काठमाडौं। आइसोलेशनमा बसेको भने पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्घाटलाई निरन्तरता दिएका छन्।
शुक्रबार बसेको सत्ता सञ्चालक दलको उच्चस्तरीय संयन्त्रको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्पर्कमा आएका प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका थिए।
प्रचण्डलाई २४ पुसमा कोभिड संक्रमण पुष्टि भएको थियो। शुक्रबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षबीच भेटवार्ता भएका कारण प्रधानमन्त्री देउवा कन्ट्याक ट्रेसिङमा परेका हुन् तर देउवाले २४ पुसमै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। उनी ओलीलाई भेट्न उनको निवास बालकोट नै पुगेका थिए। उनले ओलीलाई आफू कन्ट्याक ट्रेसिङमा परेको समेत बताएका थिए।
ओलीसँगको भेटघाटपछि प्रधानमन्त्री देउवा प्रधानमन्त्री निवासमा आइसोलेशनमा रहेको बताइए पनि उनले आइतबार बिहानभर राजनीतिक भेटघाट गरेका बालुवाटार स्रोतले बताएको छ।
“प्रधानमन्त्री आइसोलेशनमा बस्नु भएको हो तर समाजिक दूरी कायम गरेरै राजनीतिक भेटघाट गर्नु भएको छ,” स्रोतले भन्यो।
प्रधानमन्त्री देउवाले आइतबार कोभिड टेस्ट गर्ने भनिए पनि हालसम्म परीक्षण गराएका छैनन्। देउवासँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेशनमा बसेका छन्।
पछिल्लो समय कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँगै कोभिड संक्रमण दर पनि बढ्दै गएको छ। नेपालसँग खुला सीमा रहेको भारतमा दैनिक कोभिड संक्रमित एक लाख पुगिसकेको छ भने नेपालमा दैनिक करीब एक हजार मानिसमा कोभिड संक्रमण पुष्टि भएको छ।
यद्यपि राजनीतिक नेतृत्वमा भने कोभिड संक्रमणकको कन्टयाक ट्रेसिङमा परेर आइसोलेशनमा बसे पनि राजनीतक भेटमा भने कमी ल्याएका छैनन्।
Facebook Comment
Comment