के हो ओमिक्रोन भेरिएन्ट, कसरी जोगिने ?

पहिलो डोज वा पूर्ण डोज लिएका मानिसलाई संक्रमण हुने खतरा जति छ, त्योभन्दा धेरै गुणा खतरा खोप नलगाएका मानिसलाई हुने विज्ञहरूले चेतावनी दिइरहेका छन्।

नेपालभ्युज

के हो ओमिक्रोन भेरिएन्ट, कसरी जोगिने ?

काठमाडौं। सबैभन्दा छिटो म्युटेशन हुने अर्थात् स्वरूप बदल्ने कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरिएन्ट नेपालमा पनि आइपुगेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयले नेपालमा रहेका दुई जना विदेशीमा ओमिक्रोन देखिएको पुष्टि गरेको छ।

विश्वभर त्रास सिर्जना गरेको डेल्टा भेरिएन्टभन्दा पनि धेरै म्युटेशन (रूप बदल्ने) हुने ओमिक्रोनलाई विश्व स्वास्थ संगठनले ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा गरिसकेको छ।

यस भेरिएन्टको पहिलो केस २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो, त्यसको एक हप्ताभित्रै भारत, अमेरिका, जर्मनी, फ्रान्सलगायत विश्वका २९ भन्दा धेरै देशमा यो भाइरस फैलिसकेको थियो।

ओमिक्रोनको तीव्र म्युटेशन क्षमताले पूरै दुनियाँलाई चिन्तित बनाएको छ। केही महिनाअघिसम्म विश्वमा त्रास फैलाएको डेल्टा भेरिएन्टभन्दा पनि ओमिक्रोनलाई खतरनाक मानिएको छ।

किनकी, बोत्सवानामा गरिएको अध्ययनअनुसार अहिलेसम्म ओमिक्रोनले ५० भन्दा धेरैपटक स्वरूप परिवर्तन गरिसकेको छ। त्यसैगरी दक्षिण अफ्रिकामा भएको अध्ययनले स्पाइक प्रोटिनमा ३० पटकभन्दा धेरै म्युटेशन भइसकेको देखाएको छ।

नेपालका लागि किन खतरनाक छ ?

ओमिक्रोनका केसहरू ती देशका मानिसमा पनि पाइएको छ, जहाँ सबैले खोप लगाएका छन्। यस्तो अवस्थामा नेपालजस्तो धेरैले खोप लगाउन बाँकी रहेका देशका लागि यो भाइरस चिन्ताको कारण बन्न सक्छ।

नेपालमा अहिलेसम्म १ करोड ४ लाख अर्थात् कुल जनसंख्याको ३४ दशमलव ३ प्रतिशतले पहिलो डोज लिएका छन्। दुई डोज अर्थात् पूर्ण डोज लगाउनेको संख्या ८७ लाख २५ हजार (२८ दशमलव ७ प्रतिशत) छ।

खोपलाई लिएर गरिएको बेवास्ताले ओमिक्रोनजस्ता कोरोनाका नयाँ स्वरूपलाई फैलाउने खतरा एकातर्फ छ, अर्कोतर्फ ओमिक्रोनको असरलाई खोपले कम गर्न सक्दैन भन्ने तर्क पनि भइरहेको छन्। यस्तो हो भने समस्या थप बढ्नेछ।

सबैभन्दा धेरै खतरा कसलाई ?

पहिलो डोज वा पूर्ण डोज लिएका मानिसलाई संक्रमण हुने खतरा जति छ, त्योभन्दा धेरै गुणा खतरा खोप नलगाएका मानिसहरूलाई छ।

कसरी प्रभावहीन बन्नसक्छ खोप ?

ओमिक्रोनलाई अहिलेसम्म सर्वाधिक धेरै रूप बदल्ने भाइरस भनिएको छ। विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले यसलाई ‘भेरिएन्ट अफ कन्सर्न’ को सूचीमा राखिसकेको छ।

यसको स्पाइक प्रोटिनमै ३० पटक म्युटेशन भइसकेको छ। स्पाइक प्रोटिनकै माध्यमबाट मानिसको कोसिकाहरूमा छिर्ने बाटो भाइरसले खोल्छ। खोपले स्पाइक प्रोटिनविरुद्ध नै एन्टीबडी तयार गरेर शरीरलाई यसविरुद्ध लड्न तयार गर्ने हो।

आमिक्रोनको स्पाइक प्रोटिनमा धेरै म्युटेशन भएकै कारण अहिले विद्यमान खोपहरू यसविरुद्ध लड्न कति सफल हुन्छन् भन्ने चिन्ता व्यक्त भएको छ। अहिलेका खोपहरू चीनको उहानबाट आएको ओरिजिनल कोरोना भाइरसको स्ट्रेनलाई नियालेर बनाइएका हुन्।

जबकि, ओमिक्रोनको स्ट्रेन यसभन्दा एकदम अलग छ। यहीकारण नयाँ भेरिएन्टमाथि अहिलेका खोपहरू बेअसर हुन्छन् कि भन्ने आशंका गरिएको हो।

मोडर्नाका चिफ मेडिकल अफिसर पल बर्टनले आगामी वर्षको शुरुआतमै ओमिक्रोनसँग लड्नसक्ने एमआरएनए खोप लन्च गर्न सकिने बताएका छन्। यद्यपि ठूलो परिमाणमा खोपको डोज निर्माण गर्नका लागि औषधि कम्पनीहरूलाई महिनौं लाग्नसक्ने कम्पनीका सीईओ स्टेफेन बेन्सलले बताएका छन्।

सिईओ बेन्सलले विद्यमान खोप ओमिक्रोनविरुद्ध कम प्रभावकारी हुनसक्ने चेतावनी यसअघि नै दिएका थिए। त्यस्तै, फाइजर कम्पनीले ओमिक्रोनविरुद्ध नयाँ खोप ६ हप्ताभित्र तयार गर्नसक्ने र यसको शुरुआती डोज १ सय दिनभित्र उपलब्ध गराउनसक्ने जनाएको छ।

जोगिन के गर्ने ?

ओमिक्रोनबाट जोगिन जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न स्वास्थ तथा जनसंख्या मन्‍‍त्रालयले आग्रह गरिरहेको छ। मास्कको सही प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, भीडभाड नगर्न, निरन्तर हात धुन र खोप अभियानमा सहभागी हुन पनि आग्रह गरिएको छ।

यो पनि पढ्नुहोस्

त्रिभुवन विमानस्थल हुँदै आएका थिए ओमिक्रोन संक्रमित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved