‘आजबाट हामी कसैका मान्छे हौइनौं, राप्रपाका हौं’

'हामीभन्दा बढी मानिस हिन्दूराष्ट्र चाहियो भनेर सडकमा छन्, समेट्न सकेनौं'

नेपालभ्युज

‘आजबाट हामी कसैका मान्छे हौइनौं, राप्रपाका हौं’
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि राजेन्द्र लिङ्देनले अनेक आशंकाबाट नयाँ नेतृत्व लिन सफल भएको र अब सबैलाई नेतृत्व गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन्।

राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएपछि कार्यकर्ता तथा भीडलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई मात्र नभई सबैलाई जित्नैपर्ने दबाब पनि आएको बताए।

उनले भने, “हिजो हामीमा जुन प्रकारको प्रतिद्वन्द्वीता थियो हामी फेरि विभाजनतर्फ जाने हो कि भन्ने आशंका थियो। यो आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो भयो। आजबाट हामी कोही कुनै पक्षका छैनौं।”

यो नेतृत्व परिवर्तनका आयाम र उपलब्धि भएका उनले बताए। “हाम्रा कार्यकर्ताका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको आजबाट हामी राप्रपाको मान्छे भएर जानेछौं। आजबाट कुनै गुट छैन। सबै राप्रपाका मान्छे छन्।”

राप्रपाको स्थापित नेतृत्वसँग प्रतिस्पर्धासँग गरेर नेतृत्व परिवर्तन चानचुने नभएको भन्दै उनले २०४६ सालपछि असफल पुस्तालाई पुस्तान्तरण नगरी राजनीति विकास र सुधार नहुने दाबी गरे। एमाले, कांग्रेस र माओवादीले पुस्तान्तरणका कुरा गरे पनि नेतृत्वमा ठाउँ नदिएको पनि उनको आरोप थियो। तर आफूहरूले त्यो देखाएको उनले बताए। भने, “हामीले परिणाममा देखाउनुपर्छ। कुराले हैन। परिणामले देखाउने जिम्मेवारी आयो।”

राप्रपा इतिहासकै कठिन र कमजोर अवस्थामा रहेको भन्दै अब पार्टीलाई उठाएर लैजाने बताए। भने, “पार्टीलाई जुरुक्कै उठाएर अग्रणी बनाउनुछ। हामीभन्दा बढी मानिस हिन्दुराष्ट्र चाहियो भनेर सडकमा छन्, हामीले पूरा गर्न समेट्न सकेनौं।”

देशमै गरिखाने वातावरण निर्माण हुनुपर्ने र पूर्ण समानुपातिक संसद अनि संवैधानिक अंगमा योग्यतामा नियुक्त हुनुपर्ने जस्ता विषयलाई राप्रपाले अब जोड्ने उनले बताए।

भने, “परम्परागत ढर्राबाट नयाँ चरणमा प्रवेश गरेका छौं। माओवादीले भत्कायो तर नयाँ बनाउन सकेन। हाम्रा पुराना राम्रा रीतिरिवाज परम्परालाई संरक्षण गर्दै नयाँतर्फ जान चाहन्छौं। हाम्रो नीति यही हो। पार्टीभित्र पनि यही कुरा गर्न चाहन्छौं।”

निवर्तमान अध्यक्ष कमल थापाप्रति लक्षित गर्दै लिङ्देनले पुराना नेतृत्वको अभिभावकत्वबाट साथै लिएर जान चाहने बताए। भने, “सबैलाई विश्वास दिलाउन चाहन्छौं। जुन विश्वासले यो जिम्मेवारी दिएका छन् त्यसलाई कुठराघात गर्न दिने छैनौं। थुक्क यो राजेन्द्र पनि उस्तै रहेछ भन्ने मौका दिन चाहन्न।”

साथै उनले अन्त्यमा आफूलाई फूलमालाजस्ता केही कुराले स्वागत नगर्न पनि अनुरोध गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved