काठमाडौं । च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलहरू आजबाट सकिँदै छन्। आज राति ८ वटा खेल हुनेछन्। राति साढे ११ बजे इंग्लिस क्लब चेल्सी र रसियन क्लब जेइन्टबीच प्रतिस्पर्धा हुँदै छ।
समूह ‘एच’ चेल्सी १२ अंकका साथ शीर्ष स्थानमा रहँदा जेइन्ट भने तेस्रो स्थानमा छ। गत वर्षको विजेता चेल्सीले पाँच खेलमा १ हार बेहोरेको छ। १ मात्र जित र १ बराबरी गरेको जेइन्टको भने चार अंक छ। जेइन्ट घरेलु मैदानमा चेल्सीलाई हराउँदै लिगको समूह चरणको अन्त्य सुखद् बनाउने दाउमा छ। ऊ लिगबाट बाहिरिसकेको छ।
यो समूहबाट इटालियन क्लब युभेन्टसले पनि अघिल्लो चरणमा ठाउँ बनाइसकेको छ। चेल्सी समान १२ अंक बनाए पनि ऊ गोलन्तरका आधारमा दोस्रो स्थानमा छ। युभेन्टसले पनि आजै राति साढे ११ बजे यो समूहको पुछारमा रहेको स्वीडेनको क्लब मोल्मोसँग खेल्दै छ। जितविहीन मोल्मोले १ बराबरी गर्दै मात्र १ अंक जोडेको छ। युभेन्टसको घरेलु मैदानमा हुने खेलमा ऊ पनि जित निकाल्दै लिगको समूह चरण सुखद् बनाउने ध्याउन्नमा हुनेछ।
त्यस्तै आजै राति स्पेनी क्लब बार्सिलोना र जर्मन क्लब बार्यन म्युनिख पनि आमनेसाने हुँदैछन्। राति पौने दुई बजे हुने बहुप्रतिक्षित मानिएको यो खेल बार्यनको घरेलु मैदानमा हुँदैछ। समूह ‘ई’ मा बार्यन म्युनिख शीर्ष स्थानमा रहँदा बार्सिलोना भने अघिल्लो चरण प्रवेशका लागि आफ्नो जितसँगै अर्काको हारमा पनि निर्भर छ। पाँच खेलबाट मात्र सात अंक बनाएर नाजुक अवस्था रहेको बार्सिलोना आजको खेलमा हारे र बेन्फिकाले डाइनामो किभलाई पराजित गरे लिगको समूह चरणबाटै बाहिरिने पक्का छ।
यसै समूहमा रहेको डाइनामो किभसँग पाँच अंक छ। उसले पनि आजै राति यही समयमा कमजोर टोली डाइनामो किभसँग घरेलु मैदानमै खेल्दै छ। यसअघि समूह चरणमै घरेलु मैदानमा बार्यन म्युनिखसँग ३-० को लज्जास्पद हार बेहोरेको बार्सिलोनाले आज राति बराबरी मात्र गरे पनि अघिल्लो चरण पुग्न बेन्फिकाको बराबरी या हार कामना गर्नुबाहेक अरू विकल्प ऊसँग छैन।
आजै राति एटलान्टा र भिल्लारियल उल्सवर्ग र लिल अनि आरबी साल्जबर्ग र स्पेनी क्लब सेभिल्ला पनि समूह चरणका अन्तिम खेल खेल्दै छन्।
त्यस्तै क्रिष्टियानो रोनाल्डोको टिम म्यानचेस्टर यूनाइटेडले पनि आज राति योङ बोइजसँग खेल्दै छ। यूनाइटेड समूह ‘एफ’ शीर्ष स्थानमा छ। जारी लिगमा एक मात्र हार बेहोरेको उसले यसै क्लबसँग २-१ ले पराजित भएको थियो। तर आज घरेलु मैदानमा यूनाइटेड त्यसको बदला लिने दाउमा हुनेछ।
Facebook Comment
Comment