राष्ट्रियसभामा पाँचदलीय गठबन्धनविरुद्ध एक्लै लड्दैछ एमाले

चुनावी तालमेलबाट सबै ठाउँमा सत्ता गठबन्धन विजयी हुने देखिएको छ।

नेपालभ्युज

राष्ट्रियसभामा पाँचदलीय गठबन्धनविरुद्ध एक्लै लड्दैछ एमाले

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका ५ दलविरुद्ध प्रमुख विपक्षी दल नेकपा (एमाले) एक्लै भिड्ने भएको छ।

संघदेखि प्रदेशसम्मका पाँच वटा सरकार गुमाएको एमालेले माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप क्षति बेहोर्ने देखिएको छ। सत्ता गठबन्धनले चुनावी तालमेल गरे सबै ठाउँमा गठबन्धन अधिकांश स्थानमा विजयी हुने निश्चित देखिएको छ।

सत्तारुढ दलमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) छन्। उनीहरूको गठबन्धनविरुद्ध एमालेले राष्ट्रिय सभाको रिक्त पदका लागि उम्मेदवार तय गरेको छ।

राजनीतिक दलहरूको प्रदेश र स्थानीय तहको उपस्थिति अनुसार नै निर्वाचित हुनेछन्। २०७४ मा भएको पहिलो पटकको निर्वाचनमा एमालेले एक्लै २७ सिट जितेको थियो। उक्त निर्वाचनमा कांग्रेसले १३ र माओवादी केन्द्रले १२ सिट जितेका थिए। मनोनीत तर्फका दुई जना समेत गरेर एमाले राष्ट्रिय सभामा करिब एकल बहुमतमा थियो। तर, पार्टी विभाजनपछि भने अहिले स्थान जोगाउन एमालेलाई कठिन छ।

सत्ता गठबन्धनको चुनावी तालमेलअनुसार कांग्रेसले ६ ठाउँमा उम्मेदवारी दिने छ। सत्ता गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकले एमालेका तर्फबाट रिक्त हुन सक्ने ८ स्थानहरूमा तालमेल गर्ने सहमति गरेको छ। आफ्ना रिक्त स्थानमा यथावत् उम्मेदवार उठाउने सहमति गठबन्धनमा बनेको छ।

गठबन्धनविरुद्ध चुनाव लड्ने यी हुन् एमालेका उम्मेदवार

प्रदेश १ अन्तर्गत खुलामा एमालेले झापाका गुरु बराल र महिलामा सुमित्रा भण्डारी छन्। अल्पसङ्ख्यकमा सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा उम्मेदवार बन्ने तय भएको छ। प्रदेश २ मा खुलातर्फ धनुषाका असर्फी भिनवार यादव महिलामा रौतहटका बीना साह उम्मेदवार छन्। वाग्मती प्रदेशअन्तर्गत ललितपुरका गोपाल शाक्य खुलामा, महिलामा सिन्धुलीका निरकुमारी कुँवर (निरु) उम्मेदवार छन्।

गण्डकीमा खुलाबाट कास्कीका पुण्यप्रसाद पौडेल उम्मेदवार बन्दा महिलातर्फ नवलपुरका लीला पोखरेल उम्मेदवार हुनेछिन्। दलितबाट बाग्लुङका गोविन्दबहादुर नेपाली उम्मेदवार बनेका छन्। यस्तै लुम्बिनी प्रदेशमा खुलामा दाङका रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल उम्मेदवार छन्। दलिततर्फ कृष्णबहादुर सुनार उम्मेदवार बनेको एमालेले जनाएको छ।

कर्णाली प्रदेशअन्तर्गत सुर्खेतका चुडामणि शर्मा खुलामा, महिलामा  जुम्लाका गंगा थापा महत उम्मेदवार बन्नेछन्। अल्पसङ्ख्यकतर्फ  दैलेखका पदमबहादुर माझीलाई एमालेले अघि सारेको छ। सूदुरपश्चिमबाट डोटीका डिल्लीराज भट्ट खुलामा, महिलातर्फ कैलालीका सन्तोषकुमारी शर्मा उम्मेदवार छन्।दलितबाट बैतडीका नरेश विक उम्मेदवार हुने एमालेले जनाएको छ।

कांग्रेसका यी हुन् उम्मेदवार

कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेत, वाग्मतीबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गा पुन र सुदूरपश्चिमबाट नारायणदत्त मिश्र उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै, एकीकृत समाजवादीले प्रदेश १ मा जयन्ती राई, वाग्मतीमा गोमा तिम्सिना, लुम्बिनीमा राज्यलक्ष्मी गैरे, कर्णालीमा उदय बोहरा र सुदूरपश्चिममा मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाएको छ।

माओवादीबाट को – को?

माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग÷अल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेको छ।

राष्ट्रिय सभामा हाल ५९ जना सदस्य छन्। एमालेका २३ सांसद छन्। ती मध्ये एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार÷चार, कांग्रेसका तीन र मनोनीत एक जनाको कार्यकाल फागुन २० मा सकिँदैछ।

रिक्त हुने पदमा आगामी माघ १२ मा निर्वाचन हुँदैछ। राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुखले मतदान गर्न पाउँछन्। एक प्रदेश सांसदको मतभार ४८ हुन्छ भने पालिका प्रमुख र उपप्रमुखको मतभार १८–१८ हुन्छ।

जसपाबाट दुई जना

जनता समाजवादी पार्टी नेपालको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ को अल्पसंख्यक समूहमा हेमराज राई (भोजपुर) र प्रदेश २ को खुलाबाट मो खालिद सिद्दिकी (सिरहा) लाई उम्मेदवार बनाउने निर्णय भएको पार्टीले जनाएको छ।

नेकपा (एस)बाट पाँच जना

नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले पनि आगामी १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। एकीकृत समाजवादीले सोमबार पाँच प्रदेशबाट एक-एक जना उम्मेदवार छनोट गरेको हो।

जसमा प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहको नाम टुंगो लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved