धनुषाका चार ओटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै

नेपालभ्युज

धनुषाका चार ओटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै

जनकपुरधाम। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि धनुषाका ४ वटै निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन हुँदैछ। यसअघि प्रदेश सभाको आठमध्ये सात निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सहमतिमा नै सम्पन्न भएको थियो।

प्रतिनिधि सभाको निर्वाचन क्षेत्रका लागि हुन लागेको क्षेत्रीय अधिवेशन पनि सर्वसम्मतिबाट चयनका लागि सबै निर्वाचन क्षेत्रहरूमा नेताहरू परिचालन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरीले बताए।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि प्रतिनिधित्व गर्ने जनकपुरधाम उपमहानगरपालिका सहितका क्षेत्र भएको निर्वाचन क्षेत्र नंं ३ बढी चर्चामा छ। निधिले केन्द्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकाले निर्वाचन क्षेत्र नंं ३ अझ बढी चर्चामा छ।

धनुषाको नगराइन नगरपालिकाको नगराइनस्थित विद्यालयमा हुन लागेको क्षेत्रीय अधिवेशनको उद्घाटन कांग्रेस उपसभापति विमलेन्द्र निधिले गरेका छन्। क्षेत्रीय अधिवेशनबाट नै महाधिवेशन प्रतिनिधि छनोट हुने भएकाले यसको विशेष महत्व छ। यस ठाउँबाट निधि आफैं केन्द्रीय प्रतिधिमा छनोट हुनेछन्।

जिल्लाका चार ओटै निर्वाचन क्षेत्रबाट २५ जनाको दरले १ सय जना महाधिवेशन प्रतिनिधि धनुषाबाट आज चयन हुन लागेको हो। महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय निर्वाचनमा मतदान गर्ने भएकाले यसको विशेष महत्व छ।

त्यसैगरी धनुषाको निर्वाचन क्षेत्र नंं ४ पनि चर्चामा छ। क्षेत्र नंं ४ को निर्वाचन जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा हुँदैछ। यस ठाउँमा कांग्रेसका नेता एवं नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादव महाधिवेशन प्रतिनिधिमा चुनाव लड्न थालेका छन्।

यसैगरी निर्वाचन क्षेत्र नंं २ को शहीदनगर नगरपालिकाको तिनकौरीमा क्षेत्रीय अधिवेशन हुँदैछ।

त्यस्तै धनुषा निर्वाचन क्षेत्र नंं १ को धनुषाधाममा क्षेत्रीय अधिवेशन हुँदैछ। धनुषाधाममा कांग्रेसका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगाना महाधिवेशन प्रतिनिधि दौडमा छन्। त्यहाँ पनि सर्वसम्मतिले केन्द्रीय प्रतिनिधि छनोटको प्रयास भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved