काठमाडौं। पब्जीको लतमा फसेका एक प्रेमीले बिहीबार राति प्रेमिकाको हत्या गरे, त्यसपछि आत्महत्या गरे। काठमाडौंको कपनमा भएको सो घटनाको बिस्तृत अनुसन्धान हुन बाँकी नै छ। सङ्खुवासभा घर भएका २५ वर्षीय अनिश जिमीले खोटाङकी २१ वर्षीया युसुना राईको हत्या गरेपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घरका अन्य सदस्यहरूका अनुसार उनीहरूले रातभर गेम खेल्दै हल्ला गर्ने गरेका थिए। अनिश एक्लै हुँदा पब्जी खेलेर खेल्थे, कालान्तरमा उनको यो बानी कुलत बन्यो। परिवारसँग नबोल्ने, अरूले मोबाइल खोस्दिएमा झम्टिहाल्ने उनको बानी थियो।
यो त भयो पब्जीका कारण भएको हत्या र आत्महत्या। यसबाहेक अरू थुप्रै असामान्य घटना भएका छन्। जागिर नपाएर पब्जीमा फस्नेदेखि भएको जागिर छाडेर पब्जी खेल्नेसम्मको संख्या ठूलो छ। पब्जीको व्यवस्ताले परीक्षा दिन जान भुलेका घटना पनि कम छैनन्।
होमवर्क गर्न भुलेर केटाकेटी पब्जीमै रमाएको र अनलाइन क्लास बसेर पब्जी खेलेको भन्दै थुप्रै अभिभावक हैरानमा छन्। विद्यार्थीहरूले धेरै पब्जी खेलेको र पढाइमा ध्यान नदिएको विषय पछिल्लो समय निजी तथा आवासीय विद्यालयको छाता संगठन–प्याब्सनदेखि नेपाल अभिभावक संघसम्मको बैठकमा चर्चा हुने गरेको छ। अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘‘तीन वर्षअघि पब्जी बन्द गराइ दिनु पर्यो, केटाकेटी बिग्रिए भन्दै हामीले प्रहरीमा निवेदन दिएका थियौँ। सरकारले पनि बन्द गरिदियो। तर अहिले फेरि केटाकेटीहरू के-के गरेर खेल्दा रहेछन्। धेरै अभिभावक हैरान छन्।’’
अभिभावकले आफ्ना केटाकेटीलाई कडा निगरानी गर्नुपर्ने र विद्यालयले पनि विद्यार्थीलाई काउन्सिल गर्नुपर्ने उनी बताउँछन्। महानगरीय प्रहरी अपराध महाशाखामा अहिले पनि लगातार निवेदनहरू आइरहेका छन्– पब्जी बन्द गराइ दिनु पर्यो, केटाकेटी बिग्रिए भन्दै।
प्रतिबन्धित गेम कसरी खेलिन्छ ?
पब्जी नेपालमा प्रतिबन्धित एप्स हो। २८ चैत २०७५ मै यो गेममा प्रतिबन्ध लागेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल प्रतिबन्ध लगाएको हो। प्रहरीको आग्रहमा प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न निर्देशन दिएको थियो।
र, पनि पब्जी खेल्न छाडिएको छैन। खेल्ने मध्ये अधिकांश केटाकेटी, किशोर किशोरी तथा युवा छन्। पब्जी प्रतिबन्ध लगाए पनि विभिन्न माध्यमबाट (भिपिएनको सहयोगले) यसलाई अवैध रूपमा डाउनलोड गरेर खेल्ने गरेको पाइन्छ।
भिपिएन भनेको भर्चुअल प्राइभेट नेटवर्क हो। यसले इन्टरनेट प्रयोगकर्ता र सर्भरबिच डाटा आदान-प्रदान हुँदा डाटालाई ईन्क्रिफ्ट गर्ने काम गर्दछ। साथै यसले प्रयोगकर्ताको वास्तविक आईपी एड्रेस लुकाई दिने काम पनि गर्दछ।
आफ्नो परिचय लुकाएर इन्टरनेटको माध्यमबाट कुनै वेबसाइट वा एप्लिकेशनहरुको प्रयोग गर्नुपर्दा भिपिएनको प्रयोग गरिन्छ। पब्जी नेपालमा बन्द भएपनि अरू देशमा बन्द भएका छैनन्। जस कारण नेपालको वास्तविक आईपि एड्रेस परिवर्तन गराएर अरू देशको सर्पोट गर्ने आईपी एड्रेस देखाएर (अर्थात अरू नै देशको ठेगाना देखाएर) नेपालमा प्रतिबन्धित साइट सजिलै प्रयोग गर्न सकिने आइटी विज्ञहरू बताउँछन्। अहिले यही प्रक्रियाबाट नेपालमा पब्जीलगायत बन्द भएका अरू साइटको प्रयोग भइरहेको बताइन्छ।
यता, महानगरीय प्रहरी अपराध महाशाखा पनि पब्जी गेम नरोकिएपछि चिन्तित छ। भिपिएन प्रयोग गर्ने प्रयोगकर्ता उपर पनि कडा निगरानीको लागि पहल गर्ने विषयमा छलफल चलिरहेको महाशाखा प्रमुख समेत रहेका एसएसपी चन्द्रकुबेर खापुङ बताउँछन्।
‘‘प्रहरीकै पहलमा पब्जी बन्द भयो। तर अनेक तरिकाबाट खेल चलिरहेको छ। स्कूले बालबालिकाहरू यो गेममा बढी एडिक्ट भएको देखिएको छ भने मानसिक सन्तुलन समेत सामान्य नभएको पाइएको छ,’’ खापुङ भन्छन् ‘‘यस्तोमा बालबालिकाहरूलाई ट्रयाकमा ल्याउन अभिभावकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने छ। सबै कुरा प्रहरीले चिन्ता लिने मात्रै होइन। अभिभावकको पनि जिम्मेवारी छ।’’

पब्जी किन खराब ?
पब्जी आफैमा खराब भने नभएको केही आइटी जानकारहरूको दाबी छ। लत बसाएमा भने हानी गर्ने उनीहरु स्विकार्छन्। पब्जी गेमले मानिसमा करुणा, दयाजस्ता विषय हराउँदै गएको मनोविद् गोपाल ढकाल बताउँछन्। यो गेममा अरूलाई मार्नुपर्ने भएकाले गेम खेल्नेहरूमा मानसिक प्रभाव पर्न सक्छ।
फल स्वरूपमा बढी आक्रमक हुने र आफ्नै दुनियाँमा हराउने क्रम बढ्दै गएको उनीहरूको भनाइ छ। ‘‘पब्जी, फ्रि फायरजस्ता गेममा लिप्त हुने बच्चाहरूमा शारीरिक तथा मानसिक समस्या देखिने गरेको छ। पब्जी खेलमै रमाएर उनीहरु आफ्नो दैनिकी नै बिर्सिन्छन्। र यो गेमको लतले बालक तथा किशोरहरू किशोरीहरू झगडालु, हिंस्रक र असामाजिक बन्ने गर्छन्,’’ उनी भन्छन्,‘‘अर्कातिर यो गेमको लत बसेकाहरू राती अबेरसम्म खेल्छन्। जसकारण निद्रामा असर गर्छ। उनीहरूलाई अरू समस्या पनि निम्तन्छ।’’
के हो पब्जी ?
पब्जीको पूरा रूप ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड’हो। यो सन् २०१७ मा आएको गेम हो। पब्जी ‘ब्यालट रोयल’ विधाको गेम हो। ब्यालट रोयलमा यस्ता अन्य धेरै खेल हुन्छन्। पब्जी धेरैले एकसाथ खेल्न मिल्छ। यस गेममा एउटा समूहमा धेरैजना हुन्छन्। साथीबीच ग्रुप बनाएर पनि खेल्न पनि सकिन्छ।
अर्का साथीसँगै संवाद गर्दै खेल पनि खेल्न पाइने हुनाले यो गेमको क्रेज बढ्दो छ। आइटी इन्जिनियरदेखि सामान्य मान्छेले पनि खेल्न सक्ने सजिलो र ’सेन्स अफ एचिभमेन्ट’ को कारण पब्जीको क्रेज बढेको हो। यो गेम खेल्दै युटुबमा लाईभ देखाउन समेत मिल्छ। यही गेम युट्युबमा लाइभ स्ट्रिमिङ गरेर कतिपयले पैसा समेत कमाइरहेका छन्।
Facebook Comment
Comment