कांग्रेसको १४ औँ महाधिवेशन

महोत्तरी-३ को क्षेत्रीय अधिवेशनको सम्पूर्ण प्रमाणपत्र रद्द, धाँधली भएको ठहर

नेपालभ्युज

महोत्तरी-३ को क्षेत्रीय अधिवेशनको सम्पूर्ण प्रमाणपत्र रद्द,  धाँधली भएको ठहर

जनकपुरधाम। नेपाली कांग्रेसको चल्दै गरेको १४ औं महाधिवेशनको तयारीअन्तर्गत महोत्तरीको क्षेत्र नं ३ मा भएको क्षेत्रीय अधिवेशन रद्द भएको छ।

धाँधली भएको तथा निर्वाचन अधिकृतलाई नै अपहरण शैलीमा लगिएको भन्दै एकतर्फी रूपमा निर्णय गर्दै वितरण गरिएको सम्पूर्ण प्रमाणपत्र नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समतिले रद्द गरेको हो।

आइतबार अपराह्न केन्द्रीय निर्वाचन समितिले पत्र जारी गर्दै क्षेत्र नं ३ को क्षेत्रिय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिका साथै महासमिति सदस्यको निर्वाचन भएको नदेखिएकाले सो क्षेत्रको क्षेत्रीय कार्यसमिति,महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्ने र उक्त पदहरूका अवैधानिक रूपमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्र रद्द गरिएको उल्लेख छ।

गत १५ मंसीरमा क्षेत्रीय अधिवेशन उदघाटन भएको र ततपश्चात बन्दसत्र शुरु गरी सहमति प्रयास गर्न खोज्दा होहल्ला भई बन्दसत्र स्थगित भएको थियो। त्यसको दुई दिनपछि १७ गते साँझ जनकपुर उपमहानगरपालिका-८ स्थित आफ्नो घरमा बसिरहेको अवस्थामा केही अपरिचित व्यक्तिहरूले अपहरणका साथै आफूसँग भएको निर्वाचनको प्रमाणपत्रलगायत कागजात सबै लगेको भनी मतदान अधिकृत धीरेन्द्र मण्डलले जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका थिए।

उक्त निवेदनकै आधारमा जिल्ला निर्वाचन अधिकृत इन्द्र बहादुर अधिकारीबाट केन्द्रीय निर्वाचन समितिमा प्रतिवेदन पेश भएपछि केन्द्रीय निर्वाचन समितिले बैठक राखेर रद्द गर्ने निर्णय गरेको हो।

क्षेत्रीय अधिवेशनमा क्षेत्र नं ३ का प्रभावशाली नेता रामचन्द्र तिवारी पक्षले धाँधली र होहल्ला गरेपछि अर्को पक्षले अधिवेशन बहिष्कार गर्दै बाहिरिएको थियो। नेता तिवारीले नियम कानून उल्लंघन गर्दै मतदान अधिकृत नै अपहरण शैलीमा उठाएपछि केन्द्रले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved