कांग्रेस विधानमा छैन पदाधिकारीहरूको अधिकार, सभापतिकै तजबिजी

सभापति देउवा पक्षले आफूहरू उदार भएको र सबैलाई समेट्न खोजेको सन्देशसहित मनोनित भएको दाबी गरेका छन् तर नेता शेखर कोइराला पक्षले भने देउवाले पार्टीभित्र शुरुबाटै गुटबन्दी गरेको आरोप लगााउन थालेका छन्।

कांग्रेस विधानमा छैन पदाधिकारीहरूको अधिकार, सभापतिकै तजबिजी

काठमाडौं।  कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० र आइतबार तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरे।

१४ औं महाधिवेशनवाट निर्वाचित भएपछि देउवाले आफ्नो अधिकार प्रयोग गर्दै आफूलाई महाधिवेशनमा सघाएका नेताहरूलाई मनोनित गरेपछि पार्टीवृतमा प्रश्नहरू पनि उठे।

सभापति देउवा पक्षले आफूहरू उदार भएको र सबैलाई समेट्न खोजेको सन्देशसहित मनोनित भएको दाबी गरेका छन् तर नेता शेखर कोइराला पक्षले भने देउवाले पार्टीभित्र शुरुबाटै गुटबन्दी गरेको आरोप लगााउन थालेका छन्।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उपसभापतिमा पराजयमा भएका विजय गच्छदारलाई मनोनित गर्दा चन्द्र भण्डारीसँग किन विभेद गरेको भन्दै देउवामाथि प्रश्न उठाए।

हेर्नुहोस् केसीको फेसबुक

“आफ्नो पक्षका नेताहरूले पदाधिकारीमा हार बेहोर्दा पनि केन्द्रीय सदस्य बनाउने तर अरू पक्षका नेताहरूलाई उहाँले छुटाउनुभयो, यसले उहाँको नियत प्रस्टयाउँछ” उनले नेपालभ्यूजसँग भने।

१४ औं महाधिवेशनवाट सभापतिमा शेरबहादुर देउवासहित १३ पदाधिकारीहरू र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापतिले एक कोषाध्यक्ष, एक प्रवक्तासहित ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ। साथै पार्टी विभागदेखि अन्य संगठनमा पनि सभापतिले नै आफ्नो अधिकार प्रयोग गरेर एक हजारभन्दा बढी मनोयन गर्न पाउने व्यवस्था कांग्रेसको विधानमा छ।

नवनिर्वाचित पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम भइसकेको छ भने पहिलो केन्द्रीय समिति बैठक पनि गत १० पुसमा गते नै बसिसकेको छ। आउँदो १९ गते कांग्रेसले देस्रो केन्द्रीय समितिको बैठक बोलाएको छ।

अब कांग्रेसमा निर्वाचित दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्रीको कार्यविभाजनप्रति पार्टीभित्रै चासो देखिएको छ। सभापति देउवाले एक कोषाध्यक्ष र एक प्रवक्ता नियुक्त गर्न बाँकी नै छ। तर पनि उपसभापतिदेखि सहमहामन्त्रीहरूले पाउने भूमिकालाई लिएर कांग्रेसवृतमा चासो देखिएको छ। नेपाली कांग्रेसको विधानमा सभापति, महामन्त्री र कोषाध्यक्षको अधिकारको व्यवस्था प्रस्ट रूपमै गरेको भए पनि उपसभापति र सहमहामन्त्रीबारे कांग्रेस विधान मौन छ।

कांग्रेसले पहिलो पटक समावेशी क्लस्टरअनुसार १४ औं महाधिवेशनबाट आठ जना सहमहामन्त्री छानेको छ। कांग्रेसले पहिलो पटक कोषाध्यक्षबाहेक सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचन प्रणलीमार्फत छानेको हो। त्यही भएर होला पहिलोजस्तो पदाधिकारीमा सभापतिले रोजेजस्तो अनुहार यो पटक छैन।

महामन्त्रीजस्तो कार्यकारी पदमा सभापति देउवा पक्षका दुवै जना उम्मेदवार पराजय भएपछि धेरैले सभापति र महामन्त्रद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहकार्य कस्तो होला भन्ने पनि चासो देखाउन थालेका छन्। सभापतिले उपसभापतिसहित आठ सहमहामन्त्रीलाई कस्तो कार्यविभाजन गर्लान् भन्ने चासो पनि त्यतिकै देखिएको छ।

१४ औं महाधिवेशन अघिसम्म कांग्रेसमा सभापतिले मनोनित गरेकै उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री हुने गरेका थिए। सभापतिले रोजेकै अनुहार पदाधिकारीमा आउने भएकाले उनीहरू सभापतिबाट धाप पाउनुलाई धेरैले सजिलै विषय लिने गरेका थिए। तर निर्वाचन प्रकियाबाट १४ औं महाधिवेशनमा पदाधिकारी छानेको कांग्रेसको यो पहिलो कार्यसमिति हो।

कांग्रेसको विधानले सभापतिका लागि १६ बुँदे, महामन्त्रीका लागि १२ बुँदे र कोषाध्यक्षका लागि ७ बुँदे अधिकार उल्लेख गरिएको छ।

अधिकारमा सभापतिकै तजबिज

कांग्रेसको नयाँ विधानले केन्द्रीय समितिदेखि पदाधिकारीसम्म ७५ प्रतिशतभन्दा बढी निर्वाचित हुने व्यवस्था गरेको छ। तर अधिकारमा त्यस्तो देखिँदैन। अधिकार, काम र कर्तव्य सभापतिको एकलौटीजस्तै छ।

सभापतिपछि महामन्त्री शक्क्तिशाली भनिए पनि सभापतिकै राय परामर्शमा कामहरू बढाउनुपर्ने बाध्यतात्मक अवस्था देखिन्छ। निर्वाचित दुई उपसभापति र आठ सहमहामन्त्री त झनै सभापतिको अनुकम्पाबाहेक केही पाउने अवस्थामा छैनन्।

यस्तो अवस्थालाई कांग्रेस नेता तथा उपसभापतिमा पराजित महेश आचार्य यो पार्टी विधानको कमजोरी भएको बताउँछन्। “निर्वाचित उपसभापति र निर्वाचित आठ सहमहामन्त्रीको काम र अधिकारको व्यवस्था विधानमा हुनै पर्थ्यो,” आचार्य भन्छन्, “०७५ सालमा भएको महासमिति भेलामा पनि यो प्रश्न नउठेको हैन, तर त्यसलाई वास्ता नै गरिएन।” अध्यक्षीय प्रणालीमा पार्टी भएकाले सबै अधिकार पार्टी सभापतिमा थुपारेको देखिएको उनी तर्क गर्छन्।

मलुक संघीयतमा गएपछि पनि पार्टीहरू सबै कुरा केन्द्रीय समिति र त्यसमाथि पनि केन्द्रीय सभापितिमै थुपार्नुपर्ने अवस्था रहनु ठिक नहुने आचार्य बताउँछन्।

कांग्रेसको केन्द्रीय समितिको आकार पनि ठूलो भएको उनले दाबी गरे। “मैलै यो कुरा महासमिति बेला पनि उठा’को हो, हामी संघीय संरचनामा गए पनि पार्टीको अधिकार र संगठन पनि त्यहीअनुसार प्रत्यायोजन गर्नुपर्थ्यो”, आचार्य भन्छन्, “संगठनको ढाँचा हामी मात्रै बनाएको जस्तो भयो, अधिकार देखिएको छैन।”

अझै पनि कांग्रेसले नियमावली बनाएर यसलाई सच्याएर अघि बढ्दा राम्रो हुने आचार्य सुझाव दिन्छन्।

यद्यपि पार्टीभित्र विचार, नीति र सिद्धान्तको बहसप्रति नेतृत्वदेखि नेतासम्म चासो विस्तारै कम हुँदै गएको पनि आचार्यको बुझाइ छ। कांग्रेसले १४ औं महाधिवेशन गर्ने बेलामा पनि नेतृत्वकेन्द्रित मात्रै गर्ने निर्णय गरेको थियो।

कांग्रेसले विधान महाधिवेशन छुट्टै गर्ने प्रस्ताव गरेको थियो। कांग्रेसको अहिलेको विधान संघीयतामा मुलुक गएपछि ०७५ सालमा भएको महासमिति भेलाले ल्याएको विधान हो। नेता आचार्यले भने पार्टीहरूमा नीति तथा विचारभन्दा नेताको व्यवस्थापन मूल विषय बन्दा अवस्था यस्तो आएको तर्क गरे।

यस्तो छ कांग्रेस विधानले गरेको सभापति, महामन्त्री र कोषाध्यक्षको अधिकार व्यवस्था

केन्द्रीय कार्यसमितिको सभापतिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(१) पार्टीको समग्र नेतृत्व गर्ने।
(२) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन
समिति र केन्द्रीय संसदीय समितिको अध्यक्षता गर्ने र आवश्यक परे निर्णायक मत
दिने।
(३) धारा २१ (४) बमोजिम केन्द्रीय कार्यसमितिको पदाधिकारीको नाम प्रस्ताव गर्ने र धारा
२१ (१०) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यको मनोनयन गर्ने।
(४) केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने, कार्य विभाजन हेरफेर गर्ने र
पार्टीका पदाधिकारी एवं सदस्यमध्येबाट प्रवक्ता तोक्ने।
(५) पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने तथा पार्टीलाई
सबल र सक्षम संगठनका रूपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्ने।
(६) पार्टीका तर्फबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक प्रतिनिधित्व गर्ने, गराउने।
(७) पार्टीका अगाडि तत्काल परिआएका कार्यहरू गर्ने र त्यसको जानकारी केन्द्रीय
कार्यसमितिलाई दिने
(८) पार्टीका केन्द्रीय निकायद्वारा भएका निर्णयको कार्यान्वयन भए नभएको रेखदेख गर्ने,
गराउने।
(९) केन्द्रीय विभाग एवं अन्य केन्द्रीय निकायका प्रमुख, उपप्रमुख, सचिव र सदस्यको
नियुक्ति, मनोनयन वा हेरफेर गर्ने।
(१०) केन्द्रीय कार्यालयका लागि आवश्यक कर्मचारीको नियुक्ति र हेरफेर गर्ने।
(११) केन्द्रीय सभापतिले पार्टीको निकाय, पदाधिकारी वा सदस्यका सम्बन्धमा परेको उजुरी
र गतिविधिका सम्बन्धमा छानविन समिति गठन गरी छानविन गर्न सक्नेछ। त्यसरी
जाँचबुझ गरिएको अवस्थामा केन्द्रीय कार्यसमितिले छानविन समितिको प्रतिवेदनका
आधारमा वा तत्कालको आवश्यकता अनुसार पार्टीको कुनै पनि निकाय वा पदाधिकारी
वा सदस्यलाई पदबाट निलम्बन गर्न सक्नेछ।
(१२) केन्द्रीय कार्यसमितिले पार्टीको कुनै पनि निकायलाई निलम्बन गर्दा त्यस्तो निलम्बन
भएको पार्टीको निकायको कार्यसम्पादन गर्न निलम्बन भएको अवधिसम्मका लागि कुनै
समिति वा सदस्य वा व्यक्तिलाई तोक्न सक्नेछ।
(१३) सभापतिले आफूविदेश गएको अवस्थामा वा आवश्यकता अनुसार उप–सभापतिलाई
कार्यवाहक सभापति तोक्नेछ।
(१४) धारा २१ (१२) बमोजिम केन्द्रीय कार्यसमिति र धारा २३ (५) बमोजिम केन्द्रीय
कार्यसम्पादन समितिको बैठक बोलाउने।
(१५) योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल् नेपाली कांग्रेसको सदस्यता वा नेपाली
कांग्रेसको क्रियाशील सदस्यता दिनु पर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने।
(१६) अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ

महामन्त्रीको काम, कर्तव्य र अधिकार देहाय बमोजम हुनेछ 

(१) नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ। महामन्त्रीले केन्द्रीय
कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ।
(२) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन
समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी
महामन्त्रीको हुनेछ।
(३) दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग पु¥याउने तथा महत्वपूर्ण विषयमा
सभापतिलाई जानकारीर सुझाव दिने।
(४) पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा
पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय
तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने, गराउने।
(५) पार्टी सम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा
उपसमिति बनाउने।
(६) केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव
प्रस्तुत गर्ने।
(७) पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने।
(८) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन
समितिको निर्णय प्रमाणित गर्ने।
(९) नेपाली कांग्रेसको सदस्यता बारे धारा ४ को उपधारा ९ बमोजिमको कार्य गर्ने
गराउने।
(१०) पार्टी मातहतका निकायहरूलाई पार्टीको निर्णयको जानकारी गराउने तथा निर्देशन
जारी गर्ने।
(११) योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल् नेपाली कांग्रेसको सदस्यता वा नेपाली
कांग्रेसको क्रियाशील सदस्यता दिनु पर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने।
(१२) अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।

कोषाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ 

(१) पार्टीका निम्ति आवश्यक आर्थिक स्रोत–साधनको व्यवस्था गर्ने, त्यसको संरक्षण र
सम्वद्र्धन गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्ने।
(२) केन्द्रीय कार्यसमितिद्वारा निर्णय गरेको बैङ्कमा पार्टीका नाममा खाता खोल्ने र केन्द्रीकेन्द्रीय
कार्यसमितिको निर्णयानुसार सञ्चालन गर्ने।
(३) पार्टीका निम्ति प्राप्त हुने सदस्यता शुल्क र अन्य सहयोग रकम सङ्कलन गर्ने तथा
अभिलेख राख्ने।
(४) सङ्कलित रकम पार्टीका विभिन्न काम र निकायको खर्चका लागि निर्णय अनुसार
भुक्तानी गर्ने र त्यसको हिसाब राख्ने।
(५) पार्टीको वार्षिक आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसमितिमार्फत्
केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रस्तुत गर्ने।
(६) केन्द्रीय कार्यसमितिले पारित गरेको लेखा परीक्षण सम्बन्धी प्रतिवेदन केन्द्रीय
महाधिवेशन र केन्द्रीय महासमितिमा प्रस्तुत गर्ने।
(७) अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved