कांग्रेसलाई बहुमत र प्रदेश अधिकार स्थापित गर्न मेरो उम्मेदवारी – निधि

मनोमानी गरेको निधिमाथि आरोप

कांग्रेसलाई बहुमत र प्रदेश अधिकार स्थापित गर्न मेरो उम्मेदवारी – निधि

जनकपुरधाम। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमतको एकल सरकार बनाउन सभापति बन्न चाहेको बताएका छन्।

धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको आइतबार नगराईनमा उद्घाटन गर्दै निधिले आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउने पनि दाबी गरे। भने, “अघिल्लो निर्वाचनमा कांग्रेसले बहुमत नपाउँदा कम्युनिस्टको सरकार बन्यो, तीन वर्षभित्रै कम्युनिस्ट सरकारले मुलुकलाई सधैं अस्थिर बनाउँदै तहसनहस पारेको अवस्था छ, त्यसैले कांग्रेसको एकल सरकार बनाउन म सभापति बन्न चाहेका हुँ।”

निधिले आफूले नेतृत्व पाए आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने पनि दाबी गरे।

संविधानले अधिकार सुनिश्चित गरे पनि प्रदेशले अधिकार पाउन नसकेको भन्दै प्रदेशको अधिकार सुनिश्चित गराउन पनि आफूले सभापतिमा उम्मेदवारी दिएको उनको भनाइ थियो। भने, “संविधानले प्रदेश प्रहरीको व्यवस्था गरेको छ, निजामती सेवाको अधिकार दिएको छ। तर यी सबै अधिकार प्रदेशले प्रयोग गर्न पाइरहेका छैनन्, प्रदेशको अधिकार सुनिश्चित गर्नतर्फ अहिलेसम्म कसैले ध्यान दिनसकेको छैन। त्यसका लागि पनि म सभापति बन्न चाहेको छु।”

मधेशी, दलित, जनजाति, मुस्लिमलगायत उत्पीडित वर्गको अधिकार सुरक्षित गर्न संविधान संशोधन हुनुपर्नेमा पनि उपसभापति निधिले जोड दिए।

निधि धनुषा ३ बाट महाधिवेशन प्रतिनिधि चयन

नेपाली कांग्रेसको धनुषा निर्वाचन क्षेत्र नंं ३ को आज सम्पन्न क्षेत्रीय अधिवेशनबाट निधि सर्वसम्मतिले महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

क्षेत्रीय अधिवेशनबाट क्षेत्र नंं ३ का क्षेत्रीय सभापतिमा धीरेन्द्र निधि सर्वसम्मतिले चयन भए। यसैगरी निधिपत्नी अनामिका पनि महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन्।

त्यसैगरी प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवं संसदीय दलका नेता राम सरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश २ का प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र प्रमिला दास पनि सर्वसम्मतिले चयन भए।

मनोमानी गरेको निधिमाथि आरोप

आफ्नै भाइलाई पार्टीको क्षेत्रीय सभापति बनाएको भन्दै कांग्रेसका केही कार्यकर्ता भने निधिसँग असन्तुष्ट बनेका छन्।

कांग्रेसको जारी १४औं महाधिवेशनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनबाट उपसभापति निधिले आइतबार आफ्ना भाइ धीरेन्द्रलाई क्षेत्र नं. ३ को सभापति बनाएका हुन्। यसप्रति कार्यकर्ताहरूले विरोध जनाएका छन्।

क्षेत्र नम्बर ३ धनुषाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रवेश चौधरीले भने, “निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफूअनुकूल व्यक्तिको नाम घोषणा गरे। उनले अलोकतान्त्रिक विधिबाट प्रक्रियालाई मिचे।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved