माओवादी महाधिवेशन : एकताका लागि नेताका नरम स्वर

नेपालका सबै राजनीतिक पार्टी विकास र समृद्धिका सवालमा मिलेर जानुपर्ने शंकर पोखरेलले बताए भने माओवादी अध्यक्ष दाहालले पनि ‘नेकपा’ एकता गलत नभएको बताउँदै कमजोरीबारे समीक्षा गर्नसमेत आग्रह गरे।

माओवादी महाधिवेशन : एकताका लागि नेताका नरम स्वर

काठमाडौं । अन्तिम समयमा आएर महाधिवेशन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन सत्र सम्पन्न भएको छ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पुगेको भन्दै पार्टीले राष्टिय सम्मेलनलाई अन्तिम समयमा ‘महाधिवेशन’मा रूपान्तरण गरेको थियो।

माओवादी केन्दको यस महाधिवेशनबाट पार्टीले लिँदै आएको नीति रूपान्तरण गर्ने बताएको छ। नीति रूपान्तरण गर्ने बताएको पार्टीको नेतृत्वमा भने अध्यक्ष पुष्पकमल दाहालकै निरन्तरता हुने पक्काजस्तै भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको अभिव्यक्तिले पनि त्यो प्रस्ट पारेको हो।

कार्यक्रममालई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवा एवं एमाले महासचिव पोखरेलले पार्टीको आगामी नेतृत्व पनि अध्यक्ष दाहालले नै गर्ने जानकारी पाएको बताए।

त्यसो त पार्टीकै नेताहरूले पनि नेतृत्वमा दाहालको विकल्प हाललाई नभएको बताउने गरेका छन्। जसले गर्दा माओवादीको आठौं महाधिवेशनपछि पनि नेतृत्वमा दाहाल नै आउने पक्का छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष दाहालले शान्ति प्रक्रिया यता पार्टीले गरेको गल्तीलाई यो महाधिवेशनको अवसरमा आत्मसमीक्षा गर्ने बताए। उनले महाधिवेशनबाट गर्न खोजेकै आत्मसमीक्षा भएको बताए। भने, “शान्तिप्रक्रिया यता आउँदा हामीले कहाँ कहाँ गल्ती गर्यौँ त्यो सबैको आत्मसमीक्षामा छौं।”

शान्ति प्रक्रियामा आएसँगै पार्टी करिब आधा दर्जनभन्दा बढी पार्टीमा विभाजन भइसकेको छ। मातृका यादवबाट शुरु भएको पार्टीको विभाजन यात्रा २०७२ सालमा संविधान घोषणा गरेसँगै बाबुराम भट्टराई पनि पार्टीबाट बाहिरिए।

यादव हाल पुरानै पार्टीमा फर्किए पनि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत नेताले पार्टी परित्याग गर्दै एमालेमा गएका छन्। हालै सम्पन्न एमालेको १० औँ महाधिवेशनबाट थापा उपाध्यक्षमा निर्वाचित हुँदा रायमाझी र भट्ट भने एमालेको सचिवमा निर्वाचित भएका छन्।

यस्तै मोहन वैद्य, गोपाल किराती, नेत्रविक्रम चन्दलगायत नेता पनि पार्टीबाट अगल भई छुट्टाछुट्टै पार्टी स्थापना गरेका छन्। माओवादी पार्टी दाहालको आत्मकेन्द्रित प्रवृत्ति छायामा परेको आरोप लगाउँदै माओवादी आन्दोलनको शुरुवाती चरणमा सँगै रहेको नेता विभाजित भएका हुन्।

पार्टी विभाजित हुँदै जाँदा पछिल्लो समय माओवादी केन्द्र राष्टिय राजनीतिमा साँघुरिँदै गएको धेरैको विश्वास छ। आगामी निर्वाचनमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने दाहालले अभिव्यक्ति दिँदै आएका छन्। अहिलेकै अवस्थामा दाहालको अभिव्यक्तिको ठूलो आधार नभएको दाहालले नबुझेका होइनन्। यी सबै विषयलाई दृष्टिगत गरेर हुनुपर्छ दाहालले महाधिवेशनमा आफूले प्रस्तुत गर्ने प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै विषयमा समीक्षा गरेको बताएका छन्।

पार्टीको महाधिवेशनमा राष्टिय राजनीतिलाई प्रतिनिधित्व गर्ने प्रायः सबै राजनीतिक दलका शीर्ष नेताको उपस्थिति थियो। उद्घाटन सत्रमा सहभागी हुन पार्टी अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरेका थिए। तर एमालेबाट महासचिव शंकर पोखरेल आएका थिए।

के ओली-दाहाल सम्बन्ध सुध्रिएको हो?

उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीसँग आइतबार बिहान भएको टेलिफोन संवादको प्रसंग पनि सुनाए। १० मंसीरमा मात्रै पार्टीको आठौं महाधिवेशन गर्ने तय भएको बताउँदै अध्यक्ष दाहालले आइतबार (आज) राजनीतिक दललाई महाधिवेशनमा सहभागी हुन निमन्त्रणा गरेको बताए। यस क्रममा उनले एमाले अध्यक्षलाई टेलिफोनमार्फत निमन्त्रणा गरेको बताएका थिए।

गत वर्षको ५ पुसमा ओलीले संसद् विघटन गर्ने निर्णय गरेसँगै ओली दाहालबीचको सम्बन्ध चिसिएको छ।

संसद विघटनसँगै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ भने ओली दाहालले सार्वजनिक रूपमा एकअर्कालाई कटाक्ष गर्दै आएका छन्। २४ मंसीरमा नेपाली कांग्रेसको महाधिवेशनमा ओली-दाहाल लामो समयपछि आमनेसामने भएका थिए। यद्यपि, माओवादीको महाधिवेशनमा सहभागी हुन दाहालले गरेको आग्रहअनुसार नै ओलीले आफ्नो स्थानमा पार्टीका महासचिव शंकर पोखरेललाई पठाएका दाहालले बताए।

“आफू पार्टीको कामका लागि झापा आएको बताउँदै ओलीले आफ्नो स्थानमा पार्टीका महासचिव शंकर पोखरेललाई पठाउँछु,” ओलीलाई उद्धृत गर्दै दाहालले भनेका छन्। दाहालले दिउँसो १-२ बजेसम्म भए पनि काठमाडौं आउन ओलीलाई आग्रह गरेको समेत बताएका थिए।

१० मंसीरमा चितवनमा आयोजना भएको एमालेले पठाएको निमन्त्रणालाई दाहालले अस्वीकार गरेका थिए। तर, एक महीना नबित्दै ओली र दाहालबीच सम्बन्धमा केही नरमपन आएको देखिन्छ। त्यसको संकेत दाहालले आफ्नो सम्बोधनमार्फत पनि गरे।

दाहालले नेकपा एकता गलत नभएको बताउँदै कमजोरी कहाँ भयो समीक्षा गर्नसमेत एमालेलाई आग्रह गरेका थिए। सम्बोधनका क्रममा उनले भनेका थिए, “फेरि एकचोटि आत्मसमीक्षा गरौँ कहाँ कमजोरी भयो? पार्टी एकता गर्ने निर्णय गल्ती थिएन।”

यस्तै अभिव्यक्ति आफ्नो सम्बोधनका क्रममा एमाले महासचिव पोखरेलले पनि दिएका थिए। पोखरेलले भनेका छन्, “नेकपा गठनको उद्देश्य सही थियो। नेकपाको एकता जोगाउन नसकिएकोमा मलाई पछुतो छ।”

त्यसो त ५ पुसमा एमाले अध्यक्ष ओली र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीबीच करिब डेढ घण्टा भेट भएको थियो। दुवै पक्षले गोप्य राख्ने सहमति भएको भेटघाटको विषय गोप्य भने रहेन। नेपालका कम्युनिष्टबीच एकता गर्नुपर्ने सन्देशसहित एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेकी थिइन् राजदूत यान्छी। एकीकरण नै हुन नसके पनि अगामी निर्वाचनमा कम्युनिष्टबीच कार्यगत एकता गर्नुपर्नेमा राजदूत यान्छीको जोड थियो।

राजदूतको आग्रहमा ओलीले जवाफ दिँदै आफूले नेकपा विभाजन नगरेको बताउँदै यस विषयमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग कुरा गर्न राजदूतलाई भनेका थिए।

यसअघि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थापनाको एक सय वर्ष पुगेको अवसरमा नेपाली नेताहरूको विचार संग्रहित किताबको भर्चुअल माध्यमबाट २६ असोजमा विमोचन गर्दै राजदूत यान्छीले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकतामा जोड दिएकी थिइन्।

देउवा नेतृत्वको वर्तमान सरकारले अमेरिकी परियोजना ‘एमसीसी’ पारित गर्नसक्ने आकलन गरिँदै गर्दा चिनियाँ राजदूतले पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग भेट गरेकी थिइन्। राजदूत यान्छीसँगको भेटको केही समयमा नै ओली दाहालबीचको माओवादी केन्द्रको महाधिवेशनको सन्दर्भमा संवाद भएको हो।

बढे प्रतिनिधि थपियो चुनौती

यस्तै पार्टीको महाधिवेशनमा एक हजार सात सय प्रतिनिधि सहभागी हुने भएका छन्। राष्टिय सम्मेलन आयोजना गर्ने घोषणा गरेको पार्टीले शुरुमा १ हजार पाँच सय ३१ प्रतिनिधि सहभागी हुने बताएको थियो भने त्यो संख्या बढाएर १ हजार ६ सय ३८ प्रतिनिधि सहभागी हुने बताएको थियो। तर, राष्टिय सम्मेलन महाधिवेशनमा रूपान्तरण भएसँग प्रतिनिधिको संख्यामा वृद्धि भएको हो।

प्रतिनिधिको संख्यामा वृद्धि भएसँगै पार्टीलाई उनीहरूको व्यवस्थापनमा भने चुनौती थपिएको छ। प्रतिनिधिहरूलाई बस्ने, खाने व्यवस्था आफै गर्न पार्टीले बताइसकेको छ। पार्टीको बन्दसत्र सोमबार बिहान ११ बजेबाट प्रज्ञा प्रतिष्ठानमा शुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved