कांग्रेस प्रदेश अधिवेशन – कतै मतदान जारी, कतै मतगणना शूरु

आ–आफ्नो प्रभाव रहेका क्षेत्रमा जित सुनिश्चित हुने गरी केन्द्रमा प्रभावशाली मानिएका नेताहरूको उम्मेदवारी दर्ता भएपछि समूहगत शक्ति संघर्ष पेचिलो छ।

नेपालभ्युज

कांग्रेस प्रदेश अधिवेशन – कतै मतदान जारी, कतै मतगणना शूरु

काठमाडौं। नेपाली कांग्रेसकोे १४औँ महाधिवेशन अन्तरगर्त प्रदेश अधिवेशन जारी छ। आ–आफ्नो प्रभाव रहेका क्षेत्रमा जित सुनिश्चित हुने गरी केन्द्रमा प्रभावशाली मानिएका नेताहरूको उम्मेदवारी दर्ता भएपछि समूहगत शक्ति संघर्ष पेचिलो छ।

जसकारण शनिबारको निर्वाचनको नतिजा विशेष चासोको विषय बनेको छ।

बिहीबारदेखि शूरु प्रदेश अधिवेशनमा आफ्नो पक्षमा परिणाम ल्याउने गरी समूहगत समीकरण देखिएका छ। प्रदेश अधिवेशन अन्तरगर्त कतिपय प्रदेशमा मतदान जारी छ। कतिपय प्रदेशमा मतगणना जारी छ। भने कतिपय प्रदेशमा मतगणनाको तयारी छ।

बागमतीमा मतदान जारी

हेटौँडामा जारी कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान प्रक्रिया ८ घण्टा ढिला गरी शुरु भएको छ। बिहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया साँझ ५ बजेदेखि मात्र शुरु भएको हो।

उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाइ भएकाले मतदान प्रक्रियामा ढिलाइ भएको निर्वाचन समितिले जानकारी दिएको छ। हिजो मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकाले पनि मतदान शुरु हुन अबेर भएको हो ।

आफ्नो नाम छुटेपछि उम्मेदवारहरूले निर्वाचन समितिमाथि प्रश्न उठाएका थिए ।

बागमतीमा सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ।

गण्डकीमा मतगणना शूरु हुँदै

गण्डकी प्रदेश अधिवेशनमा १ हजार १ सय ४६ मत खसेको छ। निर्वाचन समितिका अनुसार १ हजार १ सय ६५ मतदातामध्ये १ हजार १ सय ४६ जनाले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका हुन्।

गण्डकी प्रदेश कार्यसमितिको नेतृत्वका लागि संस्थापन र संस्थापन इतर समूहबिच प्यानलगत प्रतिस्पर्धा भएको छ। सभापति शेरबहादुर देउवा निकट समूहबाट अर्जुन जोशी सभापतिको उम्मेदवार रहेका छन्।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहबाट शुक्रराज शर्मा सभापतिको प्रत्याशी रहेका छन्। मतगणना केही बेरपछि शुरु हुनेछ । मतगणना पोखरास्थित उद्योग वाणिज्य संघको हलमा हुनेछ।

सुदूरपश्चिममा मतदान पनि गणना शूरू

कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा भएको मतदानमा कुल एक हजार २७ मत मध्ये एक हजार तीन मत खसेको छ। त्यहाँ मतगणनाको तयारी छ ।

गणना राती १० बजेदेखि शुरु भएकाे छ। नेतृत्वका लागि भने संस्थापन र इतर पक्षले छुट्टाछुट्टै प्यानल खडा गरेर चुनावी मैदानमा थिए। सुदूरपश्चिममा ८ पदाधिकारीका लागि १९ जनाको उम्मेदवारी परेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा प्रदेश सभापतिमा केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई अघि सारेको छ । त्यस्तै संस्थापन इतर समूहले नारायण मिश्रलाई अगाडि सारेको छ ।

 प्रदेश १ मा मतगणना भोलि मात्रै

प्रदेश १ प्रथम अधिवेशनको मतदान सकिएको छ। प्रदेश निर्वाचन समितिका अनुसार दिउँसो २ बजेबाट शूरु भएको मतदान कार्य साँझ करिब ७ बजे सकिएको जनाएको छ।

यसक्रममा कुल १ हजार ८ सय ४ मतदातामध्ये १ हजार ७ सय ५२ मत खसेको समितिका अधिकृत भरत थापाले जानकारी दिए। मतदान सकिएपछि सबै मतपेटिका विराटनगरस्थित पार्टी कार्यालयमा लगिने थापाले जानकारी दिए। समितिका अनुसार मतगणना भने आइतबार बिहान ८ बजे पार्टी कार्यालयमा हुनेछ।

प्रदेश सभापतिका लागि डा शेखर कोइराला पक्षबाट मोरङका गुरुराज घिमिरे र कृष्णप्रसाद सिटौलापक्षबाट उद्धव थापा प्रतिस्पर्धामा छन्।

कांग्रेसको प्रदेश तहको निर्वाचनमा संस्थापनबाहेक समूह एक ढिक्का भएको छ । शेरबहादुर देउवा (संस्थापन) र कृष्णप्रसाद सिटौला समूहबिच समीकरण बनेको छ।

प्रदेश तहको निर्वाचनले एक सातापछि हुने महाधिवेशनको समीकरणमा समेत प्रभाव गर्ने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved