सभापतिमा शेखरलाई जिताउन गगन थापाले गरे यस्तो अपिल

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो चरणको मतदानमा डा शेखर कोइरालाई जिताउन महामन्त्रीका उम्मेदवार गगन थापाले अपिल गरेका छन्।

आज उनले ट्वीरमार्फत ‘पार्टी रुपान्तरण र परिवर्तनका पक्षमा देखिएको उत्साह र उपस्थितिले पार्टीलाई नयाँ ढंगले बढ्नुपर्छ भन्ने उत्साह देखिएको’ उनले लेखेका छन्। थापा १४ औं महाधिवेशनमा डा कोइरालाको प्यानलमा छन्। आज उनले एक पेज लामो अपिल जारी गर्दै लेखेका छन्।

सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो साढे तीन बजेदेखि साँझ साढे सात बजेसम्म हुने भएको छ। पहिलो चरणमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवाले २२५८ मत ल्याउँदा अर्का डा शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका थिए।

हार्दिक अपिल

आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरू,

नेपाली कांग्रेस १४औँ महाधिवेशनको दौरान हिजो सम्पन्न निर्वाचनमा तपाईँहरूले पार्टी रूपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा देखाउनु भएको उत्साह र उपस्थितिले अब पार्टी नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने कुराको स्पष्ट संकेत गरिसकेको छ। तपाईँहरूले पार्टी रूपान्तरणको लागि देखाउनुभएको यो अदम्य साहस र आँटको म खुलेर प्रशंसा गर्दछु। सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईँको चाहना हो भन्ने म ठान्दछु ।

अब त्यो चाहनालाई मतपत्र मार्फत प्रकट गर्ने क्षण आएको छ । नेपाली काँग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दूरगामी महत्त्वको निर्णय गर्ने क्षण हो। यस घडीमा इतिहासले हामीसँग त्यही असाधारण निर्णय लिन आव्हान गरिरहेको छ । देशभर छरिएर रहेका कांग्रेसजन, शुभेच्छुकतथा आम जनताले आज त्यस्तो निर्णय लिन सक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका छन् । इतिहासको आव्हानलाई स्विकार्दै आम अपेक्षा अनुरूप कांग्रेस पुनर्जागरण र रूपान्तरणको यात्रा यो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ । त्यसको आरम्भ

आज तपाईँको मतमार्फत हुनेछ भन्नेमा म विश्वस्त छु ।

महाधिवेशन लगत्तै हामी तीन तहको निर्वाचनमा होमिनुपर्नेछ, त्यस निर्वाचनमा पार्टीले एक्लै जित्ने बनाउन लाखौँ मतदातालाई आकर्षित गर्नु पर्दछ, त्यसको लागि नयाँ उत्साह र जागरण आवश्यक छ। हामीले आज त्यो उत्साहको सञ्चार गर्न सक्नपर्छ । संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेतिथिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ । के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका सम्भव होला त रु हामीसँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ । आफ्नो अन्तरमनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ ।

विगतमा बिपी कोइरालाले अनेक पटक अन्तरमनको आवाज सुनेर यस्तै निर्णय गर्नुहुन्थ्यो, गणेशमान सिंह पनि त्यसको अपवाद हुनुहुन्थेन आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ । इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौँ ले पछुताउनु पर्दछ । त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन।

समुन्नत नेपाल सम्मानित नेपाली को सपना, यो पुरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, त्यसका लागि चाहिने साङ्गठनिक आधार र जुझारु नेतृत्व काँग्रेसले दिन सक्छ कि सक्दैन यो नै १४औ महाधिवेशनको मूल चुनौती हो । यो पटक हामी चुक्यौँ र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कार्मद्वारा प्रमाणित गर्न सकेनौँ भने इतिहासले हामीलाई क्षमा गर्ने छैन।

त्यसैले, आज निर्णय गर्ने बेला आएको छ, तपाईँको एक भोट आज यो मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ । तपाईँको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान९विन्दु हुनेछ। एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रूपान्तरणको लागि डा। शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपिल गर्दछु। जय नेपाल ।

गगन कुमार थापा
मिति २०७८ मङ्सिर २८

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved