खेलाडी र क्यान द्वन्द्वले हार्दैछ नेपाली क्रिकेट

यो अन्तरद्वन्द्वमा खेलाडी वा क्यान पदाधिकारी कसको जित होला थाहा छैन तर हार भने नेपाली क्रिकेटको हुने पक्का छ। यो लफडाले अबका दुई वर्षमा नेपालले देखेको सपना, दोस्रो पटक टी-ट्वान्टी विश्वकप र पहिलो पटक एकदिवसीय विश्वकप खेल्ने, धमिलो बनिरहेको छ।

खेलाडी र क्यान द्वन्द्वले हार्दैछ नेपाली क्रिकेट
फाइल फोटो

काठमाडौं। ‘हामी र हामीजस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुभाग्यपूर्ण अवस्था नबनोस्,’  नेपाल क्रिकेट संघ (क्यान) लाई कारबाहीमा परेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीको जवाफ हो यो।

आउँदो विश्वकप छनोटको तयारीसम्ममा क्यानले कारबाहीमा पुनर्विचार गरेमात्रै राष्ट्रिय टिमबाट खेल्ने कुरा टुंगो लाग्‍ने कारबाहीमा परेका खेलाडीले बताएका छन्।

पछिल्लो समयमा नेपाली क्रिकेटमा देखिएको घटनाक्रमले राम्रो संकेत देखाइरहेको छैन। नेपाली क्रिकेटमा यो वर्ष भएका दुई घटनाले ठूलै तहल्का मच्चायो।

गत साउन १९ गते पारस खड्काले अप्रत्यासित रूपमा नेपाली क्रिकेटबाट संन्यास लिने घोषणाले नेपाली समर्थकलाई जति तरंगित बनाएको थियो, त्योभन्दा ठूलो तरङ त गत बुधबारको नेपाल क्रिकेट संघ (क्यान)को निर्णयले पैदा गर्‍यो।

क्यानले अनुशासन उल्लघंन कारण देखाउँदै क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी तथा सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गर्‍यो।

क्यानले जारी गरेको विज्ञप्तीमा सोझै कारबाही भनिएको नभएपनि, घुमाउरो शैलीमा यो कारबाही नै हो। हुन त शुरुमा खेलाडीलाई प्रतिबन्ध लगाउन सकिने निष्कर्षमा समेत छानबिन समिति पुगिसकेको थियो। तर, कप्तान ज्ञानेन्द्र मल्लसहित खेलाडीलाई प्रतिबन्ध लगाउने निर्णय सुनाएको भए नेपाली खेलकुदमा ठूलै वितण्डा हुन सक्थ्यो।

त्यसैले अन्त्यमा क्यानको बोर्ड बैठकले निकै ‘डिप्लोम्याटिक’ कदम चाल्यो। ‘सर्प पनि मर्ने लट्ठी पनि नभाचिने’ गरी  अर्थात् प्रतिबन्ध नलगाई क्यानले खेलाडीलाई कारबाही गरेको छ।

क्यानले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान तथा उपकप्तानको पदबाट पदमुक्त गरेर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दियो। त्यस्तै, चारै जना खेलाडीलाई सन् २०२२ को खेलाडी सम्झौतामा शुरुको ६ महिनाका लागि समावेश नगराउने निर्णय गरेको छ। जसको अर्थ अब यी चार खेलाडीले सन् २०२२ को पहिलो ६ महिना खेलेको पारिश्रमिक पाउने छैनन्।

कार्यक्रममा पूर्वकप्तान ज्ञानेन्द्रले भने, “नेपाली क्रिकेट रोक्ने हाम्रो कुनै पनि सोच होइन, केही समयपछि नै विश्वकप छनोट तथा विश्व क्रिकेट लिग डिभिजन-२ जस्ता ठूला प्रतियोगिताहरू आउँदैछन्। हामी क्यानसँग मिलेर जान तयार छौ। जति सक्दो चाडो क्यानले संवादमा बोलाएर यो समस्यको समाधान गरोस् भन्ने हाम्रो चाहना हो।”

क्यान र खेलाडीको झगडाचाहिँ के हो ?

सतहमा हेर्दा क्यान र खेलाडीबीचको विवाद खासै ठूलो त होइन। यही विवादका कारण कारबाहीको तहसम्मै जानुपर्ने अवस्था पनि देखिन्‍न।

क्यानको गत असोजमा बसेको बोर्ड बैठकले खेलाडीसँग नयाँ वार्षिक सम्झौताका लागि नयाँ वर्गीकरण सूची पारित गरेको थियो। तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा गठित समितिले सन् २०२१ को अप्रिलदेखि डिसेम्बरसम्म सम्झौताका लागि नयाँ वर्गीकरण सूची बनाएको थियो।

जसमा खेलाडीको प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका प्रमुख आधारमा क्यानले खेलाडीहरूलाई तीन श्रेणीमा बाँडिएको थियो। त्यस वर्गीकरणअनुसार राष्ट्रिय क्रिकेट टिमका पूरुष खेलाडीहरूले ‘ए’ श्रेणीमा पर्नेले मासिक ५० हजार, ‘बी’ मा पर्नेले मासिक ४० हजार र ‘सी’ मा पर्ने खेलाडीले मासिक ३० हजार पाउने व्यवस्था छ।

विशेषगरी सोही वर्गीकरणमा क्यानले नेपालका फाष्ट बलर सोमपाल कामीलाई ‘बी’ श्रेणीमा राखेको, अघिल्लो वर्ष २० खेलाडीलाई सम्झौता गरेकोमा यो पटक घटाइएर १८ जनासँग मात्र गरिएको, राष्ट्रिय टिममा परेका केही खेलाडीलाई नयाँ वार्षिक सम्झौतामा समावेश नगराइएको लगायत विषयमा यी चार खेलाडी असन्तुष्ट थिए।  उनीहरुले मिडियामार्फत यो विषय बाहिर ल्याए।

हुनत: गत वर्ष पनि क्यानले गरेको वर्गीकरणमा खेलाडीहरूले असन्तुष्टि जनाएका थिए। त्यसपछि क्यानले वर्गीकरणमा आफ्नो गल्ती स्विकार्दै खेलाडीको श्रेणीमा पुनरावलोकन गर्दै हेरफेर गरेको थियो। तर, यो पटक क्यानको रवैया फेरियो।  आधिकारीक रूपमा संघमा कुरा राख्‍नुको साटो मिडियामा गएको भन्दै चारै जना खेलाडीसँग क्यानले स्पष्टीकरण माग्यो।

यसपछि खेलाडीहरूले क्यानसमक्ष लिखित स्पष्टीकरण त बुझाए। तर, फेरि  खेलाडीहरूको एक समूहले पनि क्यानसामु विभिन्न प्रश्नहरू तेर्‍स्याउँदै ११ बुदे ज्ञापनपत्र बुझायो। आफ्ना प्रश्नहरूको सम्बोधन र जवाफका लागि क्यानलाई नै सात दिनको अल्टिमेटम पनि दिए।

उक्त ज्ञापनपत्रमा खेलाडीहले वार्षिक सम्झौताका लागि गरिएको वर्गीकरणका आधारहरू, विदेश खेल्न जाँदाको भ्रमण भत्ता घटाइएको, सात महिनाअघिको ट्राई नेसन्स् सिरिज जित्दाको घोषणा गरेको नगद पुरस्कार नपाएको, राष्ट्रिय टिमको जर्सीको प्रायोजनबापत रकमको हिस्सा खेलाडीले नपाएको र खेलाडीको बिमा, उपचारको उचित व्यवस्था नभएको लगायत प्रश्न उठाएका थिए।

उल्टो आफूमाथि प्रश्नको ओइरो लागेपछि क्यान झन् चिडियो र पहिलो पटकको स्पष्टीकरण चित्त नबुझेको भन्दै दोस्रो पटक पुनः स्पष्टीकरण माग्यो। दोस्रो पटकको स्पष्टीकरण चित्त नबुझेपछि क्यानले अन्ततः कारबाहीको निर्णय गर्‍यो।

यहाँ मिडियामा बोलेका भन्दा पनि क्यानको ठूलो टाउको दुखाइ त खेलाडीहरूले वर्गीकरणमा चित्त नबुझाएको कुरामा थियो। अझ योभन्दा पनि क्यानले भनेको कुरा खेलाडीले नमान्ने प्रवृत्ति बढ्दै गएको र खेलाडीहरू नै गुट बनाएर क्यानविरुद्ध बोल्दै हिँडेका कारण यो कदम चालिएको क्यानका पदाधिकारीहरु बताउँछन्।

‘आफ्नो हक अधिकारका लागि आवाज उठाउँदा देशका लागि वर्षौं खेलेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी क्रिकेटप्रति आकर्षित होलान् ?’ खेलाडीहरूले क्यानलाई सोधेका छन्।

पूर्वकप्तान मल्ल भन्छन्, “मलाई खेलाडीहरूको कप्तान बनाएपछि स्वतः सबै खेलाडीहरूको लिडर म नै बन्ने हो। बाँकी अरू गुट कसले बनायो मलाई थाहा छैन। मैले मेरा खेलाडीहरूको हकहितका लागि बोल्दा अनुशासन नभएको आरोप लाग्यो।  यति ठूलो कारबाहीको भागिदार हुनेगरी हामीले त्यस्तो केही गरेजस्तो लाग्दैन।”

‘आफ्नो हक अधिकारका लागि आवाज उठाउँदा देशका लागि वर्षौं खेलेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी क्रिकेटप्रति आकर्षित होलान् ?” खेलाडीहरूले सोधेका छन्।

नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरी खेलका लागि राम्रो वातावरण बनोस् र यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै खेलाडी वर्गीकरण र कारबाहीको निर्णयलाई पुनर्विचार गरोस् भन्ने उनीहरूको चाहना छ।

विश्वकप छनोट खेल्न अब दई महिना पनि बाँकी छैन। यदि त्यो बेलासम्म क्यानले पुनर्विचार नगरे आफूहरू राष्ट्रिय टिमबाट नखेल्ने सम्मको आशय यी खेलाडीहरूले देखाइसके।

उता क्यानले भने सन्दीपलाई कप्तान घोषणा गरेर आगामी मंगलबारदेखि पोखरामा बन्द प्रशिक्षण गर्ने घोषण गरिसकेको छ। जसका लागि नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके सोमबारसम्म नेपाल आइपुग्ने बताइएको छ।

क्यान र खेलाडीहरू एकअर्कामा समस्या दोषारोपण गर्न व्यस्त छन्। दुवै पक्ष समस्या समाधानका लागि एक अर्कासँग नझुक्ने मनसायमा छन्। यस्तो अवस्थामा कसरी होला यो समस्या समाधान ?

यो समस्या समाधान नभए क्यान र विवादित खेलाडीबीचको खाडल झन बढ्ने पक्का छ। नेपाली टिमका प्रमुख यी चार खेलाडीले विश्वकपको छनोटमा नखेलेमा नेपालको प्रदर्शनमा कस्तो असर पर्ला? यो मानसिक तनावमा  यी खेलाडीले देखाउने खेल कस्तो होला ?

अन्तरद्वन्द्वमा खेलाडी वा क्यान पदाधिकारी कसको जित होला थाहा छैन तर हार भने नेपाली क्रिकेटको हुने पक्का छ।  अबका दुई वर्षभित्र टी-ट्वान्टी विश्वकप र पहिलोपटक एकदिवसीय विश्वकप खेल्ने नेपालको योजनामा  यो द्वन्द्व बाधक बन्‍नसक्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved