सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा फेरि झडप

मतदान अधिकृत र ३ प्रहरीसहित ५ घाइते

शूरुदेखि नै सर्लाहीमा काँग्रेसको अधिवेशनमा विवाद हुँदै आएकोमा सोमबार पुनः झडप भएको छ।

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा फेरि झडप

जनकपुरधाम। शूरुदेखि नै सर्लाहीमा काँग्रेसको अधिवेशनमा विवाद हुँदै आएकोमा सोमबार पुनः झडप भएको छ। बलरा नगरपालिका ८ गडहिया डुमरियामा कांग्रेसको वडा अधिवेशनको क्रममा झडप भएको हो।

झडपमा परि अधिवेशन गराउन गएका मतदान अधिकृत सहित ५ जना घाइते भएका छन्। कांग्रेसकै एक समूहले आफूहरूसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको बताइएको छ।

मतदान अधिकृत झालाई नियन्त्रणमा लिएर एकलौटी ढङ्गले अधिवेशन गराउन लागिएको थियो। तर, प्रहरीले उद्धार गरेर प्रहरी कार्यालयमा लान खोज्दा कांग्रेस कार्यकर्ताहरूसँग झडप भएको प्रहरीको भनाई छ। झडपलाई नियन्त्रणमा लिनका प्रहरीले केही थान अश्रुग्याँस समेत प्रहार गरेको र उता समेत ढुङ्गा मुढा प्रहार भएको स्थानीयले बताए।

झडपको क्रममा ढुङ्गा मुढा हुँदा मतदान अधिकृत झासहित प्रहरी निरीक्षक सुरेश ठाकुर, एक प्रहरी हवल्दार, अर्का एक प्रहरी र एक जना नागरिक घाइते भएका छन्। अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै नाम खुल्न बाँकी रहेका हवल्दारको कन्चटमा चोट लागेको छ। अन्यलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

घाइते सबै जनाको सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ। स्थिति अहिले सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। आइतबार साँझ पनि सोही नगरपालिकाको वडा  ९ मा कांग्रेस कै दुई पक्षबीच झडप हुँदा गोली चलेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved