राहदानी बनाउन रातभरि लाइनमा : टोकन लिनै १७ घण्टा (भिडिओसहित)

रातभरि लाइन लागेर पनि टोकन नपाएका उनीहरू घर फर्किए। अब फेरि टोकनका लागि उनीहरू अर्को आइतबार बिहान विभाग धाउनुपर्नेछ।

नेपालभ्युज

राहदानी बनाउन रातभरि लाइनमा : टोकन लिनै १७ घण्टा (भिडिओसहित)

काठमाडौं। ”पासपोर्ट बनाउन काठमाडौं आएको १० दिन भयो। अस्ति दिनभरि लाइनमा बसेँ, तर पालै आएन। त्यसैले यो पटक चाँडै आएको हुँ।”

शनिबार राति १२ बजे राहदानी विभागको पर्खालबाहिर लाइनमा भेटिए गुल्मीका सञ्जय धामी। मध्य मंसीरको जाडोमा बोल्दा थर्थर काँपिरहेका थिए उनका ओठ, मुखबाट तुवाँलो निस्किरहेको थियो। यसपालि पासपोर्ट बनाएरै फर्किने आशा उनको छ।

चिसोमा भुइँमै आइतबारको कुरिबसेका बसेका अर्घाखाँचीमा पवन फुयाँल, झापाकी प्रतिभा पोखरेलदेखि सबै युवाहरूको बाध्यता उही छ।

पोखरेल भन्छिन्, ‘‘जिल्ला प्रशासन कार्यालयको सिफारिसदेखि काठमाडौंको राहदानी विभागसम्म हामी नागरिकलाई झन्झटै झन्झट छ। सरकार हामी सामान्य मान्छेको नहुँदो रहेछ।” चुस्त व्यवस्थापन भए छिटोछरितो पासपोर्ट पाइनेमा उनी ढुक्क छिन्। तर सरकारी काम कहिले जाला घाम जस्तै भएको गुनाशो उनको छ।

रामेछापबाट १ मंसीरमा काठमाडौं आएका एक युवक निराशा यसरी पोख्छन्, ”के भनौँ अब.. होस्.. बसिरहेका छौँ, वेट गरिरहेका छौँ। अब अरु के गर्न सक्छौँ ? आठ दिन भयो। पुलिस प्रशासन भन्छ १२ गते आऊ यहाँ आउँदा टोकन बाँडिसकेको हुन्छ।” धेरै टाढा टाढाबाट थुप्रै युवा आएको बताउँदै उनले सबैको पीडा उस्तै भएको बताए।

राहदानी बनाउने मात्रै होइन नवीकरण गर्नेहरुको घुइँचो पनि उस्तै छ । देशभरबाट आएका युवाहरू चिसो मौसममा मध्यरातमा भूइँमै लाइनमा थिए। विभगको गेट भित्र भने महिलाहरु थिए । बच्चा काखमा बोकेकाहरू समेत थिए ।

यसअघि विभागमा आएर दिनभरी लाइन लागेर टोकनै नपाइ फर्किएका कैयौँ युवाहरू यसपालि अघिल्लै दिन विभागबाहिर पुगे। मध्यरातिसम्म लाइन बढ्दै गएर उत्तर ढोकासम्म पुगिसकेको थियो।

विभागले आइतबार बिहान ६ बजे टोकन बाँडेको छ। विभागका निर्देशक शरदराज अरनले दैनिक ६ सयसम्मका दरले यो साताका लागि टोकन बाँडिएको जानकारी दिए। शनिबार रातिदेखि नै करीब ५ हजार जना लाइनमा बसेकोमा आइतबार बिहानै ४ हजार ५ सयले टोकन पाए। रातभरि लाइन लागेर पनि टोकन नपाएका उनीहरू घर फर्किए। अब फेरि टोकनका लागि उनीहरू अर्को आइतबार बिहान विभाग धाउनुपर्नेछ।

विभागमा राहदानी बनाउनका लागि दैनिक तीन हजारदेखि पाँच हजारसम्म सेवाग्राही आउने गरेको विभागका निर्देशक अरन बताउँछन्। विभागले दैनिक १५ सयको मात्रै आवेदन लिन सक्ने बताउँदै उनले सबैको आवेदन लिन नसकिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved