पृथ्वीनारायण शाहले बनारस बसाइमा जो सिके

ढल्दो मुगल साम्राज्य र विभाजित मराठा शक्तिको संघर्षबाट पृथ्वीनारायणले जे सिके त्यसले उनलाई बलियो राज्य निर्माण गर्ने विचार निर्माणमा सघायो।

पृथ्वीनारायण शाहले बनारस बसाइमा जो सिके

२७ पुस, पृथ्वीनारायण शाहको जन्मजयन्ती। हरेक वर्षजस्तो यो दिन आउनासाथ नेपाली बौद्धिक जमात दुई कित्तामा बाँडिन्छ। एउटा कित्ता पृथ्वीनारायण शाहको अभियानलाई एकीकरणको संज्ञा दिँदै उनको जयगान गाउन लाग्छ। अर्को कित्ता उनलाई विस्तारवादीको संज्ञा दिँदै निन्दागान गर्न लाग्छ। तर इतिहासलाई प्रक्रियाका रूपमा अध्ययन गर्ने अध्येताका लागि भने उनी फगत एक पात्र हुन् जसको कर्मको परिणाम आजको नेपाल राज्य छ।

इतिहासलाई प्रक्रियाका रूपमा अध्ययन गर्नेहरूले तत्कालीन परिस्थिति र ज्ञानका आधारमा तत्कालीन नेतृत्वले कसरी निर्णय लियो र तिनले के प्रभाव पारे भन्ने खोजिनिती गर्छन्। तिनैमध्येका एक हुन्, लुडविग एफ. स्टिलर (सन् १९२८–२००९)।

अमेरिकामा जन्मेर सन् १९५६ मा नेपाल आएका उनी शुरुमा सेन्ट जेभियर्स स्कुलका शिक्षक थिए। पछि अंगीकृत नागरिक बने। त्रिभुवन विश्व विद्यालयबाट नेपालको इतिहासमा स्नातकोत्तर र विद्यावारिधी गरे। उनको स्नातकोत्तर शोध सन् १९६८ मा ‘पृथ्वीनारायण शाह इन द लाइट अफ् दिव्य उपदेश’ नाममा प्रकाशित भयो। उनको विद्यावारिधी शोध ‘द राइज अफ् द हाउस अफ गोर्खा’ पनि सन् १९७३ मा पुस्तकाकारमा प्रकाशित भयो। त्यसपछि पनि उनले नेपाली इतिहासको अध्ययन जारी राखे र किताबहरू प्रकाशन गरे।

आफ्नो अन्तिम पुस्तक ‘नेपालः ग्रोथ अफ अ नेसन’ मा उनले पृथ्वीनारायण शाहको विजयका आधार व्याख्या गरेका छन्। उनका अनुसार मूलतः दुईवटा निर्णयले पृथ्वीनारायण शाहलाई सफल बनाएका थिए। ती थिए– (१) विजित भूमीबाट जागिर दिने वाचा जसले सेनालाई बलियो र उत्साही बनायो; (२) चारवटा सिद्धान्तमा आधारित प्रशासन प्रणाली। ती चार सिद्धान्त थिएः

१. जागिर दिने राजाले पजनी पनि गर्नसक्छ।

२. योग्यताको आधारमा मात्र जागिर प्रदान गरिन्छ।

३. सबै प्रशासन सैनिक अधिकारीले सञ्चालन गर्छन्।

४. सम्बन्धित अधिकारीलाई शासन सञ्चालनको लागि सामान्य निर्देशन दिइन्छ। शासन सञ्चालन गर्न असफल अधिकारीलाई पजनीमार्फत हटाइन्छ।

पृथ्वीनारायण शाहले यस्तो विधि बसाल्न कहाँबाट सिके त ? यसको जवाफ पनि स्टिलरले खोज्ने प्रयत्न गरेका छन्।

असार २०३१ (जुलाई १९७४) मा तत्कालीन ‘इन्स्टिच्युट अफ् नेपाल एसिया स्टडिज’ (हालः सिनास) बाट प्रकाशन हुने जर्नल ‘कन्ट्रिब्युसन टु नेपलिज् स्टडिज्’को पूर्णांक १, अंक २ मा उनको शोध आलेख प्रकाशित छ। ‘द रोल अफ् फियर इन द युनिफिकेसन अफ् नेपाल’ शीर्षकको उक्त लेखमा स्टिलरले त्यतिबेला गंगाका मैदानमा भइरहेको मराठा र मुगल संघर्ष एवं उदाउँदो बेलायती शत्तिका प्रभावहरूको लेखाजोखा गरेका छन्। त्यही लेखाजोखाको आधारमा उनले पृथ्वीनारायण शाहसँग उपलब्ध विकल्पहरूको साँगोपाँगो चर्चा गरेका छन्।

शोध आलेखको दोस्रो खण्डको शुरुमै बनारस बसाईका क्रममा पृथ्वीनारायण शाहले केके अवलोकन गरे र त्यसबाट के सिके भन्ने व्याख्या गरेका छन्। प्रस्तुत लेख त्यही अंशको लक्ष्मण श्रेष्ठले गरेको भावानुवाद हो।

पिता नरभूपाल शाहको निधनपछि २५ चैत १७९९ (२२ मार्च १७४३)मा शासन सम्हालेका पृथ्वीनारायण शाह लगत्तै बनारस गएका थिए। 


लुडविग एफ. स्टिलर

इतिहासमा उल्लेख भए अनुसार नोभेम्बर १७४२ मा पृथ्वीनारायण शाह बनारस गएका थिए। बाबुराम आचार्य र उनीपछिका अन्य इतिहासकारहरूले यो भ्रमणलाई निकै महत्व दिएका छन्। बनारस बसाइका क्रममा पृथ्वीनारायण शाहले त्यतिबेला उत्तरी भारतमा भइरहेको घटनाक्रमलाई राम्रोसँग अवलोकन गरे भन्ने उनीहरूको मत छ।

पृथ्वीनारायण शाह दुईवटा गुणले सम्पन्न थिए। ति थिए– गहिरो अवलोकन र व्यावहारिक कौशल। त्यसकारण हामीले आफैलाई यो सोध्न उचित हुन्छ– बनारस बसाईमा रहँदा पृथ्वीनारायण शाहले के सिके त ? उनका लागि यो ज्ञानको के महत्व रह्यो र उनलाई थप कस्तो पाइला चाल्न प्रोत्साहन गर्‍यो ?

देखेको परिस्थिति

त्यसअघि थाहा नपाइसकेको भए, पृथ्वीनारायण शाहले बनारसमा सबैभन्दा पहिले मुगल साम्राज्य विघटनको अवस्थामा छ भन्ने थाहा पाएको हुनुपर्छ। त्यस्तो अवस्थाले उनको जिज्ञासु मस्तिष्कलाई कल्पनातीत चुनौती दिएको हुनुपर्छ। पक्कै पनि उनले आफैँसँग स्वाभाविक प्रश्नहरू गरेको हुनुपर्छ– ‘किन?’ ‘के भएको हो ?’ ‘अकबरको साम्राज्य यति छिटो ढल्न कसरी सम्भव भयो ?’

उनको जस्तो मस्तिष्कले अझ थप पेचिला प्रश्नहरू सोधेको हुनुपर्छ– अकबर साम्राज्य बनाउन किन लालयित थिए ? किन उनले बृहत्तर एकताका लागि प्रयास गरेनन् ? शाही सिंहासन किन प्रतिद्वन्द्वी दावेदारहरूबीच विवादको कारण थियो ? अकबरदेखि औरंगजेबसम्मका सम्राटहरूले डेक्कन (अहिलेका महाराष्ट्र, तेलांगाना, आन्ध्र प्रदेश, तामिलनाडु, कर्नाटक र केरला प्रदेश एवं मध्यप्रदेश र छत्तीसगढका केही भूभाग पर्छन्)लाई आफ्नो अधीनमा ल्याउन किन यति धेरै समय, पैसा र मानिसको ज्यान खर्च गरे ? दक्षिणतिर अन्त्यहीन आक्रमण गर्नुको कारण के थियो ?

यस्ता र यी भन्दा अझ उत्तम प्रश्नहरूले पृथ्वीनारायण शाहको मनमा हलचल मच्चाएको हुनुपर्छ जसले उनलाई अर्थपूर्ण जवाफहरूको आवश्यकता बोध गरायो।

अकबरले युद्धको बलमा साम्राज्य बसाले। उनले किन त्यसो गरे भने बृहत्तर एकता उनको पकडमा थिएन। अकबरले अम्बरका राजपुतलाई भने आक्रमण गरेनन्। त्यसो गर्दा हुने मानवीय र भौतिक नोक्सानी व्यहोर्न उनी सक्दैनथे। उनले खासगरी सम्झौता स्विकारे किनभने उनी पूर्ण विजय पाउन सक्नेगरी बलिया थिएनन्। आफ्नो राज्यमा राजपूतहरूलाई जतिसुकै कुटनीतिक तवरले बाँध्न सफल भए पनि यो कमजोरी सदा रहिरह्यो। यो उनका उत्तराधिकारीहरूको कुटनीतिक कौशलमा पनि एउटा छिद्र बनिरह्यो जसले निरन्तर उनीहरूको ध्यान खिचिरह्यो। र, लुप्त भए पनि यो मुगल राज्यको एकताका लागि निरन्तर खतरा बनिरह्यो।

इतिहासकारहरूले औल्याउने मुगल राज्यको अर्को कमजोर पक्ष यसले समेटेको भूभाग थियो। मुगल साम्राज्यको अधिकांश हिस्सा गंगाको मैदानमा थियो। यो भूमीमा सैन्य जत्था परिचालन गर्न तुलनात्मक रूपमा सहज थियो तर यसको भूगोल निकै फराकिलो थियो।

इतिहासले के देखाउँछ भने त्यो भूमीमा प्रभुत्व कायम राख्ने मुगल प्रयत्न बारम्बार असफल भयो। त्यसैले समाधानका लागि अकबरले प्रान्तीय वा क्षेत्रीय गभर्नरहरू नियुक्त गरे। तर केन्द्रसँगको दूरीले विद्रोहीहरूलाई प्रोत्साहन गर्‍यो। तिनलाई हुर्कायो। र कहिलेकाहीँ त सफलताको ताज पनि पहिर्‍यायो। केन्द्र र सिमान्तबीचको दूरीले क्षेत्रीय सेनाको आवश्यकता पनि बोध गरायो। र, यी क्षेत्रीय सेनाको बफादारी आफ्ना कमान्डरहरूमा रहन थाल्यो।

यस्तो प्रवृत्तिलाई पार लगाउन अकबरले आफ्नो हुकुममा रहेका सबैको बफादारी संकेन्द्रिकरण गर्ने राज्य बनाउन खोजे तर कहिल्यै सफल भएनन्। बहुसंख्यकले प्रशंसा गर्ने उनको धार्मिक सहिष्णुतालाई शासक अभिजात्यले भने पाखण्ड ठाने र विभाजनकारी शक्ति गठन गरे। कतिसम्म भने सामान्यतः एकिकृत राखिरहने शक्तिको रूपमा रहनुपर्ने गद्दी पनि एकताको संकेतको रूपमा कम र सम्पत्तिको प्रतीक बन्नपुग्यो। त्यसैले त्यो संघर्ष, विवाद र भातृसंहारकारी युद्धको प्रतीक बन्यो।

गंगाको मैदानको फैलावटले डेक्कनतिरको बढाईलाई पनि निर्देशित गर्‍यो। त्यो मैदानमा सुरक्षाका घेराहरू निकै कम थिए र उत्तरतिरको वैरीलाई आकर्षित गथ्र्यो। त्यसैले भारतमा बलियो नियन्त्रणका लागि मध्य डेक्कनको नियन्त्रण जरुरी थियो। त्यहाँमात्रै मुगलहरूले प्रशस्त सम्पत्ति भएको पहाडी भूभाग पाउँथे जसले उत्तरी आक्रमणलाई पनि थेग्न सक्थ्यो। तर जे कारणले मुगलहरू डेक्कन पाउन चाहन्थे तिनै कारणले त्यो असम्भव भइदियो। दक्षिण बलियो थियो र एकीकृत पनि। साथै आक्रमणकारीहरूसँग जुध्न सक्नेगरी प्राकृतिक रूपमा सम्पन्न पनि। डेक्कनलाई जित्न सक्नेगरी सैन्य शक्ति एकगठ गर्न मुगलहरू सक्षम हुँदा पनि क्षेत्रीयतावाद र अनिश्चित बफादारीले मुगल साम्राज्यको प्रयास असफल हुन्थ्यो। परिणाम, निराशा मात्र हात लाग्थ्यो।

अकबर र उनीपछिका मुगलहरू सिंहासनको उत्तराधिकार, दूरी र विकेन्द्रीकणको समस्या कहिल्यै समाधान गरेनन्। र यी असफलताहरूले राज्यको साम्राज्यवादी अवधारणामा निहित आधारभूत कमजोरी बढाउने काम मात्रै गरे। अकबरले आफ्ना उत्तराधिकारीलाई सुम्पिएको शासन संयन्त्र जस्तो बताउने गरिएको छ त्यो भन्दा निकै कमजोर थियो। उत्तराधिकारी कसरी तय गर्ने भन्ने विधि निर्माण गरेर शासकहरूले थिति बसाल्न सक्थे। तर मुगल साम्राज्यमा त्यस्तो कुनै विधि थिएन। गद्दीनसिन हुने हरेक व्यक्ति आफूलाई शक्तिको शिखरमा पुराउनेहरूप्रतिको राजनीतिक र आर्थिक बोझले थिचिएका हुन्थे। र, प्रशासकहरू पनि औसत स्तरका थिए जसले गर्दा साम्राज्य आफ्नै बोझ थाम्न नसकी ढल्न पुग्यो।

व्यवहारका सम्बन्धमा पृथ्वीनारायण शाह प्रतिभाशाली थिए। उत्तरी भारतको तत्कालीन स्थितिको अवलोकन र त्यसबारे छलफल गर्दा मुगल साम्राज्यको पतनबाट उनले निम्न तथ्य बोध गरेको हुनुपर्छ–

१) सुरक्षित उत्तराधिकारीको महत्व;

२) गंगाको मैदानमा नियन्त्रण सिमित रहँदा मुगल साम्राज्यमा अन्तरनिहित कमजोरी; र

३) एकात्मक राज्यमा समस्या थोपर्ने सञ्चारप्रणाली।

मुगल साम्राज्यको पतनबारे दुई सय वर्षपछि मैले गरेको विश्लेषणभन्दा बढी अवलोकन पृथ्वीनारायण शाहले गरेको हुनसक्ने सम्भावना अत्यधिक छ। यद्यपी मैले इंगित गरेका माथिका बुँदाहरू उनीजत्तिको कद र क्षमता भएको मानिसले न्यूनतम सोच्नसक्ने विषय हुन्।

बनारस भ्रमणका क्रममा पृथ्वीनारायण शाहलाई प्रभाव पारेको अर्को घटना पक्कै पनि मराठा शक्तिको उदय हुनुपर्छ। राष्ट्रवादी कालमा भारतीय इतिहासलाई निकै नै रोमाञ्चकारी बनाइएको कारण उत्तरी भारतमा मराठाहरूको विस्तार कसरी भयो भन्ने स्पष्ट छैन। मराठाहरू हिन्दू थिए र उनीहरूले विदेशी हस्तक्षेपकारीहरूलाई तह लगाउन सकेको गरेका थिए। राष्ट्रवादी इतिहासकारहरूका निम्ति उनीहरू प्रिय हुन यत्ति नै काफी छ।

पृथ्वीनारायण शाह बनारस पुग्दा पेशवा बाजी राओले प्रस्तुत गरेको एकताबद्ध गर्ने आदर्श हिन्दू–पद–पदशाहीलाई उनका पुत्र र उत्तराधिकारी बालाजी बाजी राओले शुद्ध महाराष्ट्रिय आदर्शका लागि पन्छाएका थिए।

व्यावहारिक रूपमा यसबाट के प्रमाणित भयो भने मराठा राज्य यस्तो राज्य थियो जसको अस्तित्व त्यसका उत्तराधिकारीहरूको आधिपत्य लागू गराउने क्षमता र चौथमा उनीहरूको अधिकारमाथि निर्भर थियो। मराठाको प्रत्यक्ष शासनमा नभएका भूमीबाट उठाइने करको एक चौथाई हिस्सा उनीहरूमा जान्थ्यो त्यसैलाई नै चौथ भनिन्थ्यो। मराठाहरूको थप आक्रमणबाट जोगाउन ती राज्यले कर तिथ्र्यो।

मराठा आधिपत्य र चौथको अभ्यास पृथ्वीनारायण शाहका लागि एउटा शिक्षा हुनपुग्यो।

उनी बनारस पुग्दा बंगालमाथि मराठाहरूको पहिलो आक्रमण भइरहेथ्यो। बनारसमा रहँदा मराठाहरूको आक्रमणबारे बहस र आलोचना नसुनेको सम्भवतः कुनै दिन थिएन होला। हामी ढुक्क हुनसक्छौं मराठाहरूको शोषणलाई उनले निकै रुचीका साथ अवलोकन गरे।

मराठाहरूले बंगाल सुबे (मुगल साम्राज्यमा प्रान्तलाई सुबे भनिन्थ्यो)मा आक्रमण गर्ने हिम्मत मात्र गरेका थिएनन् बरु उनीहरूले त्यहाँका नवाब अलिवर्दी खानलाई अन्तिम र कठीन लडाइँमा सफलतापूर्वक ल्याए। (मराठाहरूले बंगालमा आक्रमण गरेर उडीसा जिते तथा बिहार र बंगालको चौथ वार्षिक १२ हजार रुपैयाँ तय गरे।)

मराठाहरूको क्रुरता, लालच र भूमीको उत्पादकत्वप्रतिको चासोका अन्त्यहीन कथाहरू पहाडी राजा (पृथ्वीनारायण शाह)का लागि निकै नै लाभदायी भएको हुनुपर्छ। अर्थतन्त्रप्रति मराठाहरूको तिरस्कार र मराठा आक्रमणको नौ महीनामा सास्ती खेपेका किसानको कल्याणप्रतिको बेवास्ताप्रति उनले तिव्र प्रतिक्रिया जनाएको हुनुपर्छ।

डिसेम्बर १७४२ मा भाष्कर रामको नेतृत्वमा रहेको मराठा फौज बंगालबाट बाहिरिन बाध्य भएपछि पृथ्वीनारायण शाहले पक्कै पनि बनारसका सुबेदार सफदर जंग कहाँ पुग्ने बिहारमा अवधको आक्रमणबारेका घटना विवरण रुचीका साथ पछ्याएको हुनुपर्छ (त्यतिबेला बिहार बंगाल सुबे अन्तर्गत पर्थ्यो)।

अवध मुगल साम्राज्यको सुबे थियो। बंगाल त्यही साम्राज्यको अर्को सुबे थियो। एकै साम्राज्यका दुई प्रान्तहरू यसरी एक आपसमा लडिरहँदा तिनका दक्षिणी भूभागमा मराठाहरूले दोस्रो आक्रमणको तयारी गरिरहेका थिए।

पक्कै पनि मुगलहरूले बसालेको प्रणालीको यो एउटा ठूलो कमजोरी थियो जसले गर्भनरहरूलाई सोही साम्राज्यको अर्को भूभाग जितेर आफ्नो भूमी विस्तार गर्ने छुट दिन्थ्यो। यस्तो पद्दतिले सिंगो साम्राज्यलाई नै खतरा बढाइदिन्थ्यो। यस्तो नियन्त्रणको अभाव, टुक्रिँदै गइरहेको साम्राज्य र सुबेदारहरू (सुबेका शासक, गर्भनर, प्रान्त प्रमुख)ले सम्राटको इच्छाको वास्तै नगरी जे पनि गर्न सक्ने शक्तिले पृथ्वीनाराण शाहलाई पक्कै पनि गहिरो प्रभाव पारेको हुनुपर्छ।

त्यतिबेला भारतीय भूमीमा भइरहेका यी उतारचढाव पृथ्वीनारायण शाहका लागि आश्चर्यजनक लागेको भए बंगालमा मराठाको पहिलो आक्रमणपछिका घटना झनै विस्मयकारी लागेको हुनुपर्छ।

पृथ्वीनारायणले बनारस छोड्नभन्दा एक महीनाअघि फेब्रुअरी १७४३ मा रघुजी भोंसलेको नेतृत्वमा मराठाहरूले बंगाल सुबेमा दोस्रो आक्रमण गरे। यो आक्रमणमा रघुजीको लक्ष्य नै बंगाल, बिहार र ओडिसाबाट चौथ उठाउने थियो। सम्राट मुहम्मद शाहले यो क्षेत्रमा चौथ उठाउने अधिकार मराठा छत्रपति शाहुलाई दिने कबुल गरेका थिए। शाहुले यो अधिकार रघुजीलाई सुम्पिए। तर सन् १७४२ मा मराठा आक्रमणका कारण बंगालमा भएको तहसनहसले दिल्लीका सम्राट निराश थिए। रघुजीलाई नियन्त्रण गर्न र तहसनहस भएको प्रान्त जोगाउन उनले मराठा पेशवालाई बंगाल सुबेको रक्षाका लागि अनुरोध गरे। त्यसैकारण पेशवा बालाजी बाजी राओ आफ्ना मराठा योद्धाहरूसहित अर्का मराठा सेनापति र तिनका मराठा योद्धालाई प्रान्तबाट निकाल्न उत्तर हान्निए।

पक्कै पनि यहाँनेर युवा पृथ्वीनारायण शाहको मनमा मराठा राज्यको चरित्रबारे अनेकौं प्रश्न उठेको हुनुपर्छ। उनलाई रघुजी भोंसले मराठा राष्ट्रका महत्वपूर्ण जागिरदार हुन् र उनको जागिर बेरारमा छ भनिएको हुनुपर्छ। पृथ्वीनारायण शाहले के पनि थाहा पाएको हुनुपर्छ भने मराठाहरूले स्थायी रूपमा जागिर दिने गर्छन्। त्यो जागिर पुस्तैनी जान्छ। र, जागिरदारलाई अन्य जागिरदारको भूमीमा दखल नपुग्ने गरी आफ्नो भूमी विस्तार गर्ने असिमित अधिकार हुन्छ।

उनले के पनि जानेको हुनुपर्छ भने निरन्तरको लुट र चौथ लगाउनुको एउटा कारण मराठाहरूको खर्चालु अर्थतन्त्र थियो जसले गर्दा छत्रपति र पेशवा जहिल्यै द्रव्यको आवश्यकतामा हुन्थे। पक्कै पनि युवा पहाडी राजाका लागि यो सोच्नैपर्ने विषय थियो।

अर्को विचार गर्नुपर्ने विषय एउटा स्वाभाविक प्रश्न गर्नासाथ सिर्जना हुन्थ्यो। त्यो प्रश्न हो– “किन छत्रपति वा पेशवाले रघुजीलाई पछि हट्न वा बंगालमा के गर्नुपर्छ भन्ने आदेश दिँदैनन् ?”

मराठा शासक वा प्रधानमन्त्रीले आफ्नो सेनालाई आदेश दिन नसक्नुले अरू कुनै पनि विश्लेषणले भन्दा बढी मराठा राज्यको कमजोरी छर्लंग पारिदियो। कसैले आफ्नै सेना नियन्त्रण गर्न सक्दैन भने राष्ट्र–निर्माणको कुरा गर्नु व्यर्थ छ। सेनाको अधिकार कमान्डरहरूमा हुन्छ। यदि ती कमान्डहरूलाई नियन्त्रणमा राख्ने कुनै पद्दति बसालिएको छैन भने त्यही सेना फुट र उपद्रवको कारक भइदिन्छ।

यहाँनेर पुग्दा हामीले आफैँसँग प्रश्न गर्नुपर्छ, “के बनारसमा रहँदा पृथ्वीनारायण शाहले बेलायती शक्तिको उदय हुँदै गरेको कुनै संकेत पाएका थिए त ?” त्यस्ता संकेत पाएका भए पक्कै पनि पछिल्ला घटनाहरूका लागि लाभदायी रहने थिए। केही नेपाली इतिहासकारहरूले उनले त्यस्तो सूचना पाएको लेखेका छन्। तर उनले साँच्चै के देखेका थिए त भन्ने जिज्ञासा पनि जाग्छ।

त्यतिबेला अलिवर्दी खानले इष्ट इन्डिया कम्पनीलाई दबाब दिइरहेथे। कतिसम्म भने उनले मराठाविरुद्ध बंगाल सुबेलाई जोगाउन चाहिएको खर्च पनि कम्पनीसँगै मागेका थिए। मराठाहरूको आक्रमणका कारण कम्पनीको व्यापार पूर्णतः तहसनहस भएको थियो। त्यसैले बेलायतीहरू अघिल्लो वर्षको लगानी बढाउन र अलिवर्दीको माग पूरा गर्न जगत सेठसँग पैसा माग्न बाध्य थिए। दोस्रोपटक मराठाहरूले आक्रमण गर्दा सैन्यरूपमा उनीहरू निकै कमजोर थिए। त्यसैले उनीहरूले शहका मानिसहरूको दस्ता बनाए, स्थानीय व्यापारीसँग ऋण लिए र शहरको वरिपरि नाली (खाडल) खन्न लगाए। बेलायतीहरू आफै त व्यक्तिगत रूपमा खतरामा थिएनन् तर उनीहरूका फ्याक्ट्रीहरूको मराठाको लुटबाट मुक्त थिएनन् र त्यसरी मराठाले खोसेको सामग्री कहिल्यै प्राप्त हुँदैनथ्यो।

मराठाहरूको आक्रमणको समयमा सुरक्षा र शरणको खोजीमा थुप्रै भारतीयहरू कलकत्तामा कम्पनीसँग पुगेकोलाई संकेतका रूपमा नलिँदासम्म भविष्यमा विकास हुन सक्ने कम्पनीको शक्तिबारे कुनै संकेत त्यतिञ्जेल पाइँदैन। यत्तिकै आधारमा भारतमा बेलायती प्रभुत्वको खतरा पृथ्वीनारायणले देखेका थिए भन्ने हो भने उनले दूरदृष्टिको मात्र होइन अर्को दृष्टिको पनि वरदान पाएका थिए भन्नुपर्ने हुन्छ।

त्यतिबेला मराठा भन्दा पनि कम्पनी शक्तिशाली भएर उदाउँदै छ भन्ने निष्कर्ष निकाल्नु कुनै पनि अवलोकनकर्ताको क्षमताभन्दा परको विषय हुन्थ्यो। त्यस्तो निष्कर्षमा पुग्नका लागि आवश्यक परिस्थिति त्यतिबेला तयार भइसकेको थिएन।

सिकाई

जब मार्च १७४३ मा पृथ्वीनारायण शाह बनारसबाट गोरखा फर्किए उनले आफूसँग त्यस्तो विचार लिएर आए जसले उनको भविष्यको अभियान र शासनमा ठूलो प्रभाव पार्नेवाला थियो। भनिने गरेजस्तो उनले बनारसबाट बेलायतको भय लिएर आएका थिएनन्। उनी न त उनीहरूसँग न त तिनका नियतहरू सँग नै त्रसित थिए। त्यतिबेला नेपालका लागि अर्थपूर्ण हुन बेलायतीहरू निकै कमजोर थिए। र, आफ्ना नियतहरू अभिव्यक्त गर्नु उनीहरूका लागि निकै हतारो हुनजान्थ्यो। यो हकमा पृथ्वीनारायण शाह निकै नै भाग्यशाली थिए।

उनले आफूसँग ल्याएका विचार सकारात्मक थिए। ती विचारको प्रयोगले उनलाई एउटा यस्तो ठोस प्रभावकारी राज्यको संरचना बनाउन सघायो जसले ढुलमुलाउँदो मुगल साम्राज्यको र उदाउँदो मराठा शक्तिमात्र होइन पछि गएर मुगल र मराठा दुवैलाई पराजित गरी उपमहाद्वीपकै शक्ति बनेको बेलायती साम्राज्यलाई पनि टक्कर दियो।

आज मुगल, मराठा राष्ट्र र भारतमा बेलायती साम्राज्य केवल स्मृतिमा कैद छन्। तर पृथ्वीनारायण शाहको योगदान बलियो र स्वतन्त्र छ। बनारस बसाइको क्रममा बेलायती शक्तिबाट प्रभावित भएको भए र त्यसबाट उनमा पैदा हुने भयको नकारात्मक भावना जागृत भएको भए यस्तो सम्भव हुन्थ्यो भन्नेमा म शंका गर्छु।

उनी अध्ययन गर्न र सिक्न तथा आफू रहेको क्षेत्रमा भइरहेका गतिविधीलाई बोध गर्न सक्षम थिए। उनले सामना गरिरहेका परिस्थिति थिए– मुगलहरूको सामना गर्नुभन्दा निकै कठीन कर उठाउनु थियो। शासनको केन्द्रीयताको चुनौती मुगल वा मराठाको सामना गर्नुभन्दा बढी डरलाग्दो थियो। व्यापार र कृषिको सन्तुलन कायम गर्नु निकै आवश्यक थियो।

बनारस बसाईका क्रममा हासिल गरेका अनुभवका आधारमा पृथ्वीनारायण शाह निम्न निष्कर्षमा पुगेका थिए–

१. गद्दीको सहज उत्तराधिकारीको व्यवस्थाले राज्यको भविष्य निर्धारण गर्छ। राजपरिवारका आफन्तहरूलाई राजाको जीवनकालमै शासनमा हिस्सा पाउने अधिकार वा उनको निधनपछि उत्तराधिकारी हुने आशा राख्ने ठाउँ दिनुहुँदैन।

२. सेना र सरकारका स्थानीय प्रतिनिधिसँगको कमजोर सञ्चारलाई कठोर अनुशासनले मात्रै समाधान गर्न सकिन्छ।

३. सेनालाई होस् वा निजामतिलाई जीवनपर्यन्त र त्यसपछि वंशमा जानेगरी जागिर (जमिन) दिनु अनुशासन भंग गर्ने सुनिश्चित उपाय हो।

४. कुनै पनि अभियानका क्रममा हुने सम्पत्तिको क्षयले विजेता र पराजित दुवैलाई क्षति पुर्‍याउनुपर्छ। युद्ध भनेको दुई विपक्षी सेनाबीचको हो, भूमीबिचको होइन।

५. राज्यको क्षमता दुईवटा परस्पर सम्बन्धित विचारमा निर्भर गर्छन्। राजाले शासन गर्नैपर्छ र त्यसका लागि सेनामा उसको नियन्त्रण हुनैपर्छ। अर्को, राजाको साँचो सम्पत्ति जनता हो, जमिन वा सुन होइन।

६. उत्तरका पहाडको वा दक्षिणको डेक्कनको आड नलिई गंगाका मैदानमा कुनै पनि शक्ति लामो समय टिक्न सक्दैन। र, डेक्कनसँग ठूलो प्रतिरक्षा शक्ति छ।

पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा व्यक्त गरेभन्दा यो ज्ञान निकै कम हो। काठमाडौं उपत्यका, मकवानपुर, विजयपुर र चौदण्डी विजयपछि यी विचारहरू उनको मनमा कसरी परिपक्व हुँदैगए र शासन सञ्चालनका मान्यता बने भन्ने दिव्य उपदेशमा झल्किन्छ। यी मान्यताहरू वास्तवमा उनीपछिका उत्तराधिकारीहरूको कार्यक्षमता मापन गर्ने मापदण्ड बनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved