कांग्रेस १४ औँ महाधिवेशन

चुनावी नतिजाबारे सिंह, कोइराला र खाँडको यस्तो छ भनाइ

शशांकले भने, “म कस्तो हुँ भने कांग्रेसलाई एकवद्ध बनाएर लैजानुपर्छ भन्ने मान्छे हो । त्यसैले कुनै पक्षलाई म केही भन्दिनँ ।’

नेपालभ्युज

चुनावी नतिजाबारे सिंह, कोइराला र खाँडको यस्तो छ भनाइ

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताएका छन्।

सोमबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताए।

खाँडले महामन्त्रीमा आफूले उम्मेदवारी दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सीमित रहेको समेत बताए। उनले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको बताए।

मन्त्री खाँडले प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको पनि बताए। उनले पार्टीको १५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने पनि दाबी समेत गरे।

“पुराना अनुहारहरुको पनि यो पार्टीमा धेरै योगदान छ । युवापुस्ताहरु पनि आउनु भएको छ”, खाँडले भने, “त्यसैले पुराना र युवा पुस्तालाई संयोजन गरेर हामी अघि बढ्नेछौँ । १५ औँ महाधिवेशनमा नेपाली कांग्रेस विद्युतीय मतदानमा जान्छ।”

कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताए। आफू जहिल्यै पनि कांग्रेसलाई एकतावद्ध बनाएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उनले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताए।

“म कुनै पक्षमा जान्नँभन्दा किन अचम्म ? मैले भनिहालेँ नि आफ्नो स्वविवेकले भोट दिन्छु । मैले आफ्ना सभर्थकलाई भनेको छु, मैले ४ वटै पक्षलाई लिएर जानुपर्छ भन्ने मान्छे हो”, शशांकले भने, “म कस्तो हुँ भने कांग्रेसलाई एकवद्ध बनाएर लैजानुपर्छ भन्ने मान्छे हो । त्यसैले कुनै पक्षलाई म केही भन्दिनँ ।’

१४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताए। उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताए।

“बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि २०४८ सालदेखि महाधिवेशनको अनुभव गरेका छौँ”, सिंहले भने, “यसपटक नेतृत्वको असक्षमता, नेतृत्वको असफलता, पार्टीलाई विधानले निर्देशित गरेका कार्यहरु गर्न नसकेको कारणले क्रियाशील सदस्यतामा पनि ढिलो भयो । नियमहरुमा मनपर्दी गरेर समयावधि सकिसकेपछि महाधिवेशन गरिएको छ ।”

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन २४ मंसीरदेखि भृकुटीमण्डमा जारी छ। अहिले पार्टी नेतृत्व चयनको लागि मतदान भइरहेको छ ।

पार्टीको नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved