फ्रेन्चाइज लिग खेल्ने पहिलो महिला खेलाडी बन्दै सीता

सन् २००७ मा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक अन्तराष्ट्रिय म्याच खेलेको थियो। त्यो समयदेखि नै हालसम्म राष्ट्रिय क्रिकेट टिममा रहेकी सीता एक मात्रै खेलाडी हुन्।

नेपाल भ्यूज

फ्रेन्चाइज लिग खेल्ने पहिलो महिला खेलाडी बन्दै सीता

काठमाडौं। नेपाली महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगर विदेशी फ्रेन्चाइज टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन्। यो सँगै नेपालको इतिहासमै उनी फ्रेन्चाइज लिग खेल्ने पहिलो महिला खेलाडी बन्नेछिन्।

नेपालकी स्टार अलराउण्डर सीताले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल लिग खेल्न लागेकी हुन्। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त यो टी-ट्वान्टी प्रतियोगिता सन् २०२२ को १ मे देखि १५ तारिखसम्म हुँदैछ।

क्विन्स इभेन्ट म्यानेजमेन्टले सीतालाई यो प्रतियोगिताका लागि सहयोग गरेको हो। सीता पहिलोपटक विदेशी क्लबाट व्यवसायिक क्रिकेट प्रतियोगिता खेल्न लागेकी हुन्।

उनी भन्छिन्,“म क्रिकेट खेल्न थालेको १४ वर्ष भयो। यस अवधिमा पहिलोपटक विदेशी क्लब प्रतियोगिता खेल्न जान पाउँदा खुशी लागेको छ। यसले भविष्यमा अन्य महिला खेलाडीलाई पनि व्यवसायिक खेल खेल्न जान सजिलो हुनेछ।”

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सीतालाई बधाई दिए। सीतासँगै  ईन्दू बर्मा र सबनम राईले पनि यो लिग खेल्ने तयारी गरेकोमा सीता मात्रै छनोट भएकी हुन्।

सीताले प्रतियोगिताका लागि आयोजकसँग सम्झौता गरिसकेकी छन्। ६ टिमबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा उनी कुन टिमबाट खेल्ने भन्ने चाहिँ टुंगो लागेको छैन।

प्रतियोगितामा भारत र पाकिस्तान जस्ता पावरहाउस राष्ट्रका स्टार खेलाडी पनि समेत सहभागिता हुँदैछन्।

सन् २००७ मा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक अन्तराष्ट्रिय म्याच खेलेको थियो। त्यो समयदेखि नै हालसम्म राष्ट्रिय क्रिकेट टिममा रहेकी सीता एक मात्रै खेलाडी हुन्।

उनलाई नेपालको महिला क्रिकेट टिमको सर्वाधिक सफल खेलाडी मानिन्छ। गत हप्ता यूएईमा भएको आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

उनी नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्। उनले नेपालको लागि खेलेका २१ अन्तर्राष्ट्रिय टी-ट्वान्टी म्याचमा २१ विकेट लिएकी छिन् भने चार सय ३९ रन जोडेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved