काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई विकृतिको अखडा बनाउने प्रयास भएको दाबी गरेका छन्। उनले विकृति र विसंगतिबाट देशलाई मुक्त गर्नका लागि पार्टीमा परिवर्तन आवश्यक रहेको बताए।
‘‘अहिले हाम्रो गति रोकिएको छ। यसलाई अघि बढाउन जरुरी छ। विकृति र विसंगतिबाट राष्ट्रलाई अघि बढाउनु छ। भ्रस्टाचार, कमिशनतन्त्र, र सेटिङका कुरा जुन आइरहेका छन्। त्यसबाट राष्ट्रलाई मुक्त गरेर निमुखा जनतालाई न्याय र विपन्नलाई आयको व्यवस्था गर्नुपर्छ,’ कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले भने,‘‘निमुखाले न्याय पाउन सकेको छैनन्। सामान्य मानिसले न्यायले पाउने नेपाल बनाउन जरुरी छ। हाम्रो पार्टीभित्र नै नैतिक शक्तिको उत्थान गर्न जरुरी छ। हाम्रो पार्टीलाई जुन विकृतिको अखडा बनाउन खोजिएको छ, त्यसबाट मुक्त गरेर स्वच्छ, निर्वाचन, स्वच्छ प्रतिस्पर्धा र स्वच्छ प्रणालीको निर्माण गर्नसकेमात्र लोकतन्त्र स्वच्छ हुन्छ । लोकतन्त्रका लागि जन्मिएको पार्टीले नै लोकतन्त्रलाई स्वच्छ पार्नसक्छ’’, पौडेलले भने,‘‘हामीले निष्ठापूर्वक काम गर्नसक्यौं भने परिस्थिती र समाजलाई बदल्न सक्छौं । यही कुरा विश्वास गरौं । परिवर्तन आजको आवश्यकता हो ।’’
कांग्रेसले अरुका एजेन्डा बोक्न छाडेर आफ्नै एजेन्डालाई अघि बढाउनुपर्ने उनले बताए। ‘अरुका एजेन्डा बोक्नु पर्दैन, हाम्रै एजेन्डालाई सही रुपमा अघि लैजानुपर्छ। २०१५ सालको चुनावमा दुई तिहाई ल्याएको, दलित, गरिब, किसान, मधेसी, सम्पूर्ण विपन्न, थारु, मुसलमान, उत्पिडित वर्गको प्रतिनिधि बनेको कांग्रेसले अरुको एजेन्डा खोज्नुपर्दैन,’’ पौडेलले भने।
Facebook Comment
Comment