अपांगता भएका व्यक्तिको गुहार : इच्छा मृत्यु माग्दै प्रधानमन्त्रीलाई निवेदन
श्रीमान् ओछ्यानमा, श्रीमती अस्पतालमा
दीपकप्रसाद भण्डारी २०६६ सालमा दुर्घटनामा परे। उनको कम्मरमुनीको भाग चल्दैन। गत वैशाखमा सोलार सफा गर्ने क्रममा त्यसको ब्याट्री बिस्फोट हुँदा श्रीमती कल्पना भण्डारीको शरीर एशिडले जल्यो। त्यसयता, अहिले उनी काठमाडौंस्थित सुष्मा मेमाेरियल अस्पतालको शैय्यामा छिन्।
काठमाडौं। मानिस आफ्नो पूर्ण आयु बिताउन चाहन्छ। बाँच्नकै लागि समाजले खराब भनेका कार्यहरू गर्न पछि पर्दैन। तर, तनहुँको म्याग्दे- ७ का दीपकप्रसाद भण्डारीले युवावस्थामै ईच्छामृत्यु माग गर्दै सरकारसँग हारगुहार गरिरहेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई खुला पत्र लेखेर यस्तो माग गरेका हुन्।
किन मर्न चाहन्छन् दीपक ?
दीपकप्रसाद भण्डारी २०६६ सालमा दुर्घटनामा परे। उनी त्यसयता पूर्ण अशक्त बनेका छन्। उनको कम्मरमुनीको भाग चल्दैन। घरमा आमा, श्रीमती र छोरी छिन्। आमाक वृद्भ भइसकेकी छिन्। १६ वर्षीया छोरी कक्षा ११ मा पढ्दै छिन्। गत वैशाखमा सोलार सफा गर्ने क्रममा त्यसको ब्याट्री बिस्फोट हुँदा श्रीमती कल्पना भण्डारीको शरीर एशिडले जल्यो। त्यसयता, अहिले उनी काठमाडौंस्थित सुष्मा मेमाेरियल अस्पतालको शैय्यामा छिन्।
यता, अशक्त दीपकप्रसादसँग घरमै सुतेर दिन बताउनुको विकल्प छैन। छोरीले उनको हेरचाह गर्दै आएकी छिन्।
निराशा बढे दीपकले बाँच्ने आशा मारेको हुनसक्ने वडाध्यक्ष पदमराज वाग्लेले बताए। ‘‘राम्रो पढाई गर्दै थिए। जागिर खाने बेलामा र केही गर्छ भन्ने बेलामा उनी दुर्घटनामा परे। कट्टीभन्दा तल शरीरको भाग केही चल्दैन। यसैले उनी दुखी थिए,’’ वडाध्यक्ष वाग्ले भन्छन् ‘‘त्यसमाथि पनि श्रीमती पनि घाइते भएपछि उनी उनी थप दुखी भएका हुनसक्छन्।’’
दीपकप्रसाद भण्डारीकी श्रीमती, जो सुष्मा मेमोरियल अस्पतालमा उपचाररत छिन्
एकतातिर पढाई अर्कोतिर अपांगता भएका बाबुको हेरचार गर्नुपर्ने छोरीको बाध्यता देखेर दीपक आफैं हैरान देखिन्छन्। आफु अशक्त भएपछि पतिको मनोबल कमजोर भएको हुनसक्ने दीपककी पत्नी कल्पनाले बताइन्। ”उहाँलाई हेर्ने म मात्र थिए। कमाएर पाल्ने पनि मै थिए। म पनि असक्त बनेको छु। त्यसैले विरक्तिएर मृत्युवरण गर्न चाहनुभएको हुनसक्छ,” कल्पनाले भनिन्।
दीपकप्रसाद भण्डारी, श्रीमती कल्पना र छोरी
मानवअधिकार आयोग भन्छ– बाँच्नका लागि प्रेरित गरियोस्
इच्छामृत्युको माग गरिररहेका दीपकलाई बाँच्न प्रेरित गर्नु पर्ने मानवअधिकार योगका प्रवक्ता डा टीकाराम पोखरेल बताउँछन्। नेपालमा इच्छामृत्युको कानुन नभएको उनले बताए। त्यस्तो कानून बनाउन पनि नहुने उनको तर्क छ।
डा. टीकाराम पोखरेल, प्रवक्ता, राष्ट्रिय मानवअधिकार आयोग
‘‘बाँच्नका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था आउँदैमा, मर्न पाउनु पर्छ भन्ने माग गर्नु गलत हो। विश्वका केही देशमा त्यो कानुन हुँदैमा हाम्रोमा पनि त्यस्तै कानुन बनाउन माग गर्नु राम्रो होइन,’’ डा पोखरेल भन्छन् ‘‘हाम्रो समाज इच्छामरणको बाटोमा जानै हुँदैन। एक जनाको व्यक्तिगत स्वतन्त्रता मात्र हेर्ने होइन। सिङ्गो समाजलाई हेरेर यो विषयमा बहस छलफल चलाउने हो।’’
यस्तो छ प्रधानमन्त्रीलाई दीपकप्रसाद भण्डारीको पत्र
श्री सम्माननीय प्रधानमन्त्रीज्यू नेपाल सरकार, सिंहदरबार काठमाडौं विषयः ‘इच्छा मृत्यु’ वा ‘सेवा सुविधा’ भन्ने सम्बन्धमा
उपरोक्त विषयको सम्बन्धमा म २०६६ सालमा दुर्घटनामा परी अपाङ्गता हुन पुगेको एक पूर्णअपाङ्ग व्यक्ति हुँ। म आफ्नो कुनै पनि काम आफैं गर्न सक्दिँन। मैले जीउनको लागि चौबिसै घण्टा दोस्रो व्यक्तिको सहारा लिनुपर्छ। अशक्तताका कारण म त पीडित छँदैछु, मेरो कारण परिवारजनलाई समेत पीडा छ।
पहिले म सपाङ्ग रहदाँ र आज अपाङ्ग भैसकेपछि पनि आजको मितिसम्म मैले राज्यलाई तिर्नुपर्ने कर भुक्तान गरेकै छु। तथापि यस्तो अवस्थामा पनि मैले राज्यबाट पाउनुपर्ने (राज्यले निर्माण गरेको अपाङ्गता नियमावली अनुसारको ) आवश्यक सेवा सुविधाका लागि पटक -पटक स्थानीय सरकारसँग निवेदन गर्दापनि प्राप्त गर्न नसकेकले अब उप्रान्त मेरो एक मात्र विकल्प ‘इच्छा मृत्यु’ हो भनी रोजेको हुँ। तसर्थ, मेरो अन्तिम इच्छा पूरा गरिदिनुहोस्।
म एक पटक प्रधानमन्त्री ज्यु तपाईँसँग प्रत्यक्ष भेटी मेरो पीडाको अवस्था र आवश्यकताको यथार्थता तपाईँलाई तपाईँकै आँखा अगाडि प्रत्यक्ष अवगत गराउन चाहन्छु। प्रधानमन्त्री ज्यु, एक चोटि तपाईले मेरो ठाउँमा रहेर मेरो पिडाको महसुस गरेर हेर्नुहोस्। मलाई देख्दैमा मात्र पनि तपाईको मन कस्तो हुन्छ। तपाईका आँखा कति रसाउँछन् आत्मामा कति पोल्छ र खिन्नता महसुस हुन्छ, त्यही समयले बताउँछ। अनि तपाईँले मलाई देखेर महसुस गरेको पीडाको आधारमा म लगायत म जस्तो पीडामा छटपटी रहेका पीडितहरुको लागि सहजताको प्रबन्ध गरिदिनोस्।
म र म जस्ता कठिन परिस्थितिमा बाँच्न बाध्य पीडित व्यक्तिहरूको हितलाई ध्यानमा राख्दै आवश्यक सेवा सुविधाको समुचित प्रबन्ध मिलाउने विषयमा तपाईसँग प्रत्यक्ष कुराकानी गरी सर्वमान्य समाधान निकाल्न चाहन्छु। यसको लागि यसै निवेदनमार्फत हार्दिक अनुरोध गर्दछु।
पक्कै पनि प्रधानमन्त्री ज्युले भेट्ने वातावरण मिलाउनु हुनेछ भन्ने आशा राखेको छु। आशा छ, यस्तो गम्भीर विषयमा प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण हुनेछ। र, वार्ता गर्ने अवसर मिल्नेछ। साथै यो निवेदन प्रधानमन्त्री ज्यु समक्ष पुर्याउन सहयोग गरिदिनुहुनेछ भन्ने आशा सबै मित्रहरूसँग राखेको छु।
Facebook Comment
Comment