काठमाडौं। शनिबार दिउँसो महानगरीय प्रहरी विमानस्थल सुरक्षा कर्मचारीले सौर्य एअरलाइन्समा आएको ५० लाख रुपैयाँ बरामद गरेपछि एअरलाइन्सका दुई कर्मचारी पक्राउ परे। विराटनगर विमानस्थलबाट रकम पठाउने र काठमाडौंको त्रिभुवन विमानस्थलमा रकम लिन आउने कर्मचारी नियन्त्रणमा छन्।
सौर्य एअरलाइन्सको उडान नम्बर एसएयु २४ मा सौर्य एअरलाइन्सका विराटनगर स्टेसन प्रमुख प्रकाश पौडेलले सुरक्षा जाँच नगराई उडान भर्न तयारी अवस्थामा रहेको सोही कम्पनीको जहाजमा रातो रङ्गको लगेज पठाए। जहाज काठमाडौं अवतरण भएलगत्तै सोही लगेज लिन सोही कम्पनीकै कर्मचारी रेशा शाक्य पोखरेल आइन्। प्रहरीले लगेज खोलेर हेर्याे लगेजभित्र कार्टुन भेटियो।
कार्टुन खोलेर हेर्दा नेपाली रुपैयाँ एक हजार दरका ४ हजार नौ सय ५० थान र पाँच सय रुपैयाँ दरका एकसय गरी ५० लाख रुपैयाँ भेटियो। त्यसपछि ती दुवै जना कर्मचारीलाई पक्राउ गरियो। विमानस्थल प्रहरीले बरामद रकम र पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुरमा पठाएको छ
सुरक्षा चेकजाँच पार गर्दै यसरी पठाइएको थियो पैसा
विराटनगरबाट सुरक्षा जाँच नगराई सामान पठाइएपछि सुरक्षा निकायलाई शंका लागिसकेको थियो। त्यसपछि काठमाडौं विमानस्थल प्रहरीले पनि सामान लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिने योजना बनायो। जहाज उड्दै लाग्दा पाइलटको कपडा भन्दै जबरजस्ती लगिएको काठमाडौं विमानस्थल सुरक्षा प्रमुख एसएसपी सुरेन्द्र मैनालीले बताए।
‘‘जहाजको इन्जिन स्टार्ट भइसकेको थियो। विमान कम्पनीका दुई कर्मचारीले जहाज उड्नै लाग्यो, एयर ट्राफिकले विमान उडन भनिसकेको छ भन्दै सुरक्षा चेकजाँच नगरी लगेज लिएर भित्र छिरे। सुरक्षाकर्मीले रोक्दै थिए। तर उनीहरूले पेलेर गए’’, मैनालीले भने, ‘‘त्यहाँका सुरक्षाकर्मीले यो कुरा तत्काल यता जानकारी गराए। यता ब्याग लिन एक कर्मचारी आइन्। ब्याग चेकजाँच भयो। भित्र हेर्दा रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ कार्टुन भेटियो। कार्टुनभित्र पैसा लुकाइएको रहेछ। त्यसपछि उनी समातिइन्।’’
ब्याग लिन आउने ती महिला कर्मचारी पक्राउ परे लगतै ब्याग पठाउने विराटनगरबाट स्टेसन प्रमुख पौडेल पनि समातिए। मोरङ प्रहरीले पौडेललाई पक्राउ गरेर काठमाडौं पठायो।
विमानस्थलमा एअरलाइन्समा कर्मचारीको मनमौजी
विमानस्थलको सुरक्षा जाँचमा नेपाल आर्मी र नेपाल प्रहरीका कर्मचारी खटिएका हुन्छन् तर, विराटनगर प्रहरी प्रमुख एसपी जनार्दन जिसीले विमानस्थलमा एअरलाइन्सका कर्मचारीको सामान चेकजाँच गर्ने व्यवस्था नरहेको बताए।
एअरलाइन्सका कर्मचारीहरू विमानस्थलको धावनमार्गमा गइरहन्छन्। उनीहरूको नियमित काम त्यही भइरहने हुँदा उनीहरूको लागि छुट्टै बाटो दिइएको हुन्छ। विमानबाट फोहोर ल्याउनेदेखि अरू विमानभित्र राख्ने विभिन्न सामानहरू त्यहीबाट लैजान्छन्। उनीहरूको गतिविधि सबै निगरानी भए पनि उनीहरूको ल्याए लगेको सामान सुक्ष्मरूपमा जाँच नहुने एसपी जिसीले बताए।
‘‘सौर्य एयरका विराटनगर स्टेसन प्रमुख प्रकाश पौडेलले सामान लैजाने क्रममा सुरक्षाकर्मीले सामानबारेमा सोधेका थिए। तर उनले यो पाइलटको सामान हो भन्दै पेलेर गए। ब्याग हेर्न दिएनन्। विमानको इन्जिन स्टार्ट भइसकेकाले हामीले फेरि पछ्याएर ब्याग हेर्ने अवस्था थिएन,’’ एसपी जिसीले भने ‘‘त्यसपछि हामीले त्यो सामानमा हामीलाई शङ्का रहेको काठमाडौँ विमानस्थल प्रमुखलाई बत्तायौँ।’’
क्यासिनोको पैसा लगिएको हुन्छ : राजश्व अनुसन्धान विभाग
सौर्य एअरलाइन्सका विराटनगर स्टेसन म्यानेजर प्रकाश पौड्याल क्यासिनोमा काम गर्थे। उनले आफैले पनि क्यासिनो सञ्चालन गरेका थिए। सिक्किम, झापा र मोरङका क्यासिनोमा टेबुल चलाउने गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेका राजश्व अनुसन्धान विभाग हरिहर भवनका एक अधिकारीले बताए।
अनुसन्धानमा संलग्न ती अधिकारीले नेपाल भ्यूजसँग भने ‘‘स्टेसन प्रमुख प्रकाश पौड्याल विराटनगरमा क्यासिनो कारोबारीका कनेक्सन म्यानका रूपमा रहेका रहेछन्। क्यासिनोमा जम्मा भएको अवैध रकम ओसारपसारमा उनले भूमिका खेलेको हुनसक्ने अनुमान छ। अनुसन्धान टुङ्गोमा पुगेको छैन।’’
Facebook Comment
Comment