काठमाडौं। कोभिड संक्रमण बढेसँगै राजनीतिक दलहरूको गतिविधि प्रभावित हुन थालेको छ। नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूमा कोभिड संक्रमण देखिएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस) सहित जसपाका शीर्ष नेताहरू कन्ट्याक ट्रेसिङमा परेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिड रिपोर्ट भने सोमबार नेगेटिभ आएपछि उनले बल्ल भेटघाट शुरु गरे पनि शनिबार दिउँसो यता निवास बाहिर निस्कका छैनन्।
शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सतारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवासहित सतारुढ दलका शीर्ष नेताहरू सहभागी थिए। शनिबार बिहान प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए। शनिबार नै माओवादी अध्यक्ष प्रचण्डको कोरोना रिपोर्ट पोजेटिभ आएको सार्वजनिक भएको थियो।
प्रचण्डलाई कोभिड पोजेटिभ आएसँगै माआवादीको शीर्ष तहका अन्य पनि कैयौं नेताहरू काभिड संक्रिमत भएको समाचारहरू सार्वजनिक भयो। माओवादीको शीर्ष तहमा कोभिड संक्रमण पुष्टि हुनुपूर्व उनीहरूको पार्टी कार्यलयमा कार्यरत ६ कर्मचारीमा कोभिड पुष्टि भएको थियो।
पार्टी कार्यलयका कर्मचारीहरूमा कोभिड पुष्टि भएपछि माओवादी पार्टी कार्यलयको सम्पूर्ण गतिविधि नै बन्द गरेर हालै सम्पन्न पार्टी महाधिवेशनमा सहभागी पार्टी प्रतिनिधिहरूलाई पनि स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेका थिए। त्योसँगै प्रचण्डले आफ्नो निवासको सम्पूर्ण राजनीतिक भेटघाट बन्द गरेको सूचना उनको स्वकीय सचिवालयले जारी गरेको थियो।
यसरी माओवादी शीर्ष तहमा काभिड संक्रमण देखिएको र अन्य दलहरूको शीर्ष नेताहरू पनि कन्ट्याक ट्रेसिङमा परेपछि माओवादीसहित अन्य दलहरूको पनि कार्यक्रमहरू प्रभावित भएको छ।
एमालेले गत शुक्रबार नै आफ्नो जिल्ला अधिवेशनको काम प्रारम्भ गरेका थिए। एमाले अध्यक्ष ओलीले गत शुक्रबार भर्चुअल माध्यमबाट एमालेका जिल्ला अधिवेशन उद्घाटन गरेपछि एमालेको जिल्ला अधिवेशन शुरु भएको हो। त्यसयता अहिलेसम्म जारी नै छ।
एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीका अनुसार कोभिडका कारण उद्घाटन भइसकेको जिल्ला अधिवेशनहरू प्रोटोकलसहित सक्दो चाँडो गर्ने निर्णय गरेको छ भने ८ माघमा गर्ने भनिएको प्रदेश अधिवेशन स्थगित गरिएको छ। अधिकारीले ८ माघको प्रदेश अधिवेशनहरू अहिलेलाई २८ माघमा गर्ने भनिए पनि कोभिडको अवस्था हेरेर मात्रै त्यो हुने कि नहुने अवस्थामा रहेको अधिकारीले बताए। एमालेको चितवन जिल्लाले पनि कोभिडका कारण देखाउँदै उद्घाटन भइसकेको जिल्ला अधिवेशन अनिश्चतकालका लागि सारेको छ।
हिमालीसहित उद्घाटन नभएको जिल्लाहरूको हकमा भने एमालेले अब कोभिडको अवस्था हेरेर निर्णय लिने जनाएको छ। यद्यपि एमाले शीर्ष नेताहरू भने जिल्ला अधिवेशनतिर दौड्या दौड्यै छन्। एमाले अध्यक्ष ओली आइतबार मात्रै संखुवासभाको जिल्ला अधिवेशनमा पुगेका थिए। महासचिव शंकर पोखरेल सिरहा पुगेका थिए।
नेपाली कांग्रेका नेताका शीर्ष नेताहरू भने कन्ट्याक ट्रेसिङमा परेका कारण पछिल्लो दुई दिनयता सार्वजनिक कार्यक्रमहरूमा खासै देखिएका छैनन्। काभिड बढेसँगै कांग्रेसले १५ माघमा घोषणा गरेको बाँकी १६ जिल्लाको अधिवेशन पनि अन्यालेमा परेको देखिन्छ। पछिल्लो केही समययता ती १६ जिल्लामा कांग्रेस नेताहरूको चहलपहल बढेको थियो तर कोभिड बढेसँगै त्यो पुनः सेलाएको छ। काभिड संक्रमण दर अहिलेझैं पनि रहेको खण्डमा १५ माघमा कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित हुने अवस्थामा छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोभिड संक्रमण बढेसँगै पार्टीका नेताहरूको कार्यक्रम प्रभावित भएको स्विकारे। औपचारिक भन्दा पनि नेताहरूको अनौपचारिक कार्यक्रमहरू आआफ्नो तरिकाले बने र त्यो कोभिडका कारण प्रभावित भएको शर्माले बताए। “१५ माघमा हुने भनिएको १६ जिल्लाको अधिवेशन काभिडको अहिलेकै अवस्थामा हुने अवस्था रहँदैन”, महामन्त्री शर्माले भने, “परिस्थिति हेरेर यस बारेमा पनि पार्टीको औपचारिक निर्णय आउँछ।”
कांग्रेस नेतृत्वकै वर्तमान सरकारमा मन्त्री रहेको कांग्रेस नेताहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्कीसहित पार्टीका उपसभापति पूर्णबहादुर खड्का, नेता रामचन्द्र पौडेल पछिल्लो समय होम आइसोलेशनमा बसेका छन्। खाँण सरकारका गृहमन्त्री र कार्की सूचनामन्त्री पनि छन्। प्रधानमन्त्रीसहित मन्त्रीहरू नै कन्ट्याक ट्रेसिङका कारण होम आइशोलेशनमा बसेपछि सोमबार हुने नियमित मन्त्रिपरिषद् बैठक नै बस्न सकेको छैन। सरकारका शिक्षामन्त्री तथा माओवादी नेता देवेन्द्र पौडेल भने आइतबार कोभिड पोजेटिभ देखिएको छ।
यसैगरी नेकपा (एस)का महासचिव वेदुराम भुसालको उपस्थितमा सोमबार हुने भनिए कार्यक्रम उक्त पार्टीले स्थगित गरेको थियो। मंगलबार नेकपा एसका अध्यक्ष माधव नेपालले एक अपिल जारी गर्दै कोभिडको बढदो संक्रमणमाझ सचेत रहन आम नागरिकमा अपिल गरेको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादव भने प्रदेश २ को प्रशिक्षण कार्यक्रममा बर्दिबास पुगेका छन्। जसपाले सोमबारदेखि तीनदिने पार्टी प्रशिक्षण कार्यक्रम राखेको छ।
Facebook Comment
Comment