायतका पदहरुमा ककसलाई चयन गर्ने भन्ने विषयमा पनि चौधरी थारू बस्तीहरुमा छलफल चलिरहेको छ। माघी मनाउने तयारीस्वरुप प्रत्येक घरपरिवारमा सुँगुर र बङ्गुरको मासुको व्यवस्थापन गर्नुका साथै गाउँका लागि आवश्यक कार्ययोजनाबारे एक ठाउँमा भेला भएर छलफल गरिरहेको उनको भनाइ छ। मासुका लागि बङ्गुर, सुँगुर काट्नेलाई जिता मार्ने भनिन्छ । आज राति नै थारु जातिको संस्कृति अनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको केन्द्रीय सदस्य चौधरीको भनाइ छ।

“माघे सङ्क्रान्तिका दिन अर्थात् भोलि विशेष गरी बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरेर घरका महिलाले छुट्याइएको चामल र मासको दाल छुने र त्यो छोएको चामल र मासको दाल घरका चेलीबेटी वा ब्राह्मणलाई दिई टीका लगाउने चलन छ”, चौधरीले भने, “त्यसपछि घरका आफूभन्दा ठूलाबडाबाट आशिर्वाद लिने परम्परा रहिआएको छ।” पर्वको तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकका बजारमा जाने परम्परा पनि रहेको उनले बताए।

थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनइरहेको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका सुन्दरलाल चौधरीले बताए। उनले भने, “थारू गाउँ अहिले माघीमय भएका छन् ।” यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँनयाँ लुगाकपडा लगाउने चलन छ। रोजगारीका लागि बाहिरका घरका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन्। पर्वमा विशेष गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गेटालगायत स्थानीय खानाका पकवान पकाइ खाने चलन छ।

बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने मुख्य पर्व भएकाले भव्यरुपमा मनाइरहेको धनगढी–२ का प्रेमबहादुर चौधरीले बताए । “गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीहरु मिलेर रमाइलो गरिरहेका छौँ”, उनले भने, “माघीको चहलपहल विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ।” यति मात्र नभएर थारुबस्तीमा माघौटा, सखिया, झुमरा, लाठी नाचलगायत लोकगीतसँगै डम्फु र मादलको आवाज पनि गाउँघरमा गुन्जिन लागेको छ।

माघी मनाउन हरेक वर्ष गाउँ-गाउँमा मेला तथा महोत्सवको आयोजना गरिँदै आएको थियो। विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण माघी पर्वको अवसरमा खासै मेला, महोत्सवको आयोजना गरिएको देखिँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved