नेपाली कांग्रेसको महाधिवशेन

प्रचार डिजिटल, भोट हाल्न ट्याङ्कीमा प्वाल

पार्टीलाई डिजिटल प्रविधिमा लैजाने भन्दै महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसले एप सार्वजनिक गर्याे। तर, मतदानमा भने पानी भर्नको प्रयोग हुने ट्याङ्कीलाई मतपेटिका बनाइएपछि कार्यकर्ता चकित परे ।

प्रचार डिजिटल, भोट हाल्न ट्याङ्कीमा प्वाल

काठमाडौं। नेपाली कांग्रेसको १४ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजे मतदान शुरु हुने भनियो। उत्साहित मतदान समयअगाबै मतदान स्थल राष्ट्रिय सभागृह बाहिर लाइन लागे। ८ बज्दा महाधिवेशन प्रतिनिधिको ठेलमठेल लाइन दुई वटा भैसकेको थियो। लाइनबाहिर पनि उत्तिकै मतदाता थिए। उम्मेदवारहरू पनि मत माग्न आउने जाने गरिरहेका थिए।

तोकिएको समय घर्किसक्दा पनि मतदान शुरु भएन। लामो लाइनमा घण्टौँसम्म उभिँदा उत्साहित मतदाता थकित देखिन्थे। किन मतदान शुरु भएन ?’ उनीहरु एक आपसमा चासो राख्थे।

तर फरक फरक व्यक्तिहरू फरक फरक जवाफ दिन्थे। एक जना भन्दै थिए – सभापति शेरबहादुर देउवाले मतदान गरेपछि शुरु हुन्छ, उहाँ नआइपुगेकाले ढिला भयो। अर्काले भन्दै थिए – मतदानको तयारी बाँकी नै छ। त्यही भिडमा कसैले भन्दै थिए –शेरबहादुर प्यानलले पहिलो चरणमा नै चुनाव जित्नको लागि केही रणनीति बनाउँदै होलान्, यसैले ढिला गरेका हुन्।

यस्तै यस्तै जिज्ञासा र जवाफ चल्दै गरेका देखिन्थे। यसैबीचमा साँढे ९ बजे एउटा गाडी राष्ट्रिय सभा गृह भित्र छिर्याे। मतदानस्थलमा पुगेपछि गाडीबाट केही बाकस निकालिँदै थियो। के रहेछ भनेर धेरैको चासो त्यही थियो। मतपत्र पो ल्याइएको रहेछ। मतदान शूरु गर्ने समय बिहान ८ बजे तोकेको निर्वाचन समितिले डेढ घण्टा ढिलो मत पत्र ल्यायो।

निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले भने ‘‘मतपत्र छपाइको लागि ढिला भयो। रातभरि नै काम गरेका हौँ। तर, के गर्नु भर्खरै छपाई सकियो। सिधै प्रेसबाट यहाँ ल्यायौँ।’’

मतपत्र आएपछि मतदान शुरु हुने भयो भन्दै लाइनमा बसेका मतदाता उत्साहित भए। तर त्यसको एक घण्टा बित्दा पनि शुरु भएन। मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर गर्नुपर्ने भएकाले ढिला भएको जवाफ आयो। ४ हजार ७ सय बढी मतपत्रमा अधिकृत आफैँले हस्ताक्षर गर्नुपर्ने एक अधिकारीले बताए। त्यसपछि पनि बाँकी तयारी गर्नुपर्ने ती निर्वाचन समितिका एक सदस्यले सुनाए।

उनले भने ‘‘के गर्नु मतपत्रमा भोट हालिने भएपछि मतपत्रको डिजाइनदेखि प्रेसमा छाप्ने, ल्याउने, हस्ताक्षर गर्ने, बुथमा लैजानेलगायतका धेरै प्रक्रिया पुरा गर्नुपर्छ यसको लागि धेरे समय लाग्छ। यो ज्यादै झन्झटिलो छ।’’

भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर गरी ३ स्थानमा मतदान बुथ थियो। राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ एवं शुभेच्छुक संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताको लागि थियो।

भृकुटीमण्डप परिसरमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान केन्द्र तोकिएको थियो भने प्रदर्शनी कक्षमा प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको थियो।

तीनै वटा बुथमा मतदाता ठेलमठेल गरी लाइनमै थिए। कोही आफूले समर्थन गरेका नेताको नाम लिँदै नारा लगाउँथे। कोही टिकटक भिडियो बनाएर रमाइलो गरिरहेका थिए। बीचबीचमा मत माग्न उम्मेदवारहरू आइरहेकै थिए।

यत्तिकैमा साँढे ११ बजेपछि सभागृहमा रहेको बुथमा प्रहरीले मतदातालाई मत हाल्न भित्र छिराउन थाल्यो। पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो बुथमा छिरे। त्यसपछि प्रतिनिधीहरुको भोट ट्याङ्कीमा खस्न थाल्यो।

तर, मतदान गर्न गएका प्रतिनिधि आधा घण्टाभन्दा बढी समयपछि मात्रै फर्कन्थे। ‘‘भोट हाल्न पनि किन यत्ति धेरै समय लगाएको ?’’ यो प्रश्नमा उनीहरु भन्थे ‘‘२९ प्रकारका मतपत्र रहेछन्। त्यति नै ठाउँमा भोट हाल्नुपर्ने। विभिन्न कल्स्टरहरूमा उम्मेदवारहरूलाई भोट हाल्नुपर्ने हुँदा बढी समय लाग्यो।’’

कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदमा झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका थिए। ती सबैमध्येबाट छानेर भोट हाल्दा प्रतिनिधिहरूलाई समय लागेको रहेछ। फेरी मतपत्र पनि फरक–फरक र ती सबैको भोट खसाल्ने ठाउँ पनि अलग–अलग भएकाले समय लागेको रहेछ।

यी सबै झन्झटको कारण परम्परागत चुनावी प्रक्रिया अपनाएकै कारण भएको नेताहरु स्विकार्थे। कांग्रेसले इलेकट्रोनिक्स भोटिङ मेसिनमा भन्दा ट्याङ्कीमा भरोसा गरेपछि मतदान लामो र झन्झटिलो भएको देखियो। यदि मेसिनको प्रयोग गरेको भए समयमै मतदान शुरु भएर केही घण्टाभित्रै मत परिणाम आइसक्ने थियो।

भोट माग्न सबै नेताले फेसबुक, युट्युब तथा ट्वीटरको उपयोग गरेका छन्। पार्टीलाई डिजिटल प्रविधिमा लैजाने भन्दै महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसले एप सार्वजनिक गर्याे।

काँग्रेसी नेताहरु जमाना अनुसार चल्ने भन्दै प्रविधिको अत्यधिक उपयोग गर्नुपर्छ भनेर थाक्दैनन्। तर मतदान प्रक्रियामा भने पानी पानी ट्याङ्कीलाई मतपेटिका बनाइएपछि कार्यकर्ता चकित परेका छन्।

एमाले र राप्रपाले मेसिन प्रयोग गर्दा कांग्रेसले किन गरेन?

यसअघि नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका इलेकट्रोनिक भोटिङ मेसिन (इभिएम)को प्रयोग गरेको थियो। उसले एक सय वटा इभिएमको प्रयोग गरेको थियो।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि अध्यक्षबाहेक अरू पदमा इलेकट्रोनिक मेसिन प्रयोग गरेको थियो। जसले गर्दा मतदान प्रक्रिया छिटो छरितो मात्र भएन गणना कार्य समेत सहज भयो।

कांग्रेसमा पनि यही मेसिन प्रयोग गर्ने चर्चा थियो। तर मनोनयनसँगै कांग्रेसले मतदानका लागि हरियो रंगका पानीट्यांकी ल्यायो। ५ सय लिटर क्षमताका एक सय वटा पानीट्यांकी ल्यायो। अनि आइडिया लगाइयो ट्याङ्कीको बिर्कोमा भोट खसाल्न मिल्ने गरी प्वाल पार्ने।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले नेतृत्वसँग डिजिटल प्रविधि प्रयोगको प्रस्ताव गरे पनि त्यो कार्यान्वयन नभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

उनले भने ‘‘हामीले दुई महिनाअघि नै पार्टी नेतृत्वसँग हामी विद्युतीय मतदानका लागि तयार हुनुपर्छ भनेर प्रस्ताव गरेको थियौ तर, मानिएन। यसैले मतदान झन्झटिलो भयो। सम्पूर्ण प्रतिनिधिसँग म व्यक्तिगत रुपमा माफी चाहन्छु। अर्को महाधिवेशनबाट पूर्ण रुपमा इलेकट्रोनिक भोटिङमा जानेछौँ।’’

इलेकट्रोनिक भोटिङ मेसिन प्रयोग गर्दा गडबड गरेर चुनाव हराउन सक्ने शङ्का गर्दै सभापति शेरबहादुर देउवा पक्षले प्रयोग नगरेको हुनसक्ने केहीको आशङ्का छ। तर निर्वाचन समितिले भने आयोगले भने अनुसार नै गरेको बताएको छ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले भने ‘‘महाधिवेशन आयोजक समितिले भनेअनुसार परम्परागत मतदान गराएका हौँ। इलेकट्रोनिक भोटिङ मेसिन प्रयोग नहुनुमा हाम्रो दोष छैन।’’

प्रचार मात्रै डिजिटल

उम्मेदवारहरूले भने प्रचार डिजिटल शैलीमै गरेका थिए। उनहिरुले सामाजिक सञ्जालमा आफ्ना प्रचार सामग्री राख्नेदेखि बुष्टसम्म गरेका थिए। सभापतिदेखि केन्द्रीय सदस्य पदका सबैजसो उम्मेदवारले पेजमा प्रचार सामग्री राखेका थिए।

महाधिवशेनस्थलमा डिजिटल डिस्प्लेबाट पुराना भाषण र रेकर्ड समेत प्रसारण गरेका थिए। चुनावी प्रचार समयअनुसारको डिजिटल हुँदै गर्दा महाधिवेशन प्रतिनिधिले पनि मतदान डिजिटल हुने अपेक्षा गरेका थिए।

मतदानस्थलमा भेटिएकी प्रतिनिधि मिना कुमारी बोहराले भनिन् ‘‘नेताहरु नयाँ प्रविधिबाट जान्छौँ, नयाँ पुस्ता ल्याउँछौँ, नयाँ संरचना बनाउँछौँ भनिरहेका छन्। तर पार्टी कहिल्यै नसुध्रिने देखियो। महाधिवेशनमा भने इलेक्ट्रिक भोटिङमा विश्वास नगर्दा हामीले पाउनुसम्म दुख पायौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved