राप्रपा महाधिवेशन

कमल थापा र राजेन्द्र लिङदेनले गराए उम्मेदवारी दर्ता

नेपालभ्युज

कमल थापा र राजेन्द्र लिङदेनले गराए उम्मेदवारी दर्ता

काठमाडौै‌ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन्। शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङदेनले आ–आफ्नो प्यानलसहित राष्ट्रियसभामा पुगेर मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्याधिक बहुमतबाट विजय हासिल गर्ने बताए। उनले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने बताए।

अध्यक्ष थापाले शीर्ष नेताहरु सबैको सद्भाव र स्नेह आफूलाई रहेको भन्दै आफूले निर्वाचन जित्ने दाबी गरे। अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकासेर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्न उम्मेदवारी दर्ता गराएको बताए।

कसले के भने ?

थापाले भने :  युवा नेतृत्व आउनुलाई मैले अत्यन्तै सकारात्मक शुभ संकेतको रुपमा लिएको छु । हाम्रो पार्टीमा नयाँ र युवा पुस्तार तयार हुँदैछ भन्ने यो संकेत हो । हामीले दिएको उम्मेदवारीको तीन वटा उद्देश्य छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई कायम राख्ने, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने, आगामी निर्वाचनमा राप्रपालाई सम्मानजनक सफलता हासिल गराउने, नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधानको निमित्त सशक्त र प्रभावकारी भूमिका खेल्न सक्ने शक्ति निर्माण गर्ने । आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी कहिल्यै फुट्ने छैन । अब राप्रपाको एकता महाधिवेशन फेरि गरिराख्नु पर्ने आवश्यक्ता पर्दैन । हामीले यो निर्वाचनमा अत्याधिक बहुमतबाट विजय हासिल गर्छौं, त्यसपछि राजेन्द्र लिङदेन लगायत सबैलाई समेटेर हामी अगाडि बढ्छौँ । शीर्ष नेताहरुको विश्वास लिन सके÷नसकेको भन्ने विषयमा म टिप्पणी गर्न चाहन्न, सबैको सद्भाव, स्नेह हामीलाई प्राप्त छ ।

लिङदेनले भने : हामीले जुन उम्मेदवारी दिएका छौँ, यो मेरो कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकंक्षाले उत्प्रेरित गरेर दिइएको उम्मेदवारी होइन, राष्ट्रिय प्रजातन्त्र पार्टी यो ३१ वर्षको इतिहासमा आज जुन अवस्थामा आइपुगेको छ, त्यसबाट पार्टीलाई अझै तल झर्न नदिनको लागि र पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्नको लागि हामीले एउटा अनिवार्य र बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तनलाई लिएका छौँ । यो नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरुको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दुको रुपमा लिएका छौँ । आगामि दिनमा नयाँ नेतृत्व स्थापित भइसकेपछि अग्रजहरुको सम्मान गर्दै उहाँहरुको भुमिकालाई जीवित राख्दै राप्रपा बाहिर रहेका राजतन्त्र चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ भन्ने व्यक्ति, समूह, संघसंस्था, संगठन, पार्टीहरुलाई सबैलाई ६ महिनाभित्रमा एकीकृत गरेर राष्ट्रिय शक्तिको निर्माण गर्ने, त्योबाट सडक संघर्ष, आगामी निर्वाचनको तयारी गर्ने र राजसंस्था, हिन्दुराष्ट्र पुनः स्थापना सँगै देशभित्रै लाखौँ युवाहरुले गरिखाने वातावरणको निर्माण गर्ने भ्रष्टाचार मुक्त समाजको निर्माण गर्ने, राज्यले दिने सेवासुविधा जातलाई होइन, गरिबलाई दिने व्यवस्थाहरुको निर्माण गर्नेमा लाग्नेछौँ ।

अन्य पदमा यी नेताको उम्मेदवारी

पार्टीको उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लिलादेवी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी महामन्त्रीमा जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved