कैट्रिना-विक्कीको बिहेमा पाहुनालाई शर्त नै शर्त

नेपालभ्युज

कैट्रिना-विक्कीको बिहेमा पाहुनालाई शर्त नै शर्त

एजेन्सी। कैट्रिना र विक्कीले आफ्नो विवाहमा सीमित पाहुनालाई निम्तो गरेका छन्। ७ डिसेम्बरमा उनीहरू वैवाहिक जीवनमा बाँधिन लागेकोमा विवाहको ठेक्का पाएको व्यवस्थापन कम्पनीले पाहुनाका लागि शर्त नै शर्तसहितको निर्देशिका बनाएको छ। ती शर्त पालना नगर्ने पाहुनाले बिहेमा प्रवेश पाउने छैनन्।

व्यवस्थापक कम्पनीले मुख्यगरी पाहुनाका लागि ४ शर्त बनाएको छ। रिपोर्टका अनुसार विक्की र कट्रिना कैफको विवाहको कार्यक्रम ७ देखि ९ डिसेम्बरसम्म सवाई माधोपुर (राजस्थान) मा आयोजना हुँदैछ। यसका लागि जयपुरमा पनि धेरैजसो क्याबहरू बुक गरिएको छ। विक्की–क्याट्रिनाले विवाह गर्ने किल्लाको नाम सिक्स सेन्स फोर्ट राखिएको छ। यो ऐतिहासिक किल्ला ७ सय वर्ष पुरानो हो भने यहाँ एक रात बस्नका लागि प्रतिव्यक्ति ९० हजार भारु तिर्नुपर्ने बताइएको छ।

बिहेमा पत्रकारहरूलाई निषेध गरिएको र आमन्त्रण गरिएका पाहुनालाई समेत फोटो तथा भिडियो क्लिप खिच्न मनाही गरिएको जनाइएको छ। बिहेको सबै तयारी पूरा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यी हुन् बिहेमा डाकिएका पाहुनाका लागि बनाइएका शर्त:

कारमा विशेष स्टिकर अनिवार्य

कारमा बिहेमा आउने पाहुनाका लागि व्यवस्थापन कम्पनीले विशेष स्टिकर लगाउनुपर्ने नियम बनाएको छ। स्टिकर लगाएपछि मात्रै विवाहस्थलमा प्रवेश गर्न पाइनेछ। विवाहअघि सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइनेछ। यसका लागि राजस्थान प्रशासन पनि जुटेको छ। यस्तो अवस्थामा विशेष स्टिकर हुने सवारी साधनले मात्रै प्रवेश पाउनेछन्।

कोरोना रिपोर्ट अनिवार्य

बिहेमा आउने हरेक बारातीले कोरोनाको आरटी–पीसीआर रिपोर्ट साथमा राख्नुपर्नेछ। विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिन थालेपछि यस्तो सावधानी अपनाइएको हो। कोरोनाको रिपोर्ट नहुने पाहुना गेटबाटै फर्किनुपर्नेछ।

कोरोना खोप अनिवार्य

आरटी-पीसीआरको रिपोर्टका साथै पाहुनाले अनिवार्य रूपमा कोरोनाको दुवै डोज लगाएको हुनुपर्छ। पूर्ण खोप लगाएको कार्ड भएकालाई मात्र प्रवेश गर्न दिइने जनाइएको छ। प्रवेशका लागि व्यवस्थापन कम्पनीलाई बिहेअघि नै पाहुनाले खोप प्रमाणपत्र मेल गर्नुपर्नेछ। मेल गर्न बाँकी पाहुनाले खोप प्रमाणको हार्ड प्रतिलिपि आफूसँगै राख्नुपर्नेछ।

सार्वजनिक नगर्ने सम्झौतामा हस्ताक्षर

रिपोर्टका अनुसार विवाहमा सहभागी हुने पाहुनाका लागि केही नियम बनाइएको छ। जसअनुसार पाहुनाले ननडिस्कोलजर सम्झौता (सार्वजनिक नगर्ने सम्झौता)पत्रमा हस्ताक्षर गर्नुपर्नेछ। उक्त सम्झौता पत्रमा बिहेको कुनै पनि फोटो र भिडियो खिच्न तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्न मनाही गरिएको छ भने बिहेको समारोहमा फोन प्रयोग गर्न पनि मनाही गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved